|

उदयपुरः सगरमाथा लोकमार्गको कदमाहा–गाईघाट सडक खण्डको बगाहामा पर्ने फर्सेठ खोलको पुल निर्माण सुरु भएको छ वर्षमा पनि बनेको छैन।

उदयपुरको त्रियुगा नगरपालिका– ६ बगाहास्थित फर्सेठ खोलमा छ वर्षअघि निर्माण सुरु गरिएको पुल अहिले जीर्ण बन्दै गएको छ। सडक भिडिजन कार्यालय लहान र ठेकेदारको चरम लापरवाहीले लामो समयसम्म पुल नबनेको स्थानीयको आरोप छ। पुल निर्माणको जिम्मा पाएको वीपी/बहादुर थिङ जे.भी. काठमाडौंले अटेरी गरेपछि पुल नबनेको बताइएको छ।

डिभिजन सडक कार्यालय लहानका अनुसार उक्त पुलको लागत कुल पाँच करोड आठ लाख दुई हजार ९०४ रुपैयाँ थियो। त्यसमा तीन करोड ७० लाख २२ हजार २३८ रुपैयाँमा वीपी/बहादुर थिङ जे.भी.ले ठेक्का लिएको थियो। 

२०६८ असार ३१ गते जिम्मा लिएरको ठेकेदारले २०७० असार २० मा सम्पन्न गर्नुपर्ने सम्झौता थियो। पुल हेर्ने जिम्मा पाएका लहानका साइट इन्जिनियर शोभितलाल ठाकुरले दुई पटक म्याद थप्दा पनि ठेकेदारले पुल नबनाएको बताए। ‘पुनः २०७२ जेठ १५ सम्मका लागि म्याद गरी काम गर्न ठेकेदारलाई जिम्मा दिइएको थियो’, उनले भने, ‘हालसम्म पुल नबनेपछि सडक डिभिजन कार्यालयलाई आरोप लगाइएको छ।’

सडक डिभिजनकै लापरवाही छः प्रजिअ कणेल
सडक डिभिजन कार्यालय लहान सिरहाकै कमजोरीका कारण पुल नबनेको उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले बताए। ठेकेदारले समयमा काम नगर्ने, कामदार नखटाउने, खटाएकालाई परिश्रमिक नदिने, सामान ढुवानी नगर्ने र पूरै बेवास्ता गर्दा पनि अनुगमन, निरीक्षण नगर्ने कार्यालय दोषी रहेको प्रजिअ कणेलले दाबी गरे। 

‘ठेकेदारको चरम लापरवाहीले गर्दा पनि नियमन निकाय सडक भिडिजनको मौन समर्थन देख्छु’, उनले भने, ‘अब पनि डिभिजन कार्यालयले बेवास्ता गरे कानुनी प्रक्रियामा जानेछु।’ ठेकेदार कम्पनी र सडक डिभिजनले गल्ती सच्याएर काम गर्नुपर्ने कणेलको भनाइ थियो।

सडक डिभिज कार्यालय भन्छः अब पुल बन्छ
सडक भिडिजन कार्यालय लहानका साइट इन्जिनियर ठाकुरले अब पुल जसरी भए पनि बनाउने बताए। ‘बीचमा जे भयो, भयो’, उनले भने, ‘अहिले कार्यालयले पुल सम्पन्न गर्न ठेकेदारलाई दबाब दिइरहेको छ।’ 

ठेकेदारले नै पेश्की रकम लिएर हिनामिना गरी आन्तरिक विवाद गरेर पुल नबनाएको इन्जिनियर ठाकुरको भनाइ छ। ‘ठेक्का लिनेले काम गरेन’, उनले भने, ‘म साइटको इन्जिनियर भएकाले मलाई आरोप लगाएर हुँदैन, पुल बनाउने काम अब हाम्रो हो।’

ठेकेदार भन्छन्ः हामीभित्रै विवाद भयो
पुल बनाउने क्रममा वीपी÷बहादुर थिङ जे.भी. काठमाडौंभित्रै विवाद भएको छ। निर्माण व्यवसायीको आन्तरिक विवादले समस्या आएको निर्माण व्यवसायी प्रेमबहादुर राईले बताए। ‘म, फौदबहादुर पाण्डे, श्याम पोखरेल र बहादुर थिङ चार जनाको बराबरी शेयर थियो’, उनले भने, ‘ठेक्काको मुख्य जिम्मा लिएका पाण्डेले पेश्की रकम एक करोड ६० लाख रुपैयाँ लिएर फरार भएपछि निर्माणको काम रोकियो।’

पुल नहुँदा यातयात व्यवसायी हैरान
पुल नभएको कारण यातायात व्यवसायीले हैरानी खेप्नुपरेको छ। पुल नहुँदा हरेक वर्षका भेल बाढीले यातायात ठप्प हुने गरेको छ। पैदल यात्रीले समेत खोला तर्ने क्रममा ज्यान गुमाइसकेको स्थानीय विष्णुबहादुर राउतले बताए। लापरवाहीका कारण पुलका निर्माण सामग्रीहरू खिया लागेर जीर्ण भइसकेका छन्। पुलको आधा भागको ढलानसम्म गरेको छ भने अर्को आधा भाग अधुरै छ।

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारले जसरी भए पनि यसपालिको बर्खामा पुलको निर्माण सम्पन्न गर्ने गरी काम गर्न लगाउने बताए। ‘लहान र ठेकेदारको लापरवाही देखिन्छ’, उनले भने, ‘विगतलाई छाडेर यस वर्ष पुल सम्पन्न गर्न लगाउनुपर्ने भएको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.