|

विराटनगर : फरक दृष्टिकोण र पार्टी भए पनि लामो समयदेखि एकअर्कालाई सहयोग गर्दै आएका माओवादी केन्द्रका नेता शिवकुमार मण्डल र कांग्रेसका नेता अमृत अर्यालबीच मोरङ क्षेत्र नम्बर ५ मा प्रतिस्पर्धा हुँदैछ।

उनीहरु दुवैको प्रतिस्पर्धालाई जानेमानेकाहरुले चासोका साथ हेरेका छन्। यसअघिको निर्वाचनमा मण्डलले अर्याललाई सघाउने र अर्यालले मण्डललाई सघाउने गरेको चर्चा यहाँ अझै छ। दोस्रो संविधानसभामा साविक क्षेत्र नम्बर ४ बाट मण्डलले कांग्रेस नेता गयानन्द मण्डललाई ८ मतले पराजित गरेका थिए भने अर्यालले फोरमका अध्यक्ष उपेन्द्र यादवलाई लगभग ३ हजार मतले पराजित गरेका थिए।

यस पटकको क्षेत्र निर्धारणमा पुराना दुवै क्षेत्र मिसिएर बनेको ५ नम्बर क्षेत्रका प्रतिस्पर्धी तीनै मिल्ने साथीबीच कडा ढंगले हुँदैछ। मोरङ ५ नम्बर क्षेत्रमा रङ्गेली नगरपालिकाको ४, ५, ६, ७ वडा, धनपालथान गाउँपालिका, जहदा गाउँपालिका र विराटनगर महानगरपालिका १३, १४, १५, १६, १७, १८ वडा समेटेको छ।

उक्त निर्वाचन क्षेत्रमा ८९ हजार २ सय ८७ नयाँ मतदाता रहेको छ । सो क्षेत्रमा स्थानीय तहको निर्वाचनको मतमा वाम गठबन्धन नै अगाडि छ। क्षेत्रमा कांग्रेसको १६ हजार ३ सय ६९, संघीय समाजवादी फोरमको १२ हजार ९ सय ५४ र वाम गठबन्धनको १९ हजार ९ सय ६० मत रहेको छ ।

आपूर्तीमन्त्री छँदा भ्रष्टाचारी र कालोबजारी गर्ने विरुद्ध कडा रुपमा प्रस्तुत भएर चर्चा कमाएका मण्डल वाम गठबन्धनबाट उम्मेदवारी दिएर आफ्नो निर्वाचन क्षेत्रमा चुनावी अभियान तिब्र पारेका छन्। उता कांग्रेसका उम्मेदवार र्यालयले पनि घरदैलो अभियानलाई अगाडि बढाएका छन्।

माओवादी नेता मण्डलले रंगेली कांग्रेसका नेता प्रदीप साह, पुनम सापकोटा तथा फोरमका दीलिप मण्डल, रामबाबु यादव, रामबाबु मण्डललगायतलाई पार्टीमा प्रवेश गराउँदै चुनावी अभियानलाई तीब्रता दिएका छन्। रंगेली गाविसका पूर्व अध्यक्ष साहसहित १८५ जना माओवादी केन्द्रमा प्रवेश गरेपछि क्षेत्रमा कांग्रेस झनै कमजोर बनेको माओवादीले जनाएको छ।

नेता मण्डलले आफ्नो पार्टी गठबन्धनको अबको बहुमतको सरकार बन्ने भएकोले क्षेत्रको विकास र समृद्धिमा केन्द्रित हुने चुनावी एजेण्डासहित मतदाताको घरदैलोमा पुगेका छन् । वाम गठबन्धनबाट उत्साहित भएका मण्डल राजनीतिक स्थायित्व र विकासका लागि वाम एकता गरिएको सन्देश लिएर चुनावी घरदैलोमा छन्।

अर्याल पनि यसअघिको ५ वर्ष आफ्नो क्षेत्रमा धेरै विकासको काम गरेकोले चुनाव जित्ने दाबी गरिरहेका छन् । यद्यपी यसअघि एमालेको सहानुभूति र संघीय समाजवादी फोरमका उपेन्द्र यादवमाथिको अन्तरघातको फाइदा लिएका अर्याललाई यसपटक दुवै अवसर हुने सम्भावना कम छ। विराटनगरलाई प्रदेशको राजधानी बनाउने र रंगेली क्षेत्रको विकास गर्ने दुवै उम्मेदवारको एजेण्डा छ। अर्यालले विराटनगर, इनरुवा र इटहरी हुँदै ग्रेटर विराटनगर निर्माणका लागि पहल गर्ने बताएका छन्।

संघीय समाजवादीबाट फोरमबाट प्रतिनिधिसभामा राजकुमार यादव चुनावी मैदानमा रहेकोले यसअघि अर्याललाई गएको धेरै मत उनले रोक्ने आँकलन गरिएको छ। यादव स्थानीय भएको र मधेस प्रभावित क्षेत्र रंगेली र विराटनगरको दक्षिणी क्षेत्रमा संघीय समाजवादीको स्थान पनि सम्मानजनक देखिन्छ। त्यसका साथै राजपाबाट प्रतिस्पर्धामा रहेका पुराना नेता तथा शाहीकालका मन्त्री बद्रीप्रसाद मण्डलको उम्मेदवारीले पनि अर्याललाई अप्ठ्यारो हुने धेरैको अनुमान छ।

स्थानीय निकाय निर्वाचन मत परिणाम

कांग्रेस : १६,३६९ (कांग्रेस १३३६९, फोरम लोकतान्त्रिक ३००० लगभग)

वाम गठबन्धनः    १९,९६० (एमालेको ८९७९÷माओवादी १०९८१)

संघीय समाजवादी फोरम : १२,९५४

जम्मा मतदाता संख्या :  ८९२८७

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.