|

काठमाडौं : चान्द्रमानको पात्रोअनुसार माघ शुल्क पञ्चमी अर्थात् श्रीपञ्चमी। विद्याको साधना गर्नेहरू यो दिन देवी सरस्वतीको विशेष आराधना गर्छन्।

यो दिन सबेरै उठेर नित्यकर्म सकी विद्या–वाणीकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गर्ने विधान रहेको पुराणका ज्ञाता पं.बालमुकुन्द देवकोटा बताउँछन्। देवीभागवत महापुराणमा यो दिन गरिने सरस्वती उपासनाको विधि बताइएको छ।  

यही दिन बालबालिकालाई अक्षरारम्भ गराउने विधान देवीभागवत(स्कन्ध–९\अध्याय– ४)मै उल्लेख छ। यो दिन सुरु गरेको विद्या दिगो हुने विश्वास गरिन्छ। त्यसैले स–साना नानीलाई सरस्वतीको दर्शन गराएर अक्षरारम्भ गर्न लगाउने चलन छ। अचेल निजी विद्यालयहरूले यो मौकालाई छोप्दै ‘अक्षरारम्भ’ गराउने गरेका छन्।

अध्ययन–अध्यापन, कला–संगीत साधकहरूले पनि यो दिनलाई विशेष मान्छन्। सरस्वतीको कृपाविना कुनै पनि विद्या सफल हुँदैन भन्ने सनातन धर्मावलम्बीको मान्यता छ। सनातन धर्ममा मानिने त्रिदेवीमध्ये महाकाली शक्तिकी, महालक्ष्मी धनकी र महासरस्वती विद्याकी देवी मानिन्छन्। भक्तपुर, ललितपुरको लेले र काठमाडौंको स्वयम्भूस्थित सरस्वती मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ।

यो ऋतुमा श्रीकृष्णको लीला भरिएको चरित्र वसन्त राग श्रवणगरी रति–कामदेवको पूजा–अर्चना गर्ने विधि बताइएको पं. देवकोटा बताउँछन्। उनका अनुसार त्यसैले यो दिनलाई वसन्तपञ्चमी भनिएको हो।

प्रेमका प्रतीक रति–कामदेवको सम्झना गर्ने, उनीहरूको पूजाआराधना गरिने हुनाले यो पर्वलाई मौलिक प्रेमपर्वका रूपमा पनि मनाउन सकिने इतिहास–पुराणकी ज्ञाता प्रियंवदा काफ्ले बताउँछिन्।

नेपालमा हनुमानढोकास्थित वसन्तपुर दरबारमा वसन्तश्रवण गराइन्छ जहाँ राष्ट्रप्रमुख तथा सरकारप्रमुखसमेत सहभागी हुन्छन्। भारतका विभिन्न स्थानमा आज वसन्तोत्सव मनाइन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.