|

काठमाडौं : राजनीति गर्नेहरु स्वार्थ बमोजिम जुन दलमा पनि जान सक्छन् भन्ने आम नेपालीको टिप्पणीलाई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मुखमा हुने दल बदलको घटनाले सार्थक तुल्याएको छ।

आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा कतिपय दलको  केन्द्रीय तहमा रहेका नेताले समेत उम्मेदवार बन्न दल परिवर्तन गर्ने गरेको पाइएको छ। यस्ता २० भन्दा धेरैनेताले दल बदलेर टिकट फुत्काउन सफल भएका छन्।

यसरी दल बदल वा दलको एकतापछि नै प्रतिनिधिसभा र प्रदेश सभामा टिकट पाउनेहरु विलक्षण प्रतिभा वा लोकप्रिय भएकै आधारमा टिकट पाएका भने होइनन्। आफू रहेको दलबाट टिकट नपाउने स्थिति र टिकट पाए पनि निर्वाचन जित्न नसक्ने आंकलन गरेपछि निर्वाचनको मुखमा दल परिवर्तन गरेका हुन्। 

यी हुन् दल परिवर्तन गरेर प्रतिनिधिसभामा प्रत्यक्षतर्फ टिकट पाउनेहरु :

शम्भुलाल श्रेष्ठ – नेपाली कांग्रेसले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार भएका श्रेष्ठ माओवादी केन्द्रको तर्फबाट शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री छन्।

माओवादी केन्द्रबाट टिकट पाउने संकेत नदेखेपछि दुई दिनअघि प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित कार्यक्रममा कांग्रेस प्रवेश गरेका श्रेष्ठ २०७० सालमा कांग्रेसले टिकट नदिएपछि माओवादीबाट उम्मेदवारको टिकट पाउने शर्तमा कांग्रेस छोडेका थिए।

मोहनसिंह राठौर   नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर २ मा उम्मेदवार भएका राठौर नेकपा एमालेबाट कांग्रेस प्रवेश गरेको दुई दिनपछि नै उम्मेदवार चयन भए।  उनी संसदको सुशासन  तथा अनुगमन समितिका सभापाति समेत थिए। संविधानसभा निर्वाचनमा उनले सोही क्षेत्रबाट एमालेको उम्मेदवार भई निर्वाचन जितेका थिए।

हृदयेस त्रिपाठी – ६ महिनाअघि गठन भएको राष्ट्रिय जनता पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठीले असोज २ गते भएको स्थानीय तहको निर्वाचनलगत्तै राजपा परित्याग गरेका हुन्। साविकको नवलपरासी क्षेत्र नम्बर ६ बाट २०७० सालको निर्वाचनमा पराजय बेहोरेका त्रिपाठीले औपचारिक रुपमा एमालेमा प्रवेश नगरे पनि एमालेको चुनाव चिन्ह सूर्य लिएर निर्वाचनमा भाग लिएका छन्। उनी राजपा गठन हुनुअघि तराई मधेस लोकतान्त्रिक पार्टीमा थिए। तमलोपा गठन गर्दा त्रिपाठीले नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) परित्याग गरेका थिए।

राजपाका वरिष्ठ उपाध्यक्ष त्रिपाठीले पार्टी परित्याग गरी स्वतन्त्र बसेको घोषणा गरे पनि वाम गठबन्धनको समर्थनमा एमालेको चुनाव चिन्ह लिएर आगामी निर्वाचनमा नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन्।

२०४८, २०५१ र २०५६ को आमनिर्वाचन र २०६४ को संविधानसभा निर्वाचनमा विजयी भएका त्रिपाठी नेपाल सद्भावना पार्टी परित्याग गरी २०६४ मा तमलोपा प्रवेश गरेका थिए। तमलोपासहित ६ दल मिलेर बनेको राजपा गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका त्रिपाठी एमालेमा प्रवेश गर्ने आंकलन गरिएको छ।

जंगीलाल राय – नेपाली कांग्रेसबाट सर्लाही २ नम्बर क्षेत्रमा उम्मेदवारी दिएका रायले राजपा परित्याग गरेका हुन्। स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट गर्दा आफ्नो सुझावलाई इन्कार गरेको भन्दै राजपा महामन्त्री राय दुई साताअघि मात्र कांग्रेस प्रवेश गरेका हुन्।

१० बर्षअघि गठित तमलोपामा कांग्रेसबाट प्रवेश गरेका राय २०७० सालको संविधानसभा निर्वाचनमा तमलोपाबाट सर्लाही ५ मा निर्वाचित भएका थिए। ६ मधेस केन्द्रीत दल एकीकरणपछि गठित राजपामा राय केही समय बसेका थिए।

