|

 गोरखा : माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले छिट्टै दुई पार्टीको एकता मिति घोषणा हुने बताएका छन्। पार्टीको आन्तरिक बैठकमा सहभागी हुन गोरखा आएका श्रेष्ठले गोरखाका सञ्चारकर्मीहरुसँग यस्तो बताएका हुन्।

‘अब पार्टी एकताको आधार तय भइसकेको छ,’ प्रेससेन्टर गोरखाले गरेको पत्रकार सम्मेलनमा श्रेष्ठले भने, ‘एकताको दिन नै किटान गर्नु त्यति उपयुक्त हुँदैन। तर पनि यहि वैशाख २० गते हाम्रा दुई पार्टीका अध्यक्षहरुको बैठक छ। त्यसको भोलिपल्ट वा पर्सिपल्ट हामी पार्टी एकता संयोजन समितिको बैठक बस्छौँ। त्यही बैठकले पार्टी एकताको मितिको घोषणा गर्नेछ।’

पार्टी एकताको विषयलाई लिएर अहिले विभिन्न प्रकारका अडकलबाजी भइरहेको र त्यसको पछि नलाग्न उनले सबैलाई आग्रहसमेत गरे। ‘अहिले विभिन्न किसिमका अडकलबाजीहरु, प्रचारहरु भइरहेको छ,’ उनले भने, ‘कुनै पनि भ्रामक प्रचारबाट मुक्त भएर हामी एकीकृत पार्टीको निर्माणमा लागेका छौँ।’

जनता र मुलुकको चाहनाअनुरुप दुई पार्टी मिल्न लागेको भन्दै उनले एकता कुनै हालतमा नटर्ने दोहो¥याए। ‘दुई ठूलापार्टीहरु फरक–फरक भूगोलबाट आएको कतिपय वैचारिक राजनीतिक लाइन फरक भएको पार्टीको एकीकरण त्यति सहज विषय होइन,’ उनले भने, ‘तैपनि हामीले इतिहासको आवश्यकता र  नेपाली जनताको चाहनामुताविक पार्टी एकता गर्ने निर्णय गरेका छौँ। त्यसको आधार तयार गरिसकेका छौँ।’

उनले रेडियोको उदाहरण दिँदै पार्टी एकता रोकिएको विषयमा प्रष्ट पार्न खोजे। ‘रेडियो खोलियो, स्टेसन पनि राखियो कहाँबाट बज्ने भन्ने पनि टुंगो लागिसक्यो अब फाइनट्युनिङ गर्न बाँकी छ,’ उनले भने, ‘आवाजमा स्याँस्याँ नआओस् भनेर फाइन ट्युनिङको काम मात्रै बाँकी छ।’

पार्टी एकताको दिनलाई नयाँ दिवस थप्ने तयारीमा आपूmहरु लागिपरेको बताए। ‘पहिलेका मितिहरु कुनै दिवस पारेर, पार्टीको महत्वपूर्ण दिन पारेर गर्न पार्टी एकता संयोजन समितिले मिति सिफारिस गरेको थियो,’ उनले भने, ‘अबचाहिँ हाम्रै एकतालाई ऐतिहासिक दिवस मनाउने गरी हामी घोषणा गर्ने तयारीमा छौँ।’ पार्टी एकताको विषयमा विदेशी हस्तक्षेप हुन थाल्यो भनेर नेताहरुले भाषण गर्न थाल्नुभयो नि भन्ने प्रश्नमा श्रेष्ठले भने, ‘अब नेपालको आन्तरिक मामिलामा विदेशी शक्तिले हस्तक्षेप गर्ने दिन गए।’  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.