|

दार्चुला : राजनीतिक दलहरूका प्रत्येक ठूला सभाहरू सञ्‍चालन हुने गर्छन्, दार्चुलाको गोकुलेश्वर विमानस्थलको धावन मार्गमा। धावन मार्गको एक कुनामा सजाइराखेको मञ्चमा उभिएर भाषण गर्ने हरेक नेताले 'यो विमानस्थल मेरै पालामा सञ्‍चालन गर्छु' भन्छन्, कार्यकर्ताहरू पररर ताली बजाउँछन्। लाग्छ, त्यो क्षण विमानस्थल सञ्‍चालन भयो।

२०४९ देखि २०७४ सालसम्म दार्चुलाबाट जितेर जाने र हार्ने कुनै पनि नेताले गोकुलेश्वर विमानस्थल सञ्‍चालन हुँदैन भनेका छैनन्, जसरी पनि सञ्‍चालनमा ल्याउने प्रतिबद्धता गरेका छन्। र, जनलाई आफूलाई भोट हालेर जिताउन आग्रह गर्छन्। तर, विडम्बना, छिमेकी जिल्ला बैतडीको पाटनमा रहेको विमानस्थल कालोपत्रे हुँदा दार्चुलाको गोकुलेश्वरमा रहेको विमानस्थल भने गाईवस्तु चर्ने मैदान भएको छ। विमानस्थलको छेउछाउ स्थानीयले निर्माण सामग्री राख्ने ठाउँ भएको छ।विमानस्थलको सुरक्षाका लागि करिब २७ वर्षदेखि खटिएका कार्यालय सहयोगी रामदत्त विष्ट यी सबै कुरा टुलुटुलु हेरेर दिन काट्छन्।

बहुदलीय व्यवस्थाको पुनर्वहालीसँगै सम्पन्न आमनिर्वाचनमा दार्चुलाबाट नेपाली कांग्रेसबाट निर्वाचित दिलेन्द्रप्रसाद बडू पटकपटक सांसद मात्रै बनेनन्। उनी मन्त्री पदमा समेत पुगे। तर, विमानस्थल सञ्‍चालनमा ल्याउने उनको प्रतिबद्धता कहिल्यै पूरा भएन। मध्यावधि निर्वाचनमा अनपेक्षित नतिजा ल्याई चकित पारेका प्रेमसिंह धामीले पनि यो विमानस्थल सञ्‍चालनमा ल्याउने भाषण गरे, अर्को आम निर्वाचनमा पुनः जिल्लाको समग्र विकाससँगै विमानस्थलको सञ्‍चालनको भाषण गरेका दिलेन्द्रप्रसाद बडूले निर्वाचन जिते। विमानस्थल सञ्चालनमा ल्याउने भाषण गरेर जितेका थिए उनले तर, विमानस्थलको अवस्‍था आज पनि उस्तै छ। वर्तमान प्रतिनिधिसभामा समानुपातिक तर्फबाट सांसद बनेका उनले यसपालीको चुनावमा पनि सोही प्रतिवद्धता भाषणमार्फत जनाए जुन २०औँ वर्ष पहिले जनाएका थिए।

देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापनासँगै पहिलो संविधानसभा निर्वाचनमा तत्कालीन नेकपा माओवादीका तर्फबाट लक्ष्मणदत्त जोशीले पनि विमानस्थलमै आयोजना गरिएको आमसभामा विमानस्थल सञ्‍चालन गर्ने भाषण गरे, धेरैले विश्वास गरे। देश नयाँ राजनीतिक प्रणालीमा जान लागेकाले अब त विमानस्थल सञ्‍चालन हुन्छ र जिल्लाको पर्यटन, व्यापार र भौतिक निर्माणको क्षेत्रमा परिवर्तन हुन्छ भन्ने आशा थियो तर विमानस्थल सञ्‍चालनमा आएन। उनले विमानस्थल सञ्चालनका लागि के गरे कसैलाई थाहा भएन। किनकी, विमानस्थलमा विमान अवतरण र उडेको कसैले देखेनन्।

तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री लोकेन्द्र विष्टले ट्विनअटर अवतरण नै गराएर विमानस्थल सञ्‍चालनमा ल्याउने वाचा गरे। एक टोली अध्ययनका लागि आयो। त्यसले के काम गरेको छ र विमानस्थल सञ्चालन हुन्छ वा हुँदैन केही बताएन। उक्त टोली के गरिरहेको छ भन्ने केही खबर पनि आएन। समग्रमा, दार्चुलाबासीका लागि विमानस्थल सञ्चालन हुने सुखद् समाचार आएन।

दोस्रो संविधानसभा र पछिल्लोपटक भएको प्रतिनिधिसभाको चुनावमा जीत हासिल गरेर सिंहदरबार पुगे एमालेका केन्द्रीय सदस्य गणेशसिंह ठगुन्ना। संविधानसभाको २०७० को चुनावमा विमानस्थल सञ्चालन गर्ने बाचा गरेका उनले प्रतिनिधिसभा सदस्यमा जिताउन भोट माग्नेबेला पनि सोही प्रतिवद्धता दोहोर्‍याए। चार वर्षे कार्यकालमा उनले गोकुलेश्वर विमानस्थललाई सञ्चानलमा ल्याउन पहल गरेनन् वा प्रतिवद्धता बिर्से। उनको पालमा पनि विमान आएन। आयो त ठगुन्नाको उहीँ पुरानो प्रतविद्धता। गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्यका लागि भोट माग्दा पनि त्यस्तै प्रतिवद्धता दोहोर्‍याए र जनताले फेरि चुनेर पठाएका छन्। 

प्रदेश ७ का सांसद माओवादीका मानबहादुर धामीले पनि विमानस्थल सञ्‍चालनमा ल्याउनु आफ्नो पहिलो प्राथमिकतमा रहेको बताउँदै आएका छन्।

यसरी विमानस्थल सञ्चालन गर्छौँ भन्ने नेताका लागि यो भोट माग्ने आधार मात्रै बनेको छ। हरेक नेता विमानस्थल सञ्चलनमा ल्याउने कुरा चुनावका बेला ठूलोठूलो स्वरमा भाषण गर्छन् तर जितेर गएपछि वा हारेपछि भने उक्त दायित्व बिर्सन्छन्।

यस्तो छ विमानस्थलको राम कहानी 

तत्कालीन बोहरी गाउँको देवथलीमा प्रस्ताव गरिएको विमानस्थल निर्माण गर्न स्थानीयले स्वीकृति नदिएपछि चमेलिया नदी किनारमा रहेको गोकुलेश्वरमा २०४४/०४५ सालतिर विमानस्थल निर्माणको काम सुरु भयो। २०४६ सालदेखि संचालनमा आयो। रातीसमेत हवाई टिकट काट्नुपर्ने गोकुलेश्वर विमानस्थल २०५० सालदेखि भने पूर्ण रूपमा बन्द रहेको छ।

‘तत्कालीन शाखा अधिकृत सुधीरकुमार ठाकुर सरुवा भई गएपछि विमानस्थल बन्द भयो’, कार्यालय सहयोगी रामदत्त विष्टले भने। कार्यालय सहयोगीका रूपमा खटिएका विष्ट  २०६० सालदेखि आफ्नै भरमा छोडिएको बताउँछन्। ‘न जीर्ण भएका भवनहरूको मर्मत सम्भारका लागि उड्डयन मन्त्रालयले चासो लिएको छ, न विमानस्थलको घरपर्खाल नै सुरक्षित बनाउन सकिएको छ, न त चिठीपत्र नै’, करिब २७ वर्षदेखि कार्यरत रामदत्त विष्टको भनाइ छ।

रातीराती टिकट काटिन्थ्यो

त्यतिबेला शाही नेपाल वायु सेवा निगम (आरएनएसी)को ट्विनअटर विमानले साप्ताहिक महेन्द्रनगर हुँदै नेपालगन्जको उडान भर्थ्यो। ‘सामान्य अवस्थामा कहिल्यै टिकट नपाइने हुँदा रातीराती लाइन बसेर टिकट लिनुपर्थ्यो’, गोकुलेश्वरका मानबहादुर भण्डारी भन्छन्। 

आरएनएसीसँग थप विमान नभएकाले मात्रै त्यतिबेला दार्चुलाबाट उडान भर्ने विमान थप गर्न नसकिएको स्मरण गर्दै कार्यालय सहयोगी विष्ट निरन्तर विमान संचालनमा रहेको भए दार्चुलावासीलाई देशका अन्य क्षेत्रसम्म आवागमन गर्न सजिलो हुने बताउँछन्।

२०५० सालमा तत्कालीन शाखा अधिकृत ठाकुरको सरुवा भएपछि कुनै अधिकृत नआएको र उनको सरुवा भएकै दिनदेखि विमान संचालन पनि बन्द भएको बताउँदै कार्यालय सहायक विष्ट २०५५ सालबाट दुई जना नायव सुब्बालाई कर्मचारीको रूपमा खटाइएको स्मरण गर्छन्। नायव सुब्बाहरू गणेश सिंह र भीमदत्त पन्त २०६० सालसम्म कार्यालयमै बसेको तथा द्वन्द्वका कारण उनीहरूले पनि अन्यत्र सरुवा मिलाएको विष्टको भनाइ छ। नायव सुब्बाद्वय सरुवा भई गएपछि अहिलेसम्म कुनै पनि कर्मचारी गोकुलेश्वर विमानस्थलका लागि नखटिएको उनले बताए।

पर्यटन र व्यापारमा घाटा

अपार पर्यटकीय र व्यापारिक सम्भावना बोकेको दार्चुला जिल्लाको पर्यटन प्रवर्धन नहुनुका पछाडि विमानस्थलको संचालन नहुनु पहिलो कारण बनेको छ। प्रदेश राजधानीबाट झण्डै ३४५ किलोमिटर सडक मार्गबाट पुगिने दार्चुला सदरमुकामसम्म पुग्न कष्टप्रद यात्रा गर्नुपर्छ। ‘पर्यटकहरू कष्ट भोग्न आउने होइनन्, उनीहरूलाई काठमाडौं वा पोखराबाट दार्चुला पुर्‍याउन विमानस्थल मात्रै विकल्प हो’, पर्यटन पत्रकार संघ दार्चुलाका सचिव सन्तोष कोट्टारी बताउँछन्।

विमानस्थल संचालनमा आउँदा पर्यटकीय सम्भावना मात्रै बढ्ने छैन, दार्चुला आउनै नमान्ने कर्मचारीहरू पनि सहजै दार्चुला पुग्ने र सेवा दिनेछन्। कष्टप्रद यात्रा देखेर सुविधान सम्पन्न ठाउँमा बसेका कर्मचारीहरू, विकास साझेदार र विज्ञहरूसमेत आउन मान्दैनन्। ‘विमानस्थल सुरु भयो भने यी समस्याहरू समाधान भएर जान्छन्’, जिल्ला वन कार्यालयका सहायक वन अधिकृत अमरसिंह धामीले भने।

विमानस्थल संचालनमा रहेका बेला २४ वर्ष अगाडि पनि टिकटका लागि रातारात कुर्नुपर्ने गरेको स्मरण गर्दै अहिले त दिनमै दुई-दुई विमानले उडान भर्न सक्ने गरी यात्रीहरू हुन सक्ने उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य मंगलसिंह ठगुन्नाको भनाइ छ।

जडिबुटीका व्यापारीसमेत रहेका ठगुन्ना विमानस्थल संचालनमा आए आफूहरूको व्यवसाय पनि थप सुरक्षित भई फस्टाउने आशा गर्छन्।

विमानस्थल संचालनका लागि आवश्यक तयारी सुरु गर्न प्राविधिक टोलीले समेत स्थलगत अध्ययन गरेको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टले जानकारी दिए। शैल्यशिखर नगरपालिका– ९ गोकुलेश्वरमा रहेको विमानस्थल संचालन गर्न विमानस्थलको दक्षिणतिर घरहरू निर्माण गरिएको र चमेलिया नदीमाथि बनेको पुलसमेत बाधक देखाएको बताउँदै प्रशासकीय अधिकृत विष्टले उक्त समस्यालाई समाधान गर्न सकिने अध्ययन टोलीले देखाएको बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.