|

सौराहा : प्रदेश ३ का सचिवहरूले चितवनको सौराहालाई नजिकका पर्यटकीय क्षेत्रसँग जोडेर अब्बल पर्यटकीय गन्तव्य बनाउनुपर्ने सुझाब दिएका छन्। क्षेत्रीय होटल संघ चितवनको आयोजनामा शुक्रबार साँझ ‘सौराहा पर्यटन गुरुयोजना’ का विषयमा भएको छलफलमा सहभागी सचिवहरूले प्रचारप्रसारलाई तीब्रता दिंदै पर्यटकीय गतिविधि बढाउनुपर्ने आवश्यकता औँल्याएका हुन्।

‘सौराहा किन आउने ? यस विषयमा धेरै कुरा खोजौं,’ प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव वसन्त अधिकारीले भने, 'यसतर्फ गुरुयोजनाले समेटोस्।’ उनले सौराहाको स्पष्ट खाकासहितको गुरुयोजना बन्नु जरुरी रहेको औंल्याउँदै तीन तहको सरकार मध्ये कुन सरकारको भूमिका के हुने भनेर समेत गुरुयोजनामा खुल्नुपर्ने बताए। 

छलफलका क्रममा सुझाव दिदै अधिकारीले हरेक प्रदेश सरकार र प्रतिनिधिहरूलाई घुम्न बोलाएर जानकारी दिंदा समेत पर्यटन प्रबर्द्धन हुने उल्लेख गरे।
प्रचारप्रसारलाई तीब्रता दिंदै व्यवसायिकतामा समेत जोड दिन सचिवहरूले सुझाव दिएका छन्। पर्यटन गतिविधि बढाउन जरुरी रहेको औल्याउँदै सचिवहरूले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै संरक्षित क्षेत्रको विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। सो क्रममा बोल्दै प्रदेश ३ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रमेशप्रसाद सिवाकोटीले जमिनलाई सही रुपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। 

प्रदेश ३ का योजना तथा नीति आयोगका सदस्य श्यामकुमार बस्नेतले सौराहा गुरुयोजना निर्माणमा प्रदेश सहभागी हुने उल्लेख गर्दै यहाँको प्राकृतिक, धार्मिक, साँस्कृतिक पहिचानलाई जोगाएर पर्यटक विकास गर्नु जरुरी रहेको औंल्याए। सो छलफलमा प्रदेश सरकारका १० सचिव मध्ये ६ जनाको सहभागिता रहेको थियो। सो कार्यक्रममा सौराहा गुरुयोजना निर्माणमा सक्रिय रहनु भएका पर्यटन विज्ञ विश्व सुवेदीले हालसम्म भए गरेका गतिविधिका बारेमा जानकारी दिए। 

सुवेदीका अनुसार सौराहामा हालसम्म १५ अर्बको लगानी भएको छ। समग्र चितवन नै पर्यटनको प्रचुर सम्भावना रहेकाले चितवनलाई लुम्बिनी, पोखरा, मुस्ताङ लगायत अन्य पर्यटकीय गन्तव्यसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। यहाँ वाटर पार्क, बसपार्क, सभाहल, लगायत पर्यटकीय गतिविधि गर्न सकिने स्थलको विकास गर्नेमा गुरुयोजनाले समेट्ने उनको भनाई छ।

क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले सुन्दर सौराहा बनाउनका लागि विगत २ वर्षदेखि सुरु भएको गुरुयोजना निर्माणको काम अहिले ६० प्रतिशत पूरा भएको बताए। उनले नेपालमा आउने पर्यटक मध्ये ४० प्रतिशत मात्रै सौराहामा ल्याउन सकेपनि महत्वपूर्ण उपलव्धि हुने उल्लेख गरे। छलफलमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटी र इन्दिरा दाहाल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेवप्रसाद जोशी, आर्थिक मामिला तथा  योजना मन्त्रालयका सचिव बसन्त अधिकारी, सामाजिक विकास मन्त्रालयका सचिव दीर्घनारायण पौडेल, प्रदेश प्रमुख कार्यालयका सचिव शिवलाल तिवारीको सहभागिता थियो। यस्तै प्रदेश प्रमुख कार्यालयका उपसचिव घनश्याम पन्थी, निर्मला थापा र ऋतु सिटौला, र नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण अर्याल पनि सहभागी थिए। 

मुख्य गरी सरकारको नीति तथा कार्यक्रमले सौराहाको गुरुयोजना निर्माणलाई कसरी सम्बोधन गर्न सक्छ भनेर सुझाव लिनका लागि सचिवहरुसँग अन्तरक्रिया गरिएको क्षेत्रीय होटल संघका महासचिव राममणि खनालले जानकारी दिए। सो क्रममा चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका कार्यालय प्रमुख रामकुमार अर्यालले संरक्षण गतिविधिका बारेमा जानकारी गराएका थिए। सौराहा मुख्यगरी सफारी पर्यटनले प्रख्यात छ। यहाँ बाघ गैंडा हेर्ने पर्यटकहरू आउँछन्। हात्ती सफारी, जिप सफारी, डुंगा सफारी गरेर पर्यटक रमाउँछन्। 

थारू कल्चर र पैदलवाकमा समेत पर्यटक घुम्छन्। चितवन आउने पर्यटक ९० प्रतिशत सौराहा आउने गरेका छन्। यहाँ १३० वटा सुविधायुक्त होटलमा झण्डै पाँच हजार पर्यटक बस्न मिल्ने क्षमता छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.