|

दाङ : नेकपा एमालेका स्थायी समिति सदस्य शंकर पोख्रेलले दाङलाई प्रदेश नम्बर ५ को राजधानी बनाउने प्रतिवद्धता जनाएका छन्। वाम गठबन्धनका तर्फबाट दाङ क्षेत्र नम्बर २ प्रदेश सभा १ मा विजयी भएपछि निकालिएको विजय र्‍यालीलाई सम्बोधन गर्दै नेता पोख्रेलले दाङलाई प्रदेशकै आधारशीला बनाउने बताएका हुन्। 'जनतासंग गरेको वाचा पुरा गर्न योजना बनाएर कामलाई अगाडि बढाउनेछु' पोख्रेलले भने।

नेता पोख्रेलले जनतासँगको प्रतिवद्धता पुरा गर्न लाग्ने समेत बताए। शनिबार दिउँसो सम्पन्न मतपरिणाम अनुसार पोख्रेल प्रदेशसभाको सदस्यमा निर्वाचित भएपछि दाङ सदरमुकाम घोराहीमा बाम गठबन्धनले बिजयी र्‍याली निकालेको हो। वाम गठवन्धनका साझा उम्मेदवारमध्ये नेता पोख्रेल दाङबाट निर्वाचित हुने पहिलो उम्मेदवार हुन्।

पूर्व सूचना तथा सञ्चार मन्त्री समेत रहेका नेता पोख्रेलको विजय उत्सवमा वाम गठवन्धनका हजारौ नेता कार्यकर्ता सहभागि बनेका थिए। पोखरेललाई जिपमा राखेर घोराही बजार परिक्रमा गरिएको थियो।

अन्तिम मत परिणाम अनुसार पूर्व सञ्चार मन्त्री समेत रहेका पोख्रेलले प्रतिस्पर्धी भन्दा ९ हजार ५ सय ५१ मत बढी प्राप्त गरी विजयी हासिल गरेका हुन्। पोख्रेललाई २० हजार ७ सय २३ मत प्राप्त हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कमलकिशोर घिमिरेले ११ हजार १ सय ७२ मत प्राप्त गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.