|

कालीकोट : वैकल्पिक ऊर्जा विकास कार्यक्रमका कर्मचारी भन्दै एक जनाले मुगुको कार्मारोङ गाउँपालिकामा भौतिक संरचना निर्माणका लागि सहयोग गर्ने भन्दै लाखौँ रुपैयाँ ठगी गरेका छन्। जुम्ला पातारासी गाउँपालिका- ७ का बिर्ख बुढाले नगरपालिकामा सौर्य पाता र प्लाष्टिक टनेल दिने भन्दै झन्डै १३ लाख रुपैयाँ ठगी गरेका हुन्। 

कार्मारोङ गाउँपालिका ७ र ८ माँग्री तथा महगाउँका ४०० घर परिवारबाट प्रति घर तीन हजार २०० रुपैयाँका दरले १२ लाख ८० हजार रुपैयाँ उठाएर बुढा फरार भएका छन्। बुढाले दुईवटा वडाका हरेक घरमा सोलार, बेमौसमी तरकारीका लागि प्लाष्टिक टनेल तथा चर्पी नबनेका घरधुरीलाई शौचालय बनाइदिने सरकारको निर्णय बताएका थिए।

असोज कार्तिकमा गाउँमा सर्वसाधारणलाई भेला गराई प्रति घर धुरीबाट तीन हजार २०० रुपैयाँका दरले रकम उठएर बुढा सम्पर्कविहीन भएको वडा नम्बर- ८ का वडा अध्यक्ष धोर्पाछिरिङ्ग लामाले बताए। लामाले भने, ‘बुढाले वडाका जनप्रतिनिधिहरूको रोहवरमा भेला गराई रकम उठाएका थिए। विश्वासका आधारमा हामीले रकम उठाएर दियौँ। बुढा न कर्मचारी रहेछन्, न त्यो मान्छे सही रहेछ। ठगेर भाग्यो।’

'लामो समयपछि कुनै सम्पर्क नभएपछि उनको खोजी गर्दा त्याे मान्छे त ठग पाे रहेछ', वडा नम्बर- ७ का अध्यक्ष च्याबा तामाङले भने, ‘गाउँका लाटा सोझा मानिसलाई सरकारी कर्मचारी भएको र सौर्य पाता र प्लाष्टिक टनेल दिने सरकारी नीति भएको बताउँदै गाउँलेलाई ठग्यो।’ उनले यस विषयमा आफूहरूले पछि मात्र थाहा पाएको बताए। त्यस्तै, बुढाले छायानाथ रारा नगरपालिकाकको वडा नम्बर- ७ पिनामा समेत केही रकम उठाउन काेसिस गरेकाे बताइएको छ। 

स्थानीयले ठगी गर्न लागेको थाहा पाउँदा उनी भागेका थिए। भागिरहेका बुढालाई पिना गाउँका स्थानीय युवाले जुम्ला र मुगुको सिमानामा पर्ने भुलभुलेबाट समाते पनि त्यहाँबाट उम्किएको जानकारी अाएको अध्यक्ष तामाङले बताए। ‘त्यहाँबाट उम्किए पनि नेपालगन्जमा पुन: प्रहरीले समातेको र दुई दिनभित्र रकम फिर्ता गर्छु भन्ने कागज गराएपछि बाहिर निस्केका बुढा फेरि सम्पर्कविहीन छन्’, उनले भने, ‘गाउँपालिका, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बुढाविरुद्ध उजुरी दिने तयारी गरिरहेको छौँ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.