|

जारी विश्वकप फुटबलमा उपाधि होडमा सर्वाधिक अघि मानिएको ब्राजिल पनि सुरुवातबाटै संकटमा पर्‍यो। पहिलो खेलमा स्विटजरल्यान्डसँगको बराबरी र दोस्रो खेलमा अतिरिक्त समयको तीन अंकले ब्राजिललाई अन्तिम खेलमा बराबरी गरे मात्रै पनि अघिल्लो चरण पुग्ने ठाउँमा पुर्‍याएको छ। तर, संकट पूरै टरिसकेको  छैन त्यसैले  ब्राजिलमाथि बराबरीकै चिन्ता कायम छ।

आज राति हुने खेलमा ब्राजिलले सर्वियाविरुद्ध प्रतिस्‍पर्धा गर्दै छ। त्यसोत सर्वियाको पनि ३ अंक भएकाले अघिल्लो चरणका लागि सक्दो प्रयास गर्नेछ। ब्राजिललाई पराजित गरेमा अघिल्लो चरण प्रवेश गर्ने भएकाले गोलको प्रयासमा नै हुँदा ब्राजिललाई केही राहत भने हुने छ। किनकी दुवै टिमले खुलेर खेल्दा नतिजाका लागि दुवै टिमलाई सहज हुने पक्का छ।

ठूला प्रतियोगितामा एक अर्काविरुद्ध प्रतिस्‍पर्धा नगरेका यी दुईबीच २०१४ मा एकपटक मैत्रिपूर्ण खेल भएको थियो। जसमा ब्राजिल १-० ले विजयी भएको थियो ।
सर्विया प्रतियोगितामा अपत्यारिलो तर बलियो टिमका रूपमा देखिएको छ। सर्वियाले कोस्टारिकालाई पराजित गर्दै ३ अंक बटुलेको छ। जितले अघिल्लो चरण पुग्ने सर्विया हारले भने प्रतियोगिताबाट बाहिरिनेछ। बराबरी गरेमा भने उसको अघिल्लो चरणको सम्भावना स्विटजरल्यान्ड र कोस्टारिकाबीचको खेलले निर्धारण गर्नेछ।

प्रतियोगितामा ४ अंक भएको ब्राजिल सर्वियासँग ३ अंक लिँदै अपराजित टिमका रूपमा ७ अंक बनाएर समूह विजेताको लक्ष्यमा रहनेछ। तर, उसका सुरुवाती खेल सहज नदेखिएकाले ब्राजिलको तत्कालको लक्ष्य नकआउट पुग्नु नै हुनेछ। पहिलो खेलमा स्विटजरल्यान्डसँग बराबरी खेलेको तथा दोस्रो खेलमा कोस्टारिकालाई अक्तिरिक्त समयमा पराजित गरेकाले ब्राजिल अब भने सहज जित निकाल्दै दाबेदार टिमका रूपमा आफूलाई प्रमाणित गर्न मैदानमा उत्रनेछ।

स्वीटजरल्यान्ड पनि दबाबमा

समूह ई अन्तर्गतकै अर्को खेलमा स्विटजरल्यान्ड पनि नकआउटको दाबेदार रहेको छ। ब्राजिलसँग बराबरी खेलेको स्विटजरल्यान्डले संघर्षपूर्ण खेलमा सर्वियालाई पराजित गरेको थियो। सोही जितका कारण स्विटजरल्यान्ड नकआउटको दाबेदार बनेको हो। उसले सहज रूपमा अघिल्लो चरणमा स्थान बनाउन जितविहीन रहेको कोस्टारिकालाई पराजित गर्नुपर्नेछ। कोस्टारिका पहिलो खेलमा सर्वियासँग १-० ले हारेको थियो भने अर्को खेलमा ब्राजिलसँग २-० ले पराजित भएको थियो।

प्रतियोगितामा शान्त्‍वना जितका लागि कोस्टारिका मैदान उत्रनेछ। तर, उसले जित निकालेमा भने स्विटजरल्यान्डलाई सहज हुनेछैन। स्विटजरल्यान्ड कोस्टारिकासँग हारेमा ब्राजिलले सर्वियालाई पराजित गर्नुपर्नेछ। ब्राजिलले सर्वियालाई हराएमा भने स्विटजरल्यान्ड पराजयका बाबजुत अघिल्लो चरणमा प्रवेश गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.