|
छोराको फोटो देखाएर विलौना गर्दै बच्चाकी आमा कमला सुवेदी

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका ७ चुहाडेकी कमला सुवेदी अहिले छोराको खोजीमा छिन्। आफ्नै आमा (माइतीतर्फ) लाई विश्वास गरेर काठमाडौं पढ्न पठाएको छोरो गौरव सुवेदीलाई थाहै नदिई धर्मपुत्र बनाएर विदेश पुर्‍याएपछि अहिले आमा खोजीमा भौतारीइरहेकी हुन्।

कमलाकी आफ्नै आमा (६२) टंकमाया रेग्मीले काठमाडौंमा राम्रो शिक्षादीक्षा दिलाउछु भनेर जिम्मा लाएको छोरो धर्मपुत्रको रुपमा विदेशीलाई दिइएको थाहा पाएपछि छोराको फोटोमा फेम हालेर रुदै कराउँदै सदरमुकाम गाईघाट धाउनी गरेकी छन्। उमेर ४२ वर्ष पुगेकी कमलाको छोरो २० वर्ष पुगेका छन्। ‘मैले ७ वर्षको उमेरदेखि छोरोलाई भेट्न पाएको छैन,’ गाईघाटमा भेटिएकी उनले भनिन्, ‘छोरो गौरवको उमेर अहिले २० वर्ष भयो, कस्तो भयो होला मेरो छोरा?’

०६१ मा छोरोलाई काठमाडौं नक्सालको बालमन्दिरमा पढाउँदै गरेको भन्दै आमा टंकमायाले दुई दसैँ घरमा ल्याए पनि त्यसपछि ल्याउन छाडेकी थिइन्। ‘विदेश पढ्न गएको छ भन्दै मलाई भनिररहनुभयो आमाले,’ उनले भनिन्, ‘अहिलेसम्म छोरा र मेरो टेलिफोन सम्पर्कसमेत हुन सकेको छैन।’ ०६४ मा विदेशको तस्बिर पाएकी थिइन्। त्यसपछिको अवस्थामा तस्बिरसमेत नपाएको कमलाको रोदन छ।

१० वर्षअघि विदेशबाट प्राप्त त्यही तस्बिर हेरेर टोलाइरहने कमला घरीघरी छोरा सम्झेर भक्कानिने गर्दै खोजी गरिरहेकी छन्। ‘छोरा विदेशबाट हरेक दुई वर्षमा भेटघाटका लागि आउछ, नआउँदा फोटो पठाउँछ भनेका थिए,’ आँखाभरी आँसु पार्दै कमलाले भनिन्, ‘नत भेटघाट, न त फोटो नै आयो मेरो छोरा कहाँ होला त?’

छोरो खोजी गर्दै उनी  आमा टंकमायासँग दैनिक झगडा गरिरहेकी छन्। छोरोको फोटोसमेत पाउन छाडेपछि आमासँग कुरा गर्दा अर्को दुईवर्ष भन्दै दसौँ वर्ष बिताएपछि कमलाले जिल्ला प्रशासन कार्यालय उदयपुरसँग गुहार माग्नुपरेको छ। ‘आमाको विश्वासमा पढ्न पठाएको थिएँ,’ कमलाले भनिन्, ‘धर्मपुत्र बनाउन हैन।’

भक्कानिँदै कमलाले भनिन्, ‘धर्मपुत्र दिनुभन्दा त बरु दुःख गरेर आफैँ हुर्काउथेँ, पढाइराखेकै पनि थिएँ, आमाले नातिको भविष्य राम्रो हुनेगरी पढाउने व्यवस्था मिलाइदिन्छु भनेर बेपत्ता पारिदिनुभयो।’ आफ्नो छोरो कसैलाई धर्मपुत्र बनाएर दिने कुरा म सोच्न पनि सक्दिनँ।

कमलाको छोरो गौरवलाई धर्मपुत्रको रुपमा विदेशीलाई दिएको आमा टंकमाया भनाइ छ। सुरुमा कमलाकी आमा टंकमायाले काठमाडौंको नक्सालस्थित बालमन्दिर विद्यालयमा भर्ना गराई दुई वर्षसम्म राखेको र त्यहीँबाट विदेशीलाई धर्मपुत्र दिएको पारिवारिक स्रोतको दाबी छ।

कमलाकी आमा स्वयं टंकमायाले नाति गौरवलाई धर्मपुत्रकै रुपमा विदेशीले लगेको तर, कुन देश, कसले लगेको भन्ने कुरो थाहा नभएको बताएकी छन्। ‘नातिको उज्जल भविष्यको लागि बालमन्दिर भर्ना गरी बाहिर पठाएको हुँ,’ उनले भनिन्, ‘धर्मपुत्रै बनाएको थिइनँ, बालमन्दिरका सरहरुले बनाइदिनुभएछ।’

बालमन्दिर नक्सालका निर्देशक बालकृष्ण डंगोलले हजुरआमा र मामाले विद्यालयमा भर्ना गराई उनीहरुकै सहमतिमा धर्मपुत्र बनाएर पठाएको जानकारी दिएको आमा कमलाको भनाइ छ। ‘मैले छोरोको खोजीमा सबैतिर गएँ,’ उनले भनिन्, ‘बालमन्दिर नक्सालका सरहरुले पनि धर्मपुत्र बनाएर विदेश पठाएको बताएका छन्, अब कसरी मैले मेरो छोरो भेट्न सक्छु?’ उनले दुखेसो पोखिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.