|

उदयपुर : उदयपुरमा थारू समुदायको मौलिक संस्कृतिमा आधारित घुँगी र सितुवा परिकारले व्यावसायिक रूप लिएको छ। मेला महोत्सवमा मात्र देखिइरहेको घुँगी र सितुवा मौलिक परिकार स्थानीय थारू समुदायको आम्दानीको स्रोत बन्न थालेको छ।

धान खेत, दलदले हिलो, पोखरी तथा सिमसार क्षेत्रमा पाइने एक प्रकारको शंखेकीरा जस्तै हुने घुँगी र सितुवाका परिकार बनाउनका लागि होटल नै खुलेका छन्।गाईघाट बजारमा थारू समुदायका सदस्यले नै खोलेका झुप्रे होटलहरूमा साँझपख सितुवा र घुँगी खानेहरूको भीड बढेको देखिन्छ। 

शिवकुमार चौधरीले त्रियुगा नगरपालिका- १२ गाइघाटमा घुँगी र सितुवाका परिकार बनाएर बेच्न घोङ्गही नामको होटल नै संचालन गरेका छन्। ‘पहिला पहिला थारू समुदायका व्यक्तिले मात्र खाने एक प्रकारको खाना हो याे घुँगी, सितुवा’, सञ्चालक चौधरीले भने, ‘हामीले मेला महोत्सवका बेला घुँगी, सितुवा परिकार प्रदर्शन गर्थ्यौँ, अहिले होटल नै खोलेर ग्राहकलाई खुवाइरहेका छौँ।’

शिवकुमार मात्र होइन, अहिले गाईघाटका विभिन्न थारू समुदायका युवाले घुँगी र सितुवालाई आम्दानीको स्रोत बनाउन थालेका छन्। ‘मैले कुनै बेला एकै दिनमा ४० देखि ५० किलोसम्म बिक्री गरेको छु’, शिवकुमारले भने, ‘घुँगी, सितुवाका परिकार बेचेर मासिक ३० देखि ४० हजारसम्म आम्दानी गर्ने गरेको छु।’

पछिल्लो समय घुँगी खान रुचाउनेमा थारू समुदायका मात्र छैनन्। अन्य समुदायका मानिसले समेत घुँगी र सितुवा खाना थालेका छन्। अहिले थारू समुदायका प्राय:ले पसल खोलेर नै घुँगी र सितुवा परिकार बनाई व्यापार गर्न थालेको त्रियुगा उद्योग वाणिज्य संघ उदयपुरका अध्यक्ष गजेन्द्र भगतले बताए। ‘उद्योग वाणिज्य संघमा दर्ता भएका आधा दर्जन बढी रेष्टुराँ, होटलमा घुँगी सितुवा तथा अन्य थारू समुदायमा प्रचिलत परिकार बिक्री हुने गरेको छ’, अध्यक्ष भगवतले भने, ‘थारू समुदायका बेरोजगार युवाका लागि रोजगारी बनाएको छ साथै थारू परिकारले प्रचार प्रसार पनि पाउन थालेको छ।’

थारू समुदायको नयाँ वर्ष अर्थात् माघीमा चिचरसँग घुँगी खाने चलन भएको छ। घुँगी खानाले शरीरमा हड्डी दुखेकाे समस्या ठीक हुने जनविश्वास छ। घुँगी खाएपछि शरीर दुखेको, मर्केको, भाँचिएको समेत निको हुने गाईघाटका ७० वर्षका गोविप्रसाद चौधरी बताउँछन्। ‘घुँगी र सितुवा खाँदा हामीलाई शरीर दुखेको, शरीरका हड्डी दुख्दा ठीक हुन्छ’, उनले भने, ‘मैले ढाड दुख्दा, हातखुट्टा मर्किंदा घुँगी नै खाएर ठीक पार्ने गरेको छु।’

पोखरी बनाएर घुँगीको भण्डारण  

घुँगी र सितुवा प्राकृतिक रूपमै पाइने एक प्रकारको जीव हो। हिजोआज उदयपुरका घुँगी र सितुवा पाइने क्षेत्र लोप हुँदै गएका छन्। बजारमा घुँगी र सितुवा बनाउनकै लागि होटल खुल्न थालेपछि त्रियुगा नगरपालिका- १२ का शिवकुमार चौधरीले पोखरी बनाएर घुँगीको भण्डारण गरी बेच्न पनि थालेका छन्। ‘साउन, भदौ र असोज महिनामा विशेष गरेर धेरै पाइन्छ’, पोखरीमा घुँगी पालेको देखउँदै शिवकुमारले भने, ‘यहीँ उत्पादन हुने होइन, घुँगी पाउने सिजन भनेको साउन, भदौ र असोज नै हो, त्यही बेला जम्मा गरेर पोखरीमा राख्ने गरेको छु, कतिपय होटलवालाले यही पोखरीबाट लगेर बिक्री गर्ने गरेका पनि छन्।’

घुँगी र सितुवा पाउने मौसममा जम्मा गरेर नपाउने मौसम अर्थात् अफ सिजनमा बढी बिक्री गर्ने गरेको उनको भनाइ छ। ‘मैले पोखरीमा जम्मा गरेको घुँगी प्रति किलो ९० देखि १०० रुपैयाँसम्ममा बेच्ने गरेको छु’, उनले भने, ‘पछिल्लो समय घुँगीको माग र व्यापार फस्टाउँदै गएको छ।’ पोखरीमा जम्मा गरेको घुँगीलाई पिठो खुवाएर राख्ने गरेको उनको भनाइ छ। घुँगीको तुलनामा सितुवा सहजै पाइने गरेको छ। 

यसरी बनाएर खाइन्छ घुँगी  

घुँगी अर्थात् शंखेकीरा जस्तै देखिने कीरालाई सफा पानीमा २० देखि २४ घण्टा भिजाइन्छ। त्यसपछि पिठो खुवाइन्छ। पानीमा राखेर पिठो खुवाएपछि घुँगीले खाएको माटो बाहिर निकाल्न सजिलो हुन्छ। माटो निकालेपछि चुच्चोपट्टिबाट फुटाइन्छ। त्यसपछि सफा गरेर पकाउनुपर्छ। आवश्यक मात्रामा मसला, अदुवा, लसुन, नुन र खोर्सानीसमेतको घोलमा दुई घन्टासम्म फलामे कराई वा भड्डुमा मजाले पकाएर पछि घुँगी खानयोग्य हुन्छ। यसरी बनाएको घुँगी मुखमा राखी सुरुपसुरुप पार्दै चुस्न सकिन्छ। घुँगीको मासुमा प्रशस्त प्रोटिनको मात्रा हुन्छ। 

उदयपुरको भित्री मधेसमा पर्ने गाईघाट, कटारी, रामपुर, बेल्टारलगायतका क्षेत्रमा थारू समुदायको बसोवास रहेको छ। बेलका नगरपालिकाकी उपप्रमुख राजकुमारी चौधरीले थारू समुदायका संस्कृति, संस्कार, मौलिक खानाका परिकार लोप हुँदै गएको बेला घुँगी र सितुवाको परिकार बनाइने होटल खुल्नु सुखद भएको बताइन्। ‘पूर्वी नेपालमा पर्ने उदयपुराको भित्री मधेस, सिरहा, सप्तरी, सुनसरी हुँदै झापासम्म थारू समुदायको बसोवास छ’, चौधरीले भनिन्, ‘घुँगी र सितुवा पाइने होटल उदयपुरमा मात्र होलान्, खासै अन्य ठाउँमा देखेको छैन।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.