मोरङको उर्लाबारीस्थित मधुमल्ला रोडदेखि केही भित्र रहेको उनको डेरामा पुग्दा मंजुल बराइली आफ्ना बुबा इन्द्रबहादुरसँग बिदाइ भलाकुसारी गर्दै थिए। डेराको बाहिरपट्टि असरल्ल अधुरा मूर्तिहरूको बिस्कुनले मूर्तिकारको निवास हो भन्ने थाहा पाउन गाह्रो भएन।
३७ वर्षीय मंजुल जापानको पहरोमा भीमकाय बुद्धको मूर्ति बनाउने कार्यमा सन् २०१७ को सेप्टेम्बरदेखि जुटेका छन्। उनलाई अरू तीन नेपाली मूर्तिकारले साथ दिइरहेका छन्। काभ्रेका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेश राईको नेतृत्व गर्दै दुई शताब्दीयताकै विशाल बुद्धमूर्ति पहरोमा उनी खोपिरहेका छन्। ‘जापानको कुमामोतो भन्ने गाउँको ढुंगे पहरोमा ६५ फिट अग्लो बुद्धमूर्ति बनाइरहेका छौँ’, उनले भने, ‘पहरोमा यत्रो मूर्ति दुई सय वर्षयता बनेको रहेनछ। त्यसअघिचाहिँ अफगानिस्तान र चीनमा बनाइएको थियो रे!’
इन्टरनेटमार्फत् सम्पर्क भएपछि उनी चार सदस्यीय मूर्तिकार टोलीको नेतृत्व गर्दै जापान पुगेका हुन्। जापान गएदेखि दोस्रो पटकको बिदामा गत फागुन १३ गते काठमाडौं अवतरण भएका उनी छुट्टी सकेर पुनः जापान पुगे। अहिले त्यही ढुंगे पहरोमा बुद्ध कुँदