|

काठमाडौं : नेपालका प्रमुख दुई कम्युनिष्ट घटक नेकपा एमाले र नेकपा मा‌ओवादी केन्द्रले सोमबार मध्यराति पार्टी एकीकरणको घोषणा गरे। पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' राख्ने सहमति सहितको ७ बुँदे सहमति गर्दै नेताहरुले संयुक्त हस्ताक्षरसमेत गरे। 

तर, निर्वाचन आयोगमा भने 'नेपाल कम्युनिष्ट पार्टी' नामको पार्टी पहिले नै दर्ता भएको छ। दोस्रो संविधानसभाको निर्वाचन ०७० मा सहभागी हुँदा 'नेपाल कम्युनिष्ट पार्टी' नामक पार्टी निर्वाचन आयोगमा दर्ता गरिएको थियो। उक्त पार्टीको अध्यक्ष ऋषि कट्टेल हुन्। नेकपाका अध्यक्ष कट्टेलका अनुसार मुलुकका ५१ जिल्लामा यसको संगठन विस्तार छ। तर, सत्तामा रहेका ठालु नेताहरुका कारण पछिल्ला निर्वाचनमा सहभागी हुन नपाएको नेकपाका अध्यक्ष कट्टेल बताउँछन्। 

अध्यक्षात्मक प्रणालीमा सञ्चालन भएको नेकपाको पदाधिकारी, पोलिटब्युरो तथा ३७ सदस्यीय केन्द्रीय समिति छ। विधानमा सरकारी संरचनाअनुसार कमिटी बनाउने उल्लेख भएकाले राज्यको पुनर्संचनासँगै प्रदेश तथा जिल्लास्तरको कमिटी पनि सञ्चालनमा रहेको बताइएको छ।

'हामी निर्वाचन आयोगमा दर्ता भएर २०७० सालको संविधानसभाको निर्वाचनमा चुनाव लड्यौँ-अध्यक्ष कट्टेल भन्छन्, गएको चुनावमा भने संसद्‍मा नभएका पार्टी भनेर हामीलाई चुनाव चिह्‍न दिइएन।'

सोमबार एमाले र माओवादीको एकता हुने खबर आफूले पनि सुनेको र पार्टीको नाम 'नेपाल कम्युनिष्ट पार्टी' नै राख्ने कुरा सुन्नमा आए पनि त्यसबारे भने सडकमा सुनेका भरमा आफूले प्रतिक्रिया नदिएर कानुनी रूपमै जवाफ दिने नेकपाका अध्यक्ष ऋषि कट्टेल बताउँछन्। 'हामी निर्वाचन आयोगमा विधिवत रूपमा दर्ता भएको पार्टी हौँ। अहिले उनीहरूले सडकमा  नेपाल कम्युनिष्ट पार्टी बनाउने भन्ने कुरा सुनेको छु-नेता कट्टेलले भने, त्यो उनीहरूले सडकमा मात्रै गर्ने हो। उनीहरू संविधान, कानुन मान्ने हो भने निर्वाचन आयोगमा आउनैपर्छ।'

पार्टीको नाम के राख्ने ? भन्ने उनीहरूको अधिकारको कुरा भए पनि कानुनी रूपमा आउँदा भने फरक हुने उनी बताउँछन्। 'उनीहरूले बनाउने उनीहरूको अधिकारको कुरा हो । कानुनी रूपमा आएपछि कुरा गरौँला,उनी भन्छन्, सडकमा आएको हल्लाको भरमा  नबोल्दा नै राम्रो।'

निर्वाचन आयोगमा आएपछि 'नेपाल कम्युनिष्ट पार्टी' नामको पार्टी आयोगले दर्ता गर्न नमिल्ने अध्यक्ष कट्टेल बताउँछन्। भन्छन्, 'उनीहररू आयोगमा आउनैपर्छ। आयोगले त्यो पार्टी दर्ता गर्नै सक्दैन। सडकमा कसले के भन्छ भनेर त्यसको पछि लागेर त काम छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.