|

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहको पढाइ हुने सबै क्याम्पसमा यसै वर्षदेखि सेमेस्टर प्रणाली सुरु भएको छ। केन्द्रीय विभागहरूबाट सुरु गरिएको सेमेस्टर प्रणालीअनुसार नै अहिले आंगिक क्याम्पसमा भर्ना लिन थालिएको छ।

त्रिवि पदाधिकारीहरूले जिल्ला–जिल्लामा अभिमुखीकरणसमेत गर्दै आएका छन्। झापामा खुलेको कृषि क्याम्पससहित त्रिविमा अहिले ६० वटा आंगिक क्याम्पस छन्। ३९ वटा केन्द्रीय विभागमा ०७१ देखि नै सेमेस्टर प्रणाली सुरु भइसकेको छ।

उपकुलपति प्राडा तीर्थराज खनियाँले अब त्रिविका स्नातकोत्तर तह पढाइ हुने कुनै पनि क्याम्पसमा वार्षिक विषय प्रणाली नरहेको बताए। प्राविधिक विषयमा पहिलेदेखि सेमेस्टर प्रणाली भए पनि धेरै विद्यार्थीको चाप हुने व्यवस्थापन, शिक्षाशास्त्र र मानविकी संकायका सबै विषयमा देशभरका क्याम्पसमा पहिलोपटक सेमेस्टर सुरु भएको उनको भनाइ छ। कानुन संकायमा स्नातकोत्तरमा सेमेस्टर सुरु भइसकेको छ।

अहिलेसम्म त्रिविमा केन्द्रीय विभाग र उपत्यकाका क्याम्पसहरूमा सबै विषयमा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू भएको छ। त्रिविमा सेमेस्टर प्रणालीको परीक्षा सञ्चालन र नतिजा सार्वजनिकको काम डिन कार्यालयहरूबाट हुँदै आएको छ। तर, पर्याप्त पूर्वाधार विकास नहुँदा समयमै परीक्षा र नतिजा सार्वजनिक गर्न सकेको छैन। देशभरमा सेमेस्टर प्रणाली लागू भएपछि कसरी समयमै सेमेस्टरको चक्र पूरा गर्ने भन्नेमा प्राध्यापकहरू चिन्तित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.