|

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २ कम्युनिस्ट पार्टीको एकताले विपक्षीमा तरंग उत्पन्न भएको बताएका छन्। रामराज रेग्मीद्वारा लिखित ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’ किताबको शुक्रबार काठमाडौंमा विमोचन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतालाई भत्काउने खेलमा अझै पनि विपक्षी शक्ति लागिपरेको आरोप पनि लगाए।

उनले भने, ‘पार्टी एकताका लागि प्रारम्भिक आधारमा हस्ताक्षर गरेपछि विपक्षीमा तरंग आएको छ। राजा महाराजालाई सबैथोक ठान्नेहरू अहिले हामीभित्रका असन्तुष्टलाई खोज्दै छन्।’ उनले एमाले र माओवादीमा पनि केही असन्तुष्ट रहेको भन्दै उनीहरूलाई सचेत रहन आग्रह गरे। उनले भने, ‘कमजोरीलाई हेरेर उनीहरू भत्काउनतर्फ लागिरहेका छन्। त्यसैले सचेत हुन जरुरी छ।’ जनतालाई सर्वभौम ठान्न कम्युनिस्ट पार्टीका कार्यकर्तालाई विपक्षीबाट सचेत रहन उनले आग्रह गरेका हुन्।

उनले विपक्षीहरूले पार्टी भत्काउन जुनसुकै सीमा नाघ्न सक्ने बताए। उनले भने, ‘राजा महाराजालाई महान ठान्नेहरूले जुनसुकै सीमामा गएर पनि आक्रमण गर्न सक्छन्। जनताबाट हारेपछि जहाँबाट पनि प्रहार गर्न सक्छन्। त्यसमा आफू कुन कित्तामा उभिने भनेर निर्णय गर्न सक्नुपर्छ।’ देशमा अहिले सम्भावना र चुनौती दुवै रहेको भन्दै सचेत भएर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो।

‘देशमा अहिले अवसर र चुनौती दुवै छ। अहिले हामी ऐतिहासिक अवसरमा छौँ। यसलाई सदुपयोग गर्न सक्यो भने देशमा समृद्धि सहजै आउँछ। त्यसका लागि हामीले मिहिनेत गर्नुपर्छ’, प्रचण्डले भने, ‘यदि ऐतिहासिक अवसरलाई लापरवाही गर्‍यौँ भने हामी ठूलो दुर्घटनामा फस्छौँ।’ उनले देश समृद्धितर्फ गएपछि प्रतिक्रियावादीहरूले केही घटना घटाउने बताए। उनले भने, ‘अब हामी समृद्धितर्फ अघि बढ्छौँ। त्यसबेला प्रतिक्रियावादीले जे पनि गर्छन्। यस्तै भएर कमरेड मदन भण्डारीको हत्या भएको थियो। दरबार हत्याकाण्ड भएको थियो।’

उनले नेपालमा नयाँ विमर्श सुरु भएको बताए। उनले भने, ‘२ धारमा रहेर आफ्नो ठाउँबाट संघर्षरत यी २ पार्टी एकता भएपछि नयाँ आन्दोलन र विमर्शको सुरु हुनेछ।’ प्रचण्डले २ पार्टी मिलेर इतिहासमै पहिलो पटक ठूलो शक्ति बन्न लागेको दाबी पनि गरे। उनले भने, ‘अब देशमा ७ देखि ८ लाख सदस्य रहेको इतिहासकै ठूलो पार्टी बन्दै छ। जनताले यसलाई अनुमोदन गरिसकेका छन्। जनताले त यस्तो शक्ति पहिला नै चाहेका हुन् तर नेतृत्वको परिस्थिति अर्कै थियो।’

उनले कम्युनिस्ट नेताहरूमा आग्रह, पूर्वाग्रह र संकीर्णता भने रहेको बताए। ‘कम्युनिस्ट नेतामा आग्रह, पूर्वाग्रह त छ तर जनताले अनुमोदन गरेका छन्। त्यसैले हामी अब अघि बढ्नुको विकल्प छैन’, उनले भने। प्रचण्डले पार्टी एकतापछिको राजनीतिक तथा सांगठनिक आधार तयार पार्न कार्यदल बनेको र यसले छिट्टै टुंगोमा पुर्‍याउने बताए। 

उनले अब आफूहरूसँग पछि फर्कने कुनै बाटो नरहेको बताए। ‘अब पछि फर्कने कुनै बाटो छैन। जनताले हामीलाई अघि बढ्न भनिकसकेका छन्। हामी पुल भत्काएर अघि बढिसकेका छौँ’, उनले भने, ‘मेरो स्वभाव नै पछाडि नफर्कने खालको छ। पहिला जनयुद्ध सुरु गर्दा पनि पुल भत्काएरै अघि बढेँ अहिले पनि पुल भत्काएर अघि बढेको छु।’

‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’भित्र के छ?

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रेग्मीद्वारा लिखित पुस्तक ‘नेपालको इतिहास एक मार्क्सवादी दृष्टिकोण’भित्र नेपाली राजनीतिको इतिहास रहेको लेखक रेग्मीले बताए। उनले जनताका पक्षबाट कहिले इतिहास नलेखिएकाले आफूले जनताका पक्षमा लेख्ने प्रयास गरेको बताए। उनले भने, ‘इतिहास अहिलेसम्म राजा महाराजाबारे मात्र लेखिए। जनताका लेखिएनन्। त्यसैले मैले यस पुस्तकमार्फत जनताको इतिहास लेख्ने प्रयास गरेको छु।’

आफूले समाजमा जे छ, त्यही लेख्ने प्रयास गरेको उनले बताए। उनले भने, ‘हामी नेपालीको इतिहास विदेशीले लेख्ने गरेका छन्। नेपालीले अहिलेसम्म इतिहास लेखेका छैनन्। त्यसैले मैले समाजमा जे छ, त्यही लेख्ने प्रयास गरेँ।’ पुस्तकमा शासकले शासन गर्दा नेपालमा श्रम विभाजन, महिलाको अवस्था तथा शक्ति कसको नियत्रणमा थियो भन्नेबारे समेटिएको बताए।

उनले भने, ‘वर्तामानको बारेमा समीक्षा गर्ने हो भने इतिहासको अध्ययन गर्न जरुरी छ। नेपालको इतिहास व्यक्तिकेन्द्रित र एउटा समान्तवादीमा मात्र रह्यो। नेपालमा एउटा इतिहास लेख्न खाँचो छ भन्ने लागेर यो पुस्तक लेखेँ।’

प्रचण्डले पढ्नै भ्याएनन्

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यो पुस्तक १५ दिनअघि नै आफूले पाएको बताए। तर आफूले शीर्षक र उपशीर्षकबाहेक अन्य केही पनि पढ्न नभ्याएको बताए। उनले भने, ‘रामराजजीले लेख्नुभएको पुस्तकमा नेपाली समाजको चित्रण छ। तर मैले शीर्षक र उपशीर्षकभन्दा अरू पढ्न भ्याएको छैन।’ उनले अहिलेको राजनीतिक समीक्षा गर्न इतिहासबारे जान्नुपर्ने भए पनि अहिलेको राजनीतिक परिस्थितिले पढ्न नभ्याएको सुनाए। ‘वर्तमानको समीक्षा गर्न इतिहास जान्नुपर्छ तर कहिलेकाहीँ नेताहरूले चाहिँ इतिहास बनाउँदा बनाउँदै इतिहास पढ्नै भ्याइँदैन रहेछ’, उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.