को हुन् खनाल?

|
फाइल फोटो

इलाम : क्षेत्र नं.–१ मा वाम गठबन्धनका साझा उम्मेदवार झलनाथ खनाल विजयी भएका छन्। खनालले कांग्रेसका भूपेन्द्र कट्टेललाई १७ हजार १६९ मत अन्तरले हराएका हुन्। 

खनालले ३६ हजार ८०७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कट्टेलले १९ हजार ६३८ मत ल्याएका छन्। 

को हुन् खनाल?    
एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्म इलामको साविक साँखेजुङ ४ मा २००६ साल चैत ६ गते भएको हो। पिता पुङ्कनाथ र माता मधुमाता खनालका १३ सन्तान मध्ये झलनाथ खनाल सातौँ सन्तान हुन्।

१५ वर्षकै किशोर अवस्थामा कम्युनिष्ट आन्दोलनमा होमिएका खनालको राजनीतिक जीवन २०२१ साल देखि शुरू भएको थियो। मेची विद्यार्थी संगठनको अध्यक्षबाट राजनीतिक यात्रा गरेका खनाल २०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्तपछि नेपाली राजनीतिमा झनै सक्रिय भए। शिक्षण पेशामा संलग्न भए पनि खनालले पटक पटक गरी सात वर्ष जेल जीवन  बिताए। 

झापा विद्रोहपछि २०३१ सालमा गठित क्रान्तिकारीहरूको संगठन को–ओर्डिनेशन कमिटी, नेपाल कम्युनिस्ट पार्टी मालेको सस्थापक सदस्य रहेका खनाल सोही पार्टीको महासचिव समेत भएका थिए। २०३७ सालपछि भूमिगत भएका खनाल ११ वर्षपछि २०४६ सालको जनआन्दोलनपछि खुलामञ्चबाट सार्वजनिक भएका थिए।  खनाल त्यसपछि बनेका सरकारमा कृषि, भूमिसुधार तथा व्यवस्था, वन र वातावरण, सूचना तथा सञ्चारमन्त्री बनेका थिए।

२०४६ पछिका निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट ५ पटक निर्वाचित खनाल २०५६ सालको संसदीय निर्वाचन भने  काग्रेसका बेनुप प्रसाईसँग पराजित भएका थिए। २०६५ मा भएको  बुटवलको आठौं महाधिवेशनबाट एमालेको अध्यक्ष निर्वाचित खनाल तत्कालीन एकीकृत नेकपा माओवादी केन्द्रको समर्थनमा २०६७ साल माघ २३ गते देशको ३५ औं प्रधानमन्त्री भएका थिए।

२०७१ सालको नवौ महाधिवेशनबाट पार्टीका वरिष्ठ नेता खनाल २०७४ मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा इलाम क्षेत्र नम्बर १ बाट वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.