शिवपूजन राय – सर्लाही क्षेत्र नं ४ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार भएका राय एक महिनाअघि माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। ११ बर्षअघि गठित मधेसी जनअधिकार फोरममा संगठित भएका रायले २०६४ सालमा तमलोपा नेता महन्थ ठाकुर र कांग्रेस नेता अमरेशकुमार सिंहलाई पराजित गरेका थिए।

२०७० सालमा संविधानसभा निर्वाचनमा तमलोपा प्रवेश गरेका राय २०७४ सालको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनको मुखमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।

विमल श्रीवास्तव – संघीय समाजवादी फोरमको नेताको हैसियतले फोरम– राजपा गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नम्बर २ वाट टिकट पाएका श्रीवास्तव दुई साताअघि मात्र फोरम प्रवेश गरेका हुन्।

राजपाको महासचिवबाट राजिनामा दिएर स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमको तर्फबाट उम्मेदवार भएका थिए। विगतमा वीरगञ्ज उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारको हैसियतले चुनाव लडेर विजय हासिल गरेका श्रीवास्तव लामो समयसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीमा सक्रिय रहे। 

तमलोपा गठनपछि सो दलको महामन्त्री भएका श्रीवास्तव राजपाको पनि महासचिव थिए तर स्थानीय तहको गत असोज २ गते भएको तेस्रो चरणको निर्वाचनमा राजपाले वीरगञ्ज महानगरको प्रमुखको उम्मेदवार नबनाएपछि उनी लोकतान्त्रिक फोरममा प्रवेश गरेका थिए। नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा एकीकृत भएको एक साताभित्रै श्रीवास्तव संघीय समाजवादी फोरममा प्रवेश गरेका हुन्। 

रामेश्वर राय यादव – माओवादी केन्द्रवाट सर्लाही क्षेत्र नम्बर ३ को उम्मेदवार भएका यादव गत भदौमा मात्र नेपाल लोकतान्त्रिक फोरमको वरिष्ठ उपाध्यक्षबाट राजिनामा दिएर माओवादी प्रवेश गरेका हुन्। नेपाल सद्भावना पार्टीका संस्थापक नेतामध्येका एक यादव पूर्ववनमन्त्री पनि हुन्। मधेसी जनअधिकार फोरम, फोरम लोकतान्त्रिक हुँदै यादव अहिले माओवादीमा आइपुगेका हुन्।

अभिषेकप्रताप साह – संघीय समाजवादी फोरमको उपमहासचिवको जिम्मेवारीमा रहेका अभिषेकप्रताप साह एक साताअघि पार्टी परित्याग गरी आगामी निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर ३ बाट उम्मेदवार भएका छन्। अघिल्लो संविधानसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नम्बर ५ बाट विजयी भएका थिए।

बृजेशकुमार गुप्ता –  तराई मधेश लोकतान्त्रिक पार्टी परित्याग गरेको एक सातापछि नै गुप्ताले एमालेको तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २ बाट टिकट पाएका छन्। उनले स्वतन्त्र हैसियतमा चुनाव लड्ने तर निर्वाचन चिह्न सूर्य लिने सहमति एमालेसँग गरेका छन्।

ईश्वर दयाल मिश्र  – तमलोपा परित्याग गरी वाम गठबन्धनको समर्थनमा सूर्य चिन्ह लिएर कपिलवस्तुको क्षेत्र नम्वर ३ बाट उम्मेदवार बनेका छन्। उनी तमलोपाका सहमहामन्त्री पनि थिए। उनले पनि एमाले प्रवेश नगरी चुनाव चिह्न मात्र सूर्य लिएका हुन्।

पशुपतिदयाल मिश्र –  राजपा परित्याग गरेका मिश्र त्रिपाठीसँग एमालेको चुनाव चिन्ह लिएर प्रतिनिधिसभामा भाग लिने नेता हुन्। उनी एमाले प्रवेश नगरे पनि राजपा परित्याग गर्ने मनस्थितिमा छन्।

गंगाप्रसाद यादव  –  राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) को तर्फबाट २०७० सालमा संविधानसभाको उपसभामुख भएका यादवले पार्टी परित्याग गरी नेकपा एमालेबाट आगामी निर्वाचनमा सिरहा क्षेत्र नम्बर एकबाट उम्मेदवार भएका छन्। यादव दुई साताअघि मात्र कमल थापा नेतृत्वको राप्रपा परित्याग माओवादीमा प्रवेश गरेका हुन्।

