|

काठमाडौं : प्रहरीले काठमाडौंका निजी स्कुलहरुमा विस्फोटमा पूर्व माओवादी लडाकु संलग्न रहेको बताएको छ। २०६२ सालदेखि राजनीतिक आवरणमा आपराधिक गतिविधि गरिरहेका पूर्व लडाकुको समूहले नै काठमाडौंका निजी स्कुलहरुमा बम विस्फोट गराएका महानगरीय प्रहरी आयुक्त एआइजी प्रतापसिंह थापाले जानकारी दिए।

मंगलबार बम बिस्फोटनमा संलग्न रामेछाप दिमीपोखरीका ३१ वर्षका शंकर लाखे र सिन्धुली लाङपाङ ४ का २४ वर्षका चन्द्रबहादुर तामाङलाई पक्राउ गरेको छ। तर घटनाको मुख्य योजनाकार मीन देवकोटा र सुमन श्रेष्ठ रहेको महानगरीय प्रहरी आयुक्तको कार्यालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

केही पूर्व लडाकुहरुले २०६२ सालमा योङ कम्युनिष्ट फोर्स नेपाल नामक पार्टी र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र गठन गरेर राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्दै आएका थिए। घटनाको मुख्य योजनाकार देवकोटा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका संयोजक हुन् भने श्रेष्ठ योङ कम्युनिष्ट नेपाल केन्द्रीय फोर्सका हुन्। उनीहरुको खोजी भइरहेको उनले जानकारी दिए।  

'यो सानो आपराधिक ग्रुप हो, पहिले यिनीहरुले आगजनी र लुटपाट गर्दै आएका थिए। यसपटक चाहिँ विस्फोट नै गराए' उनले भने।

यस्तो छ इतिहास

प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार २०६२ सालमा हतियार सहित भागेका पूर्व लडाकुको समूहले योङ कम्युनिष्ट नेपाल केन्द्रीय फोर्स गठन गरेका थिए।

यो समूह २०६२ देखि २०६९ सम्म राजनीतिक आवरणमा आपराधिक क्रियाकलापमा संलग्न रहेको थियो।

२०६९ सालमा सरकारसँग वार्ता गरेपनि वार्ता बिफल भएको थियो। २०७१ भदौमा नेपालगञ्जमा सरकारी पक्षसँग भएको वार्तामा यो समितिले हतियार बुझाएको थियो।

पछिल्लो समयमा यो समूहले कलेज र विद्यालयमा अनियमितता भएको भन्दै धम्क्याउने र चन्दा आतंक सञ्चालन गर्दै आएको थियो।

२०७१ असार १ गते कलंकीबाट यो समूहले मनबहादुर चदाराको साथबाट यार्सागुम्बा लुटेको थियो। लुटपाटमा संलग्नको अभियोगमा पार्टीका अध्यक्ष देवेन्द्र महत महासचिव केशव दाहाल पक्राउ परेका थिए।  

२०७३ साउन ६ गते डल्लुमा बा २ ख ४६९ नम्बरको आइडल मोडल स्कुलको भ्यानमा आगजनी गरेका थिए।  

२०७३ असार २८ मा निजी स्कुलहरुमा अनियमितताको आरोप लगाउँदै  एन प्याब्सनको कार्यालयमा ९ बुँदे ज्ञापन पत्र बुझाएका थिए।

यो पनि पढ्नुस्

बम पड्किएको स्कुलका सुरक्षागार्डको बयान : गेट नभएको भए म मर्थें

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.