नेपाल-भारत सीमा क्षेत्रमा फस्टाउँदै मदिरा कारोबार

|

धनुषा : भारतीय राज्य विहारमा मदिरा बेचविखन र सेवनमा प्रतिबन्ध लागेपछि सीमावर्ती नेपाली भू–भागमा मदिराको कारोबार फस्टाउन थालेको छ। धनुषाको कमलामाई नगरपालिकासहित सीमावर्ती नेपाली क्षेत्र हुँदै मदिराको कारोबार बढेको हो।

कमलामाई- ४ सघारास्थित साविकको गाविसको कार्यालय, दुर्गा मन्दिरलगायतका क्षेत्र हुँदै ट्र्याक्टरका ट्र्याक्टर मदिरा ओसारपसार हुने गरेको छ। मदिरा कारोबारको ट्रान्जिट बनेको इनर्वासम्म ट्रकमा मदिरा ओसार्न नसकिने भएकाले ट्र्याक्टरबाट नै गन्तव्यसम्म लैजाने गरेको पाइएको स्थानीयले बताएका छन्। यसरी लगिएको मदिरा भारतसँगको सीमा क्षेत्रमा पर्ने इनर्वामा स्टक गर्ने गरिन्छ।

सातामा २ देखि ३ ट्रकसम्म मदिरा ट्र्याक्टरमा राखेर ओसारपसार हुने गरेको स्थानीय योगेन्द्र यादव बताउँछन्। यसरी इनर्वा पुर्‍याइएको मदिरा पानीमा तैरिने गरी बोरामा हालेर कमला नदीमा बगाउने गरिएको र भारतस्थित गन्तव्यमा पुगेपछि उतार्ने गरिएको नाम नबताउने सर्तमा एक स्थानीयले जानकारी दिए। नेपालमा २० देखि २५ रुपैयाँसम्म पर्ने मदिरा भारतको मधुवनीलगायतका क्षेत्रमा लुकिछिपी भारु १२५ रुपैयाँसम्ममा बेचबिखन हुने गरेको छ। तस्करहरुले कारोबारमा महिला तथा बालबालिकासमेत प्रयोग गर्ने गरेका छन्।

यसरी फस्टाउँदै गएको मदिरा कारोबार नियन्त्रणमा प्रहरीले ठोस कदम चाल्न नसकेको स्थानीय बताउँछन्। सुरक्षाकर्मीसँगकै सेटिङमा कारोबार हुने गरेको कतिपयको आरोप छ। तर, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रविण धिताल स्थानीयको आरोप खण्डन गर्छन्। यद्यपि जनशक्तिको अभाव र सही सूचना नपाउँदा मदिरा कारोबार नियन्त्रण गर्न भने नसकिएको उनको स्वीकारोक्ति छ।

उता भारतको विहारस्थित सीमावर्ती हरलाखी ग्रामपञ्चायतका मुखिया दयाकान्त झा नेपाली मदिरा ठूलो समस्याको रुपमा देखा परेको बताउँछन्। आफ्नै ग्रामपञ्चायतका एक कर्मचारीसमेत नेपाली मदिरासहित पक्राउ परेको जानकारी दिँदै उनले सीमा क्षेत्रमा खटिने सुरक्षाकर्मीको मिलेमतोमा मदिरा कारोबार भइरहेको आरोप लगाए।

बिहार सरकारले मदिरा बेचविखन र सेवन गर्नेलाई कडा कारबाही गर्न थालेपछि कतिपयले भने सीमा क्षेत्रमा पर्ने जटही, भडरिया, दुहवी, खजुरी, इनर्वालगायतका क्षेत्रमा आएर मदिरा सेवन गर्ने गरेका छन्। यस्तो कारोबार धनुषामा मात्र नभएर  महोत्तरी, सर्लाही, सिरहा, सप्तरीलगायत जिल्लाका सीमावर्ती क्षेत्रमासमेत बढ्दै गएको छ। कतिपय स्थानमा मदिरा सेवन गर्नेहरुले होहल्ला र कुटपिटसमेत गर्ने गरेको स्थानीय बताउँछन्।

खुला सीमाका कारण हुने तस्करी र अवैध कारोबार रोक्न दुवै देशका सुरक्षा अधिकारीबीच बेलाबखत बैठक हुँदै आएको छ। तर, यस्ता गतिविधि रोकिन सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.