|

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सोमबार दुर्घटनाग्रस्त यूएस बंगलाको विमानबाट नेपाल फर्किने बंगलादेशमा एमबिबिएस अध्ययनरत १३ जना नेपाली विद्यार्थीमध्मे एक हुन् अछाम मंगलसेनकी प्रिन्सी धामी।

प्रिन्सीले काठमाडौं बसुन्धारा बस्दै आएका परिवारलाई एक दिनअघि मात्र आफू नेपाल आउँदै गरेको खबर गरेकी थिइन्। तर, उनी चढेको विमान दुर्घटनामा पर्‍यो। दुर्घटनामा उनी गम्भीर घाइते भइन्। उनको अहिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको आइसीयु ५०५ नम्बर बेडमा उपचार भइरहेकाे छ। तर, उनी खतरामुक्त नरहेको अस्पताले जनाएको छ।

वैदेशिक राेजगारीका क्रममा युएईको दुबईमा रहँदै अाएका प्रिन्सीका बुबा आमा मंगलबार बिहान ९:३० बजे मात्र अस्पताल पुगेका छन्। छाेरीको यस्तो अवस्था थाहा पाएपछि प्रिन्सीकी अामा रुँदै थिइन् भने बुबा मनोज श्रीमतीलाई सम्झाउने प्रयास गर्दै थिए। मनोज भने दुबई पुलिसमा कार्यरत छन्। सन्तानका नाममा उनीहरूकी एक मात्र छोरी थिइन् प्रिन्सी। अछाममा जन्मिएकी प्रिन्सी स्कुलदेखि नै पढाइमा अब्बल थिइन्।

काठमाडौंको जमलमा रहेको भानुभक्त मेमेरियल स्कुलबाट एसएलसीमा डिस्टिङसन श्रेणीमा उत्तीर्ण प्रिन्सीले लैनचौरको निस्ट कलेजबाट विज्ञानमा ७४ प्रतिशत ल्याई उच्च मावि तह पास गरेकी थिइन्।

बंगलादेशको राजीव रवेया मेडिकल कलेजबाट एमबिबिएस अन्तिम वर्षको परीक्षा सकेर घर बिदाका लागि धामीलगायत १३ जना विद्यार्थी र अन्य यात्रु र चालक दल गरी ७१ जना सवार विमानमा साेमबार नेपाल अाएको थियो। 

घाइतेको अवस्थाबारे रिपाेर्टिङमा अस्पताल पुग्दा प्रिन्सीका आफन्तहरू अस्पतालको पाँचौँ तलामा रहेको आइसियुको गेटमा आँखाभरि टिलपिल आँसु र मलिन मुहार लिएर भगवानसँग स्वास्थ्यको कामना गरेर प्रार्थना गर्दै थिए। 'हामीले भेट्न पाएका छैनौँ, भगवानले साथ दिन्छन्।' प्रिन्सीका ठूली आमा बिन्दा धामीले भनिन्, 'उनी मिहिनेती छन्, मिलनसार छन् मायालु पनि।'

सोमबार यूएस बंगलाको विमान बंगलादेशको ढाका विमानस्थलबाट दिउँसो साढे १२ बजे काठमाडौंका लागि उडेको थियो। विमानका चालक थिइन् पृथुला रसिद। उनी पहिलो पटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्दै थिइन्।

उसो त सोमबारको काठमाडौंको मौसम पनि त्यति सफा थिएन। बादल लागेको थियो तर उडान र अवतरणका लागि खतरा भने थिएन। विमान नेपाल पुग्दा दिउँसोको २ बजिसकेको थियो।

विमानले अवतरण गर्दा सामान्यभन्दा बढी समय लगायो। जसोतसो अवतरण भए पनि विमान सन्तुलन गुमाउँदै धावनमार्गको पूर्वतर्फ दुर्घटनाग्रस्त भयो। दुर्घटनामा परी ११ जना एमबिबिएसका विद्यार्थीसहित ४९ जनाले ज्यान गुमाइसकेका छन्। २२ जना यात्रुको राजधानीका विभिन्न अस्पतालमा उपचार हुँदै छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • स्टोरी राम्रो लाग्यो ।