गृह मन्त्रालय भन्छ, 'ढुक्क भए हुन्छ’

|

काठमाडौं : गृह मन्त्रालयले निर्वाचन सुरक्षाको अन्तिम तयारी सकिएको जनाएको छ। नेपाल प्रहरीले पनि देशैभरका सबै मतदान केन्द्रमा सुरक्षाकर्मी पुगिसकेको बताएको छ। गृह प्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले सबै मतदान केन्द्र र त्यस वरपरका क्षेत्र समेट्ने गरी सुरक्षाकर्मी तैनाथ भइसकेको जानकारी दिए।

दुवाडीले निर्वाचन सुरक्षाका लागि रिजर्भ फोर्स र क्विक रेस्पोन्स टिम तयारी हालतमा रहेको बताए। देशैभरका निर्वाचनस्थलमा तत्काल सुरक्षाकर्मी पुग्ने गरी सुरक्षा प्रबन्ध गरिएको पनि उनले जनाए।

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयले हवाई गस्तीसमेत गर्ने भएको छ। त्यसका लागि नेपाली सेनाका सातै पृतनामा एक–एक हेलिकप्टर तयारी हालतमा राखिनेछ। काठमाडौं उपत्यकाका निर्वाचन सुरक्षामा भने अवस्था हेरी हेलिकप्टर र हवाईजहाज गरेर पाँचवटासम्म परिचालन हुनेछन्। गृह प्रवक्ता दुवाडीले आवश्यक परे निजी क्षेत्रको हेलिकप्टरसमेत परिचालन गर्ने तयारी गरिसकिएको बताए। निर्वाचन सुरक्षामा कुनै कसुर बाँकी नराखिने उल्लेख गर्दै दुवाडीले भने, ‘निर्वाचनविरोधी हर्कत गर्नेलाई नियन्त्रणमा लिने र दोषी पक्राउ गर्ने क्रम जारी छ।’

प्रहरी प्रवक्ता मनोज न्यौपानेले सबै मतदान केन्द्रको सुरक्षामा प्रहरी पुगिसकेको जानकारी दिए। उनले मतदान केन्द्र र वरपरको सम्पूर्ण सुरक्षा तयारी सकिएको उल्लेख गर्दै भने, ‘प्रहरीले सम्पूर्ण तयारी सकिसकेको छ। निर्वाचन सुरक्षामा कुनै कसुर बाँकी राखिनेछैन।’ प्रहरीले निर्वाचनविरोधी गतिविधिमा संलग्न भएको आशंकामा सोमबार साँझसम्म ९ सय ५१ जनालाई पक्राउ गरेको छ। जसमध्ये ५ सय ९५ जना विप्लव माओवादीका कार्यकर्ता छन्।

प्रहरी प्रवक्ता न्यौपानेले देशभरका ५२ स्थानबाट विस्फोटक पदार्थ फेला परेको र निर्वाचन प्रचारप्रसारका क्रममा ११ सवारी साधन तोडफोड भएको समेत बताए। प्रहरीले निर्वाचनअघि फेला परेका अधिकांश बम नक्कली भएको जनाएको छ। झोला र बट्टा मानिस आवतजावत हुने ठाउँमा राख्ने र त्यसबाट आतंक सिर्जना हुने देखिएको प्रहरीको भनाइ छ।

प्रहरी प्रवक्ता न्यौपानेले नक्कली बमबाट त्रास फैलाउने काम धेरै भएको बताए। ‘धेरैजसो नक्कली बम भेटिएका छन्,’ उनले भने। निर्वाचन नजिकिँदै गर्दा राजधानीलगायत देशका विभिन्न स्थानमा उम्मेदवार लक्षित विस्फोटका शृंखलाबद्ध घटना भएका छन्। आइतबार र सोमबार दिनभर गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले १० जिल्लाको सुरक्षा अनुगमन गरेको थियो।

यो टोलीले गुल्मी, सल्यान, प्यूठान, इलाम, दाङ, तेह्रथुम, सिरहा, रौतहट, उदयपुरलगायत १० जिल्लाको सुरक्षास्थिति अनुगमन गरेको थियो। टोलीले प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखसँग सुरक्षास्थितिबारे छलफल र परामर्श गरेको थियो। गृह प्रवक्ता दुवाडीले भने, ‘सबै निर्वाचन क्षेत्रमा आवश्यक कडा सुरक्षा व्यवस्था मिलाइसकिएको छ। मतदाता ढुक्क भए हुन्छ।’

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.