|

काठमाडौं : पत्रकारिता क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका ३ महिला पत्रकार पुरस्कृत भएका छन्। १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौं शाखाले पत्रकार महिला पत्रकारहरूको भेला आयोजना गरी महिला खबर डटकमकी सम्पादन लोग्सरी कुँवर, अपांगता भएका पत्रकार महिला गण्डकी एफएममा कार्यरत प्रविना गोले र नेवा एफएममा कार्यक्रम अनिता महर्जनलाई पुरस्कृत गरेको हो।

सुदूरपश्चिम क्षेत्रबाट विगत १२ वर्षदेखि 'मर्निङ बेल' दैनिक पत्रिका प्रकाशन गर्ने पहिलो महिलाका रूपमा कुँवरलाई पुरस्कृत गरेको हो। कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले कदरपत्र, दोसल्ला र पाँच हजार नगदसहित पत्रकार महिलाहरूलाई पुरस्कृत गरिन्।

सोही अवसरमा राष्ट्रिय सूचना आयोगबाट प्रकाशित नेपाल भाषाको मिसापिनि सुविधासम्बन्धी सुचंः (महिलाका सुविधासम्बन्धी सूचना) पुस्तिका पनि विमोचन गरिएको फोनिज काठमाडौंकी अध्यक्ष मीरा राजभण्डारीले जानकारी दिइन्।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का संगठन सचिव मनोज घर्तीमगर, प्रेस युनियनका महिला उपाध्यक्ष वाला अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव देविका घर्तीमगर, फोनिजका केन्द्रीय सदस्य दिपा आले मगर, क्रियाशील पत्रकार महिलाका अध्यक्ष अमिका राजथलालगायतले पत्रकार महिलाको क्षमता थप विकासका लागि सञ्चार सम्बद्ध निकायले विशेष ध्यान दिनुपर्ने बताएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.