|

काठमाडौं : मुख्यमन्त्रीका आकांक्षी नेताहरू संसदीय दलको नेता बन्ने दौडमा लागेका छन्। सातमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्ने सम्भावना छ। संसदीय दलको बैठकमार्फत दलको नेता चुनिने भएकाले मुख्यमन्त्रीका आकांक्षीहरू सम्बन्धित प्रदेशमै सक्रिय हुन थालेका छन्।

एमालेबाट मुख्यमन्त्रीका आकांक्षी अधिकांश नेता प्रदेश सभा संसदीय दलको नेताका लागि निर्वाचनमा भिड्ने तयारीमा छन्। संविधानमा प्रदेश सभामा बहुमत प्राप्त पार्टीको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्ने व्यवस्था छ।

यी हुन् मुख्यमन्त्रीका आकांक्षी
प्रदेश १ मा एमाले सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्यमन्त्रीका मुख्य दाबेदार हुन्। आचार्य पार्टीको प्रदेश संयोजक र राई सहसंयोजक हुन्। यीबाहेक पार्टी केन्द्रीय सदस्य तथा अखिलका पूर्वअध्यक्षहरू हिक्मत कार्की र राजेन्द्र राई चर्चामा रहे पनि उनीहरूको दाबी सशक्त छैन।

प्रदेश २ मा संघीय समाजवादी फोरमका विजय यादव, लालबाबु रावत र शैलेन्द्र साह, राजपाबाट जितेन्द्र सोनल र मनीष सुमन दाबेदार छन्।

प्रदेश ३ मा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्य पशुपति चौलागाईं र राजेन्द्रप्रसाद पाण्डे मुख्य दाबेदार छन्। वैकल्पिक पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठ तथा काठमाडौं महानगरका पूर्वमेयर केशव स्थापित पनि आकांक्षी छन्।

प्रदेश ४ मा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी समिति सदस्य किरण गुरुङ दाबेदार छन्।

प्रदेश ५ मा एमाले स्थायी समिति सदस्य शंकर पोखरेल मुख्यमन्त्रीको एक मात्र दाबेदारका रूपमा प्रदेश सभा संसदीय दलको नेतासमेत चयन भइसकेका छन्।

प्रदेश ६ मा माओवादीका पोलिटब्युरो सदस्यद्वय महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी छन्।

प्रदेश नम्बर ७ मा माओवादी नेताद्वय वीरमान चौधरी र झपट बोहरा आकांक्षी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.