सरकारी प्राविधिकको सिफारिसमा बनेका घर बस्नै नमिल्ने

|

गोरखा : बारपाक केन्द्रविन्दु बनाएर विनाशकारी भूकम्प गएको तीन वर्ष पूरा भएको छ। भूकम्पले गोरखामा मात्रै ६० हजार घर ध्वस्त पार्‍यो। चारसय ७२ जनाको ज्यान लियो। भूकम्पले धनजनको क्षति त गर्‍यो तर, विकासमा केही फड्को मार्न समेत सहयोग गर्‍यो। भूकम्पपछि गोरखामा दाताको पनि ठूलै लाइन लाग्यो।

भूकम्पको तीन वर्ष पुगे पनि पुनर्निर्माणको गति सोचेअनुसारको छैन। गोरखामा स्वास्थ्य संस्थाबाहेक अन्य क्षेत्रको पुनर्निर्माणको नतिजा सन्तोषजनक देखिँदैन। भूकम्पको नाममा अनेकौं गोष्ठी, सेमिनार भए पनि केही पीडित अझै जस्ताले बारेको त्रिपालको टहरामा छन्।

सरकारले तीन लाख रुपैयाँको अनुदान घर बनाउन दिने भने पनि झण्झटिलो प्रक्रियाले पीडित झन् मारमा छन्।

के छ गोरखा पुनर्निर्माणको प्रगति ? 

गोरखामा ७४ हजार तीनसय ८९ घरधुरीको सर्वेक्षण भए पनि ६१ हजार तीनयस ९३ घरधुरी मात्रै नेपाल सरकारको अनुदान पाउने सूचीमा परे। गोरखामा भूकम्पले भत्काएको घरलाई मर्मत गरी (प्रबलीकरण) बस्ने दुई हजार १९ घरधुरी रहेका छन्। 

अहिले सम्म अनुदान सम्झौता गरी पहिलो किस्ता पाउने लाभग्राही ५७ हजार तीनयि ४७ घरधुरी छन्। दोस्रो किस्ताको लागि सिफारिस भएका लाभग्राही ४३ हजार नौसय ११ घरधुरी छन्। 

त्यस्तै तेस्रो किस्ताको लागि सिफारिस भएका लाभग्राही १८ हजार चारसय तीन छन्। सिफारिस भएका सबैले रकम पाइसकेका छैनन्। ५७ हजारले पहिलो किस्ता लिइसकेका छन्। करिब ३८ हजार चारसय १८ जनाले दोस्रो र  १२ हजार सातसय ८१ जनाले तेस्रो किस्ता पाइसकेका छन्।  

जोखिमयुक्त वस्तीे व्यवस्थापनमा अझै चुनौती 

भूकम्पपछि बस्नै नहुने गरी जोखिम भएका चारवटा बस्तीका तीनसय ६४ घर अन्यत्रै सार्नुपर्ने भए पनि अहिलेसम्म कहाँ सार्ने भन्ने टुंगो नलागेको पुनर्निर्माण प्राधिकरण गोरखाका शिव पौडेलले जानकारी दिए।

अति जोखिममा रहेको केरौँजागाउँ कहाँ स्थानान्तरण गर्ने भन्ने अझै टुंगो लागेको छैन। केरौँजाबासीहरु अझै पनि पहिरोको जोखिमबीच गाउँमा बसिरहेको स्थानीय फिरेन्द्र घलेले बताए।

भूकम्पकै केन्द्रविन्दु बारपाकको २० घर दलित बस्ती अहिले पनि सरकारी जग्गा र गाउँलेको जग्गामा भाडा तिरेर बसिरहेका छन्। सरकारले 'पुरानो थलोमा बस्न नहुने' त भन्यो तर, स्थानान्तरण भएर कहाँ जाने भन्ने नबताइदिँदा उनीहरु अझै पनि टहरामै छन्। 

गोरखामा १२ हजार  तीनसय २२ घरधुरीको गुनासो बाँकी छ।  भूकम्प पछि लाप्राक र बगुवाका सातसय ११ घर एकिकृत वस्तीमा स्थानान्तरण भएका छन्। 

सरकारी पुनर्निर्माणमा स्वास्थ्य अगाडि, शिक्षा दोस्रोमा
२०७२ बैशाख १२ को भूकम्पले गोरखाका ५५ वटा स्वास्थ्य संस्था पूर्णरूपमा ध्वस्त भए। २२ वटा स्वास्थ्य संस्था आंशिक क्षति भएका थिए भने नौ वटा स्वास्थ्य संस्था केही भएका थिएनन्।

भुकम्पयता गोरखामा ५७ वटा स्वास्थ्य संस्थाको सुविधासम्पन्न भवन बनेको छ। स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएपनि सबै भवनहरु पक्की भने होइनन्। अधिकांश भवनहरु 'प्री फ्याब' बाट बनेका छन्।

गोरखामा स्वास्थ्य संस्थापछि सबैभन्दा धेरै विद्यालय भवन पुनर्निर्माण भएका छन्। करिब चारसय ४० विद्यालय भूकम्पले ध्वस्त पारे पनि अहिले सम्म दुईसय ५५ विद्यालयको पुनर्निर्माण भइसकेको छ। 

भूकम्पले ध्वस्त पारेका र केही भवनहरु विस्तार गरेका गरेर दुई सय ७५ विद्यालयहरुको भवन निर्माणाधिन रहेको पुनर्निर्माण प्राधिकरण गोरखाका प्रमुख वेदप्रसाद आचार्यले जानकारी दिए। 

त्यस्तै खानेपानीका पाँचसय १६ आयोजना गोरखा भूकम्पले ध्वस्त पारेको थियो। अहिले सम्म तीनसय २२ वटा आयोजनाका पुन सञ्चालनमा आइसकेका छन्। ७५ आयोजना निर्माणाधीन छन् भने एकसय १९ वटा आयोजना पुनर्निर्माण गर्न भनेर प्रस्तावमा आएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख रत्नप्रसाद लामिछानेले जानकारी दिए।

किस्ता लिनै झण्झट 
गोरखा बारपाकका विशुराम घलेको घर पुनर्निर्माण सम्पन्न भएको पाँच महिना भयो। उनी पहिलो किस्ता लिन गोरखा सदरमुकाम आए। सदरमुकाम आएर उनले भोलिपल्टै किस्ता बुझ्न पाएनन्। बैंकहरुले गर्ने ढिलासुस्तीले उनी पहिलो किस्ता लिन मात्रै गोरखा बजारमा तीन दिन बस्नुपर्‍यो। क्रमश: दोस्रो र तेस्रो किस्ता लिन पनि यस्तै समस्या भोगेको उनले सुनाए।

‘गाउँमै बैंक जाने भन्थ्यो’ उनले भने ‘बैंक जाने कुरा त केहो केहो, यहीँ बजारमै पनि तीन दिन लाग्यो पैसा पाउन। ५० हजार रुपैँया बुझ्यो होटलमा बस्यो खायो १० हजार त्यसै सकियो। साह्रै दु:ख पाइयो।’ 

सरकारको सहुलियतको ऋणले झुक्यायो  
भूकम्पको केन्द्र विन्दु बारपाकका जीतबहादुर घले सरकारले दिने भनेको सहुलियतको ऋण नदिएर झुक्याएको बताउँछन्। 

‘बैंकमा सबै कागजात लिएर गयो भने भूकम्पपीडितलाई दुई प्रतिशत ब्याजमा ऋण दिने भनेर हामीलाई झुक्यायो’ उनले भने।  

विपन्न वर्गका लाभग्राहीलाई अनुदानबाहेक तीन लाख रुपैयाँ निब्यार्जी ऋण सुविधा उपलब्ध गराउने र दुई प्रतिशत ब्याजमा ऋण दिने घोषणा सरकारले गरेको थियो। त्यसका लागि सरकारले कार्यविधि नै पास गरेपनि प्रगति भने शून्य छ।

एनजीओ आईएनजीओको लाइन 

गोरखा भूकम्प पछि गोरखामा राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको भीड नै लाग्यो। भूकम्पलगत्तै गोरखामा विभिन्न गैसरकारी संस्थाहरूको सूची दुई सय हाराहारी पुगेको थियो।

पछि ती सबै संस्था गोरखाबाट विदा भए। पछि केही पुनर्निर्माणको काम समेत गर्ने गरेर ६० वटा हाराहारी संस्था क्रियाशील भए। २०१८ को मार्च पछि गोरखामा केही अन्तर्राष्ट्रिय गैसरकारी संस्था मात्रै क्रियाशील छन्। उनीहरुले भूकम्पयता गरेको खर्च विवरण करोडौं देखिए पनि अहिले उनीहरुले के गरे भनेर खोज्दा भेटिने अवस्था छैन। 

भूकम्प घर 

भूकम्पपीडितले तीन लाख रुपैँया अनुदानमा बन्ने घरको नाम नै भूकम्प घर राखेका छन्। भूकम्पपीडितले एककोठे र दुई कोठे घर धेरै बनाएका छन्। मान्छे बस्न नमिल्ने ती घर अनुदानको लागि योग्य ठहरिरहेका छन्। भूकम्पपछि पुनर्निर्माणमा खटिएका प्राविधिकहरूको लापरबाहीले त्यस्ता घर बनिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.