|

काठमाडौं : एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यमन्त्रीसहित प्रदेश मन्त्रिपरिषद् र सभामुख बाँडफाँड टुंगो लगाउन कार्यदललाई निर्देशन दिएका छन्। ओली निवास बालकोटमा शुक्रबार बसेको बैठकमा दुवै नेताले कार्यदललाई त्यस्तो निर्देशन दिएका हुन्।

बैठकमा एमाले नेता सुवास नेम्बाङ र माओवादी नेता रामबहादुर थापा बादलले कार्यदलले बाँडफाँडका विधि र प्रक्रियाका सन्दर्भमा अहिलेसम्म भएका गृहकार्यको ‘ब्रिफिङ’ गरेका थिए। ‘हामीले अहिलेसम्म कार्यदलमा भएको छलफल र गृहकार्य दुवै नेतालाई ब्रिफिङ गर्‍यौँ,’ बैठकपछि एमाले नेता नेम्वाङले भने, ‘उहाँहरूले अहिले भइरहेको छलफलकै आधारमा टुंग्याउने गरी प्रस्ताव तयार पार्नुस् भन्नुभएकाले त्यसअनुसार गृहकार्य गर्छौँ।’

एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व लिने भनिए पनि प्रदेश ६ मा दुवै दलले मुख्यमन्त्री दाबी गरेका छन्। राष्ट्रियसभामा मतादाता संख्यालाई आधार मानेर बाँडफाँड गरिए पनि राजकीय मामिलाको पद बाँडफाँड ६०–४० कै अनुपात हुनुपर्ने दाबी गर्दै माओवादी केन्द्रले प्रदेश ६ मा स्वाभाविक नेतृत्व पाउनुपर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएको छ। तर, एमालेले भने त्यस क्षेत्रका पार्टी नेता र सांसदहरूको दबाबले विशिष्ट स्थिति उत्पन्न भएको भन्दै लचिलो बन्न माओवादीलाई आग्रह गर्दै आएको छ।

प्रदेश १, ३, ४ र ५ एमालेलाई छाड्न तयार देखिएको माओवादीले ती प्रदेशमा सभामुखको दाबी गर्दै आएको छ। शुक्रबार यिनै विषय केन्द्रित छलफल भए पनि शीर्ष कार्यदलले नेताहरूको निर्देशन सार्वजनिक गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.