रामचन्द्र झा–  धनुषा क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका तर्फबाट प्रतिनिधिसभा तर्फ उम्मेदवार भएका झा नयाँशक्ति पार्टी परित्याग गरेका हुन्। करिब एक महिनाअघि माओवादी प्रवेश गरेका झा नयाँशक्ति पार्टीमा प्रवेश गर्नुअघि माओवादी केन्द्रमा थिए। उनी २०७० साल एमाले परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन्।

ओमप्रकाश यादब गुल्जारी –  रुपन्देही क्षेत्र नम्बर ४ बाट एमालेको तर्फबाट प्रतिनिधिसभातर्फ उम्मेदवार भएका गुल्जारी दुई साताअघि मात्र एमालेमा प्रवेश गरेका हुन्। राजपाका उपाध्यक्ष गुल्जारी त्यसअघि तमलोपाका उपाध्यक्ष थिए।

पार्टी एकीकरणपछि टिकट पाउनेहरु – 
कांग्रेससँग एकिकरण भएको तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारसहित तीन जनाले प्रतिनिधिसभातर्फ टिकट पाएका छन्। रामजनम चौधरीले कैलाली ३ बाट र गोपाल दहितले बर्दिया २ बाट टिकट पाएका छन्।

गच्छदार र चौधरी नेपाली कांग्रेसमा २०६४ सालसम्म केन्द्रीय तहमा थिए। तर २०६४ साल फागुनदेखि मधेशी जनअधिकार फोरममा प्रवेश गरेका थिए। पछि दुवैले फोरमबाट अलग भई फोरम लोकतान्त्रिक गठन गरेका थिए। लोकतान्त्रिक फोरम कांग्रेससँग असोज अन्तिम साता एकीकृत भएको थियो।

फोरम लोकतान्त्रिक कांग्रेसमा समाहित भएपछि प्रदेश सभातर्फ टिकट पाउनेहरु

सप्तरी १ खबाट डा. सुवोधकुमार पोखरेल, मोरङ ४ कबाट भक्तिनाथ माझी, दाङ २ खबाट योगेन्द्र चौधरी, बर्दिया १ खबाट मंगलप्रसाद थारु, कैलाली १ क बाट जनकराज चौधरी कांग्रेसको तर्फबाट उम्मेदवार भएका छन्।

समानुपातिकतर्फ 

लोकतान्त्रिक फोरमका भारतेन्दुकुमार मल्लिक, सुमित्रा थरुनीको नाम प्रतिनिधिसभातर्फ समानुपातिकको बन्दसूचीमा राखिएको छ भने एक नम्बर प्रदेशको समानुपातिकतर्फ सुष्मा सिन्हा मल्लिक, २ नम्बर प्रदेशबाट शिवकमार गुर्मछानेको नाम समावेश गरिएको छ।

एकनाथ ढकाल –  एमालेले समानुपातिकतर्फ नेपाल परिवार दलका अध्यक्ष ढकाललाई समानुपातिक तर्फ बन्दसूचीमा राखेको छ।

प्रेमबहादुर सिंह –  समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहलाई माओवादी केन्द्रले समानुपातिकमा नाम राखेको छ।

कुमार खड्का –  अखण्ड नेपाल पार्टी नैं कांग्रेसमा बिलय गरेका सो पार्टीका अध्यक्ष खड्कालाई कांग्रेसले समानुपातिकमा राखेका छ।

सूर्यबहादुर केसी –  राप्रपाका वरिष्ठ नेता सूर्यबहादुर केसीलाई नेपाली कांग्रेसले समानुपातिकतर्फ बन्दसूची पेश गर्ने अघिल्लो दिन कांग्रेसमा प्रवेश गराएको थियो। उनको नाम कांग्रेसले समानुपातिकतर्फ सुरक्षित गरेको छ।

मेघराज नेपाली निषाद –  मधेस समता पार्टी नेपाल नै नेकपा एमालेमा बिलय गरेका सो पार्टीका अध्यक्ष निषादलाई एमालेले समानुपातिकको बन्दसूचीमा समावेस गरेको छ। निर्वाचनको लागि उम्मेदवारको बन्दसूची पेश गर्ने केही साताअघि मात्र एमालेमा विलय भएको सो पार्टीका अध्यक्ष निषादलाई बन्दसूचीमा राखेको हो।

अइन्द्रसुन्दर नेम्वाङ –  तत्कालिन नेकपा माले संसदीय दलका प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङ सो पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेको दुई साताभित्रै एमालेको तर्फबाट प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन पद्धतिको बन्दसूचीमा नाम राख्न सफल भएका हुन्। 

अजय थापा –  नेपाली कांग्रेसले कपिलवस्तु क्षेत्र नम्वर ३ कमा अजय थापालाई प्रदेश सभाको उम्मेदवार बनाएको छ। थापा एक साताअघि मात्र राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गरेका हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.