|

काठमाडौं : फिल्म मंगलम'मा समावेश पर्ख पर्ख मायालु बोलको गीतले युट्युबमा एक करोड भ्युज पाएको छ। युट्युबमा रिलिज भएको ६ महिनामा गीतले एक करोड भ्युज पाएको हो। लोक लयमा तयार भएको गीतमा दिपक शर्माको शब्द तथा संगीत रहेको छ। गीतमा कृष्ण काफ्ले र विन्दु परियारले स्वर दिएका छन्।

गीतले युट्युबमा एक करोड भ्युज पाएको उपलक्ष्यमा निर्माण युनिटले बुधबार राजधानीमा एक सेलिब्रेसन कार्यक्रम समेत आयोजना गरेको थियो। निर्माण युनिटले केक काटेर गीतको एक करोड भ्युज सेलिब्रेसन गर्‍यो।

कविराज गहतराजको नृत्य निर्देशनमा तयार भएको भिडियोमा फिल्मका मुख्य दुई कलाकार पुष्प खड्का र शिल्पा पोखरेलले कम्मर मर्काएका थिए। गीतको भिडियोलाई पनि अधिकांश दर्शकले मन पराएका छन्।

नायिका शिल्पा पोख्रेल प्रस्तुतकर्ता रहेको फिल्मका कार्यकारी निर्माता छविराज ओझा हुन्। नवल नेपाल निर्देशित फिल्ममा शिल्पा र पुष्पका अलावा पृथ्वीराज प्रसाईं, नीर शाह, मिथिला शर्मालगायतको मुख्य भूमिका छ।  

पारिवारिक कथामा निर्माण भएको फिल्ममा दिजेन्द्र शाक्य, साकार ओझा र ओम गुरुङको लगानी रहेको छ। गोविन्द फुँयालको कथा रहेको फिल्मलाई विष्णु घिमिरेले खिचेका हुन्।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.