|

काठमाडौं : भूकम्पका कारण क्षति भएका दशरथ रंगशालाका भौतिक संरचना चीनले पुनर्निर्माण गरिदिने भएको छ। आठौं सागका लागि सन् १९९८ मा आफूले निर्माण गरिदिएका रंगशालाका क्षतिग्रस्त संरचना पुनर्निर्माण गरिदिन चीन तयार भएको हो। यसबारे सरकारसँग सम्झौता भइसकेको छ।

अहिले चिनियाँ टोली विगतमा आफूले निर्माण गरेका काठमाडौंका संरचनाको अवलोकन गरिरहेको छ। चीनले दशरथ रंगशालामा फ्रड लाइट, एथलेटिक ट्रयाक, स्कोर बोर्ड (पूरै नयाँ), दशरथ स्टेडियमको साउन्ड सिस्टम बनाइदिनेछ । ललितपुरको सातदोबाटोस्थित स्विमिङ पुल मर्मत, सुटिङ रेन्च सिस्टम पनि पूरै परिवर्तन गर्दैछ । काठमाडौंको लैनचौरस्थित कबर्डहलको साउण्ड सिस्टम परिवर्तनलगायत संरचना पुनर्निर्माण गर्ने चीनले जनाएको छ।

पुनर्निर्माण प्रक्रिया अहिले अध्ययनमै रहेकाले यकिन खर्च टुंगो लागेको छैन । यद्यपि, करिब १ अर्ब २० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का वरिष्ठ इन्जिनियर अरुण उपाध्यायले बताए ।

निर्माण सामग्रीमा कर छुट
पुनर्निर्माणका लागि लाग्ने सम्पूर्ण खर्च चीनले नै व्यहोर्नेछ । तर, निर्माणमा आवश्यक सामान चीनबाट आयात गर्दा लाग्ने कर भने नेपाल सरकारले छुट दिने सम्झौता भएको छ । संरचना निर्माणका लागि आवश्यक दक्ष जनशक्ति, कन्सल्ट्यान्ट तथा टेण्डर पनि आफैँले गर्ने गरी सम्झौता भएको छ ।

लगानीकर्ताको इच्छा, सरकारसँगै सम्झौता
नेपाली खेल क्षेत्रमा प्राविधिक सहयोग (रोफ्री, कोर्स, कोचिङ, प्रशिक्षण) का लागि अन्य देशसँग राखेपले सम्झौता गरेको भए पनि भौतिक संरचना निर्माण तथा पुनर्निर्माणमा भने विदेशी लगानीकर्ता सरकारसँगै सम्झौता गर्न इच्छुक हुने गरेका छन्। राखेपका सदस्यसचिव केशवकुमार विष्टले भने, ‘हामीले विभिन्न देशमा भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न आग्रह गरेका छौँ । तर, उनीहरू सिधै सरकारसँगै सम्झौता गर्न इच्छुक देखिन्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.