संविधान संशोधनमा सहमति

|

काठमाडौं : वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच बिहीबार बिहान बसेको बैठक मन्त्रालयको भागबण्डा नमिलेपछि निष्कर्षविहीन बन्न पुग्यो।

प्रतिनिधिसभामा १६ सिट भएको फोरमले चार मन्त्रालय माग्दै आएको थियो। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकको सुरुमै चार मन्त्रालय दाबी गरेपछि थप छलफल हुन सकेन। सरकारको नेतृतव गरिरहेको एमाले तथा सत्ताधारी दल माओवादीले फोरमको माग पूरा गर्न नसकिने संकेत गरेको बैठकमा सहभागी एक नेताले बताए।

वाम गठबन्धन फोरमलाई सरकारमा सहभागी गराएरै जाने कसरतमा छ। तर संविधान संशोधनका विषयमा मूख्य रुपमा सहमति तयार गरी जानसक्ने विषयमा नेताहरू सहमत भएका छन्। यसअघि संविधान संशोधन हुन नसक्ने अडान राख्दै आएको एमालेले आवश्कयता र ओचित्यका आधारमा संविधान संशोधन गर्न तयार रहेको भन्दै लचकता देखाएपछि यो विषयमा सहमति जुटेको हो। वाम गठबन्धनको अर्को दल माओवादी भने यसअघि नै संविधान संशोधनको पक्षमा थियो। संविधान जारी भएदेखी नै संशोधनको माग गर्दै आएको फोरमको माग सम्बोधन हुने भएपनि मन्त्रालयको विषयमा भने सहमति हुन सकेन।

फोरम नेताका अनुसार आफूहरू तीन मन्त्रालयसम्म पाए फोरम सरकारमा जाने मनस्थितिमा रहेको अवस्थामा वाम गठबन्धनका नेताहरू भने दुई मन्त्रालय र एक राज्यमन्त्री मात्रै दिन सकिने बताउँदै आएका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै फोरम नेता राजेन्द्र श्रेष्ठले आ-आफ्नो पार्टीभित्र थप छलफल गर्नुपर्ने भएको जानकारी दिए। उनले छलफल भइरहेको र सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए। 'छलफल भइरहेको छ। हामी सकारात्मक छौँ', उनले भने, 'पार्टीभित्र आन्तरिक छलफल गर्नुपर्ने भएकाले आजका लागि सकिएको छ। हामी सरकारमा सहभागी हुन केही समय लाग्छ।'

संविधान संशोधनका सन्दर्भमा संयन्त्र निर्माण गरेर जाने बताउँदै श्रेष्ठले भने, 'कतिपय राजनीतिक विषयमा आन्तरिक गृहकार्य गरेर जानुपर्ने छ। संयन्त्र निर्माण गरेर जानेछौँ।'

फोरमले संविधान संशोधन, विगतका सम्झौता कार्यान्वय लगायतका विषयमा एमाले माओवादी कार्यान्वयन गर्न तयार भएपनि मन्त्रालयको भागबण्डा नमिल्दा सरकारमा सहभागी गराउने प्रयास सफल हुन सकेको छैन।

यो ढिलाइले प्रधानमन्त्री चयन भएको करिब दुई हप्ता बितिसक्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

बिहीबार भएको दुईपक्षीय बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री एवं अध्यक्ष ओली, नेताहरू ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली थिए भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादलले सहभागिता जनाएका थिए। फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ र रामसहाय यादवको सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.