|

काठमाडौं : मंगलबार बिहान साढे तीन बने काठमाडौं बौद्धको आकाशदीप स्कुलमा बम बिस्फोट भयो। त्यसको १० मिनेट नबित्दै नजिकैको मनकामना स्कुलमा  बम पड्कियो। 

बिहान उठ्ने बित्तिकै स्कुलमा बम पड्किएको खबरले काठमाडौंमा त्रास फैलियो। काठमाडौंको बौद्ध क्षेत्रका मात्र सातवटा, डल्लु र सानेपाका एक/एक विद्यालयमा बम फेला परेको थियो। 

बौद्ध दक्षिणढोकाको आकाशदीप सेकेण्डरी स्कुल र मनकामना उच्च माध्यमिक राखिएको बम विस्फोट नै भएको थियो भने अन्य स्थानमा राखिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको महानगरीय प्रहरी बृत्त, बौद्धका प्रमुख डिएसपी बिपिन रेग्मीले जानकारी दिए।

आकाशदीप स्कुलको गेटमा जुटको बोरामा राखिएको ग्यास सिलिण्डर विस्फोट भएको सुरक्षागार्ड तोकबहादुर तामाङले बताए। ‘सुतिरहेको थिएँ, एक्कासी ठूलो आवाज आयो, गाडीको टायर पड्कियो होला जस्तो लाग्यो। वरपर धुवाैधुवाँ भयो’, उनले भने– ‘आएर हेर्दा त सिलिण्डर बम पड्केको रहेछ।’

गेट नभएको भए मर्थें होला
- तोकबहादुर तामाङ, सुरक्षागार्ड, आकाशदीप स्कुल
म त सुतिराखेको थिएँ। ठूलो आवाज आएर पड्कियो। मैले त ठुलो गाडीको टायर पड्क्यो होला भन्ने सोचेको। एक्कासी स्कुलभित्र धुँवै धुँवाले भरियो। होस्टलमा रहेका सरहरु र विद्यार्थीहरु पनि आइपुग्नुभयो। गएर हेर्दा त ठूलो भ्वाङको पो परेको रहेछ, गेट पनि पुरै पल्टिएको थियो। ग्यास सिलिण्डर पड्केको रहेछ। त्यसको टुक्रा उछिटिएर झ्यालको सीसा पनि फुट्यो। पड्केको चार पाँच मिनेटमा नै पुलिस आइहाल्यो। पुलिसले आएर हेर्दै गर्दा १० मिनेटमा नै मनकामना स्कुलमा पनि ठूलो आवाज आएर पड्कियो।भुसको बोराभित्र सिलिण्डर राखेर गेटैमा छोडिएको रहेछ। गेट नभएको भए त म पनि मर्थे होला। 

बम विस्फोटबाट आकाशदीप स्कुलको गेटमा क्षति पुगेको छ भने मनकामना स्कुलमा कुनै क्षति भएको छैन। 

बम बिस्फोटको कारण अहिलेसम्म खुलेको छैन। कसैले पनि चन्दा माग गरेर नधम्काएको उनले जानकारी गराए। ‘त्यस्तो पत्राचार र धम्की केही आएको थिएन, एक्कासी बम नै विस्फोट भयो, अचम्म लागिरहेको छ’– मनकामना स्कुलका संस्थापक प्रिन्सिपल जगन्नाथ देवकोटाले भने।

‘विहान उठेर नुहाई धुवाई गर्दै थिएँ, एक्कासी ठूलो विस्फोटको आवाज आयो, गएर हेर्दा त आफ्नै स्कुलको गेटमा रहेछ’, उनले भने ‘पिलर र जालीको कारण कुनै क्षति हुन पाएन।’

बौद्धमा रहेको राई स्कुल, माउण्ड युरल, इस्ट पोल, एम्बेसडर र बालसंसार स्कुलको गेटमा बम राखिएको थियो। ती स्थानहरुमा प्रेसरकुकर बम, सिलिण्डर बम र विस्फोटक पदार्थहरु फेला परेको थियो।

त्यस्तै डल्लुमा रहेको मनकामना स्कुल र ललितपुरको सानेपाको खरिबोटमा पनि बम फेला परेको थियो। दुबै ठाउँको बम पनि सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए। 

धम्की आएको थिएन
- जगन्नाथ देवकोटा, प्रिन्सीपल, मनकामना स्कुल
म विहान साढे तीन बजे नै उठ्छु। उठेर ब्रस गर्न लागेको थिएँ। ठूलो आवाज आयो, के भएछ भन्दै ब्रस गरेर नुहाउदै थिएँ। फेरि अर्को ठूलो आवाज आयो। त्यसपछि हल्लाखल्ला हुन थाल्यो। पछि त आफ्नै स्कुलको गेटमा पो पड्किएको रहेछ। त्यो गाडीमात्र छिर्ने गेट भएकोले त्यहाँ केही पनि थिएन र क्षति हुन पाएन। त्यहाँ जाली र पिलर भएकोले पनि क्षति भएन, नत्र तीन वटा बसमा क्षति पुग्थ्यो। त्यत्रो जनयुद्धको बेला पनि कुनै धम्की आएको थिएन। अहिले पनि त्यस्तो धम्की र कुनै पत्राचार गरेका थिएनन्। एक्कासी बम नै विस्फोट गराए।  स्कुल बन्द गराउनुपर्छ भन्दै थिए, तर मैले बन्द गराएर विरोध गरेर मात्र हुन्छ, विद्यार्थीहरुको पढाई नबिगारीकन पनि विरोध गर्न सकिन्छ भनेर स्कुल चलायौं। तर सबै जनाले यो त्रासको वातावरण भनेपछि दुई वटा पिरियड पढाएर अहिले बन्द गरेका छौं। भोली देखि स्कुल नियमित चलाउछौं।

बम राखिएको सबै ठाउँमा पहेलो रंगको पर्चा फेला परेको थियो। योङ कम्युनिष्ट फोर्स र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रको नाममा पर्चा राखेर घटनाको जिम्मेवारी लिएको छ। पर्चामा फोर्स र केन्द्रले विभिन्न नौ बुँदे माग राखेको छ। उनीहरुले निजी स्कुलको नाममा राष्ट्रिय स्वाभिमान बेच्न नपाइने, द्वैध शिक्षा नीतिको अन्त्य हुनुपर्ने, आर्थिक अभावकै कारण शिक्षाबाट बन्चित हुने व्यवस्थाको अन्त्य गरिनुपर्ने माग राखेका छन्। 

आकाशदीप स्कुलमा विस्फोट भएपछि मात्र प्रहरीले बम राखेको थाहा पाएको थियो। आकाशदीपमा विस्फोट भएपछि त्यहाँ पुगेको केही समयमा नै अर्को स्कुल मनकामनामा पनि विस्फोट भएपछि प्रहरीले अन्य स्कुलमा पनि खोजी गरेको थियो।

बौद्ध क्षेत्रमा रहेका सबै स्कुलहरुमा चेकजाँच गर्दा अन्य पाँच वटामा पनि बम फेला परेपछि सेनाको डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गरेको बौद्ध प्रहरी प्रमुख डिएसपी रेग्मीले जानकारी दिए। ‘दुईवटा स्कुलमा पड्केपछि घेरा हालेर खोज्दै जाँदा अरु ठाउँमा पनि फेला परेपछि डिस्पोज गरिएको हो’ उनले भने। 

विस्फोटमा संलग्न भएको आंशकामा दुई जनालाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। दुबै जनालाई बौद्ध प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान गरेको छ भने अन्यको खोजी भइरहेको पनि काठमाडौं प्रहरी प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए।

‘हामीले उपत्यकाको सबै क्षेत्रमा निगरानी बढाएका छौं’, उनले भने ‘दुई जनालाई पक्राउ गरेका छौं, अन्य अनुसन्धान भइरहेको छ।’  

विस्फोटपछि प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइको छ। त्यस्तै विस्फोट हुन सक्ने स्थानहरुमा र चर्चामा रहेका स्कुलहरुमा पनि थप सुरक्षाकर्मी परिचालन गरेर निगरानी बढाइएको उनले जानकारी दिए। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.