राजविराज : सप्तरीकी एक महिलाको परिवार नियोजनको शल्यत्रिया गर्दा सानो आन्द्रा काटिएको खुलासा भएको छ। राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा परिवार नियोजन गर्दा आन्द्रा काटिएकी सप्तरी विष्णुपुर गाउँपालिका–५ की २८ वर्षीया अनुकुमारी यादव तीन सातादेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेकी छिन्।
परिवार नियोजनको शल्यक्रिया गरेर घर फर्किएपछि खाना खाँदा बान्ता आउने, पेट फुल्ने समस्या देखिएपछि फागुन १२ गते पुनः उनलाई सगरमाथा अस्पताल भर्ना गरियो। तर चिकित्सकले परिवार नियोजनपछि यस्तो समस्या आइरहने भन्दै थप उपचारका लागि प्रतिष्ठानमा ‘रेफर’ गरिदिए। उनलाई फागुन १४ गते धरानस्थित प्रतिष्ठानमा भर्ना गरियो।
प्रतिष्ठानमा अनुको भिडियो एक्स–रे गर्दा आन्द्रा काटिएको पत्ता लागको हो। प्रतिष्ठानका चिकित्सक प्राडा चन्द्रशेखर अग्रवाल नेतृत्वको टोलीले फागुन २२ गते अनुकुमारीको पुनः शल्यक्रिया गरेका छन्। अनुको पेटको ‘ल्याप्रोटोमी’ गरी प्वाल परेको अन्द्रा बाहिर निकालेर ‘आइलियोस्टोमी गरेका कारण उनी हाल खतरामुक्त रहेको चिकित्सकले जनाएका छन्।’
उपचारमा संलग्न प्रतिष्ठानका डा. राकेश गुप्ताले अनुको सानो आन्द्रा काटिएको र पेटभरि दिसा बगेर संक्रमण भइसकेको अवस्थामा पुनः शल्यक्रिया गरिएको हो। उनको परिवार नियोजनको शल्यक्रिया फागुन ११ गते सगरमाथा अस्पतालमा डा. ब्रजेशकुमार झाले गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।