|

काठमाडौं : ललितपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि वाम गठबन्धनबाट उम्मेदवारी दिएका नेकपा एमालेका नवराज सिलवाल विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

दोस्रो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तरगत बिहीबार भएको उम्मेदवारी दर्ताको दावी विरोधको कार्यतालिका अन्तरगत शुक्रबार सात जना उम्मेदवार विरुद्ध उजुरी परेको हो। निर्वाचन आयोगका मुख्य निर्वाचन र निर्वाचन अधिकृतका कार्यालयहरुमा प्रदेश र प्रतिनिधिसभाका सात जना उम्मेदवारहरुविरुद्ध दावी विरोधको उजुरी परेको हो।

सिलवाल विरुद्ध विकाससिंह तामाङले उजुरी हालेका छन्। सिलवालले 'लाभको पद' धारण गरेको व्यहोरा उल्लेख गर्दै तामाङले निर्वाचन आयोगमा उजुरी हालेका हुन्। सिलवाल नेपाल प्रहरीका पूर्व डीआइजी हुन्। तर उनले पदबाट दिएको राजिनामा नेपाल प्रहरीले स्वीकृत गरिसकेको छ।

त्यस्तै तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै पूर्वसहमहामन्त्री गोविन्दराज जोशीविरुद्ध उजुरी दिएका छन्। व्यहोरा गोप्य राखेर दिएको पौडेलको उजुरी आफ्ना बागी उम्मेदवार विरुद्ध परेको हो। त्यस्तै प्रतिनिधिसभातर्फ रौतहट निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार भोजेन्द्र ठाकुर लोहार विरुद्ध पनि उजुरी परेको छ। समानुपातिक सूचीमा समेत नाम रहेको भन्दै कनिजा खातुनले उजुरी दिएकी हुन्।

प्रदेशसभातर्फ ४ जना उम्मेदवार विरुद्ध उजुरी परेको छ। जसमा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ को 'ख'का राष्ट्रिय जनता पार्टीका उम्मेदवार नसरुल मिया विरुद्ध यदुवंश साह हलुवाइले उजुरी दिएका छन्। मिया पार्टीको आधिकारिक उम्मेदवार नभएको हलुवाइको दावी छ। त्यस्तै, कास्की निर्वाचन क्षेत्र नम्बर १ को 'क' का उम्मेदवार टीकाराम पंगेनीविरुद्ध दीपक कोइरालाले उजुरी दिएका छन्। पंगेनीले लाभको पद धारण गरेको कोइरालाको दावी छ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर २ को 'ख'बाट नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका हेमकर्ण पौडेल विरुद्ध सर्वध्वज साँवाले उजुरी दर्ता गरेका छन्। उनले उजुरीको व्यहोरा भने खुलाएका छैनन्। त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नम्बर २ को 'ख' का नेकपा एमाले उम्मेदवार राजकुमार राय विरुद्ध व्यहोरा नखुलाइ रामपृत सहनीले उजुरी दर्ता गराएका छन्।

निर्वाचन आयोगका प्रवक्ता तथा सहसचिव नवराज ढकालका अनुसार शुक्रबार परेका उजुरीमाथि शनिबार छानबिन हुनेछ। 'आज उम्मेदवार विरुद्ध दावी विरोधको कार्यतालिका रहेको थियो। त्यो सम्पन्न भएको छ', उनले भने, 'निर्वाचन कार्यतालिका अनुसार मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले उजुरीमाथि छानविन गर्नुहुनेछ र दावी विरोध पुगे नपुगेको छानविन गर्नुहुनेछ।'

रामचन्द्रको कमजोर उजुरी

रामचन्द्र पौडेलले कांग्रेसका पूराना नेता गोविन्दराज जोशिविरुद्ध उजुरी दिएका छन्। उनले व्यहोरा सार्वजनिक नगरे पनि जोशीलाई भ्रष्टाचारको मुद्दा लागेको र पुनरावेदन चलिरहेकोले उम्मेदवार हुन अयोग्य रहेको भन्ने दावी गरेको अनुमान गरिएको छ। तर, यसले जोशीलाई उम्मेदवार हुन नरोक्ने अनुमान छ निर्वाचन आयोगका एक अधिकृतको।

नाम उल्लेख नगर्ने सर्तमा निर्वाचन आयोगका एक उच्च अधिकारीले भने, 'पौडेलको दावीले जोशीलाई चुनाव लड्नबाट छेक्ने जस्तो देखिदैन।' मुख्य निर्वाचन अधिकृतको कार्यालयले पौडेलको उजुरीलाई डिसमिस गर्दै जोशीका पक्षमा निर्णय सुनाउने उनको अनुमान थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.