|

काठमाडौं : दुग्ध विकास संस्थानका कर्मचारीले पछिल्ला तीन वर्षमा २ करोड ४९ लाख ४२ हजार ३ सय ७८ रुपैयाँ घोटाला गरेका छन्। संस्थान सञ्चालक समितिले गरेको अध्ययनअनुसार तीन वर्षयता संस्थानका विभिन्न कार्यालयमा रहेका कर्मचारीले राजस्व भुक्तानी, जिन्सी सामग्री बिक्री, पेस्कीलगायतका शीर्षकबाट संस्थानलाई नोक्सानी पुर्‍याउने गरी घोटाला गरेको देखिएको हो।

घोटाला भएको रकम उठाउन अहिले सञ्चालक समिति सक्रिय भएको छ। संस्थानलाई नोक्सानी पुर्‍याउने कर्मचारीले आफ्नो जिम्मामा रहेको रकम नतिरेपछि उठाउन लागिएको सञ्चालक समितिका सदस्य डा। विशाल बास्तोलाले बताए। ‘पटक–पटक व्यवस्थापनलाई कर्मचारीको दायित्वमा रहेको रकम उठाएर संस्थानको खातामा दाखिला गर्न निर्देशन दिए पनि अटेर गर्ने काम भयो,’ उनले भने, ‘त्यसैले रकम नउठे कारबाही गर्ने निर्णय गरेका छौँ।’

मंगलबार बसेको सञ्चालक समिति बैठकले सात दिनभित्र कर्मचारीबाट उठाउनुपर्ने रकम भरपाई गरी दाखिला गर्न व्यवस्थापनलाई निर्देशन दिएको छ। आफ्नो भागमा रहेको तिर्नुपर्ने रकम भुक्तानी नगर्ने कर्मचारीको बढुवा र ग्रेड रोक्का गर्न सम्बन्धित आयोजना प्रमुखलाई निर्देशन दिइएको छ। आयोजना प्रमुखले अटेर गरे महाप्रबन्धकले आयोजना प्रमुखकै ग्रेड रोक्काको कारबाही गर्न निर्देशन दिएको छ।

संस्थान महाप्रबन्धक गंगा तिमिल्सिनाले दूध संकलन, ढुवानी र स्टोर गर्नेक्रममा हुने क्षतिलाई कर्मचारीको दायित्वमा राखेर हिसाब गर्ने गरेको र त्यसलाई घोटाला भन्न नहुने दाबी गरे। ‘चिलिङ भ्याटदेखि स्टोरसम्मको काम हुँदा क्षति हुन्छ, कतिपय कर्मचारीले पेस्की लिएका हुन्छन्,’ उनले भने, ‘त्यसलाई कर्मचारीको मासिक तलबबाट कट्टा गर्दै बिस्तारै संकलन गर्ने नीति लिएका छौँ।’ यसपटक सञ्चालक समितिले एकमुस्ट रकम उठाउने निर्णय गरेको र त्यसलाई कार्यान्वयन गर्न सुरु गरेको उनले बताए।

यसरी हुन्छ घोटाला
धेरै कर्मचारीले दूध, दही, घिउ, पनिरलगायत बिक्रीबाट जम्मा गर्नुपर्ने राजस्वबापतको रकम दाखिला गरेका छैनन्। त्यस्तै उत्पादन केन्द्रबाट गोदाममा सामान राख्दा हिनामिना गरिएको छ। ‘उत्पादन केन्द्रमा जम्मा भएको सामान गोदामसम्म पुर्‍याउँदा अपुग देखिएको छ,’ स्रोतले भन्यो, ‘यसरी जिन्सी सामान नै कर्मचारीले अपचलन गरेका छन्।’

हेटौँडा दुग्ध विकास आयोजनाका कर्मचारीले दुग्ध पदार्थ संकलन गरी गोदामसम्म पुर्‍याउँदा कम परिमाण देखाएर नोक्सानी पुर्‍याएका छन्। धेरैले पेस्की लगेका छन्, तर फर्छ्योट गराएका छैनन्। नेपालगन्ज दुग्ध वितरण आयोजनाका अर्जुन पन्थीले साढे १० लाख रुपैयाँ कार्यालय कामका लागि पेस्की लगेको विवरण टिपाएका छन्, तर फर्छ्योट भएको छैन। केही कर्मचारीले सवारी दुर्घटनामा परी उपचारका लागि लिएको लाखौँ पेस्की फर्छ्योट गरेका छैनन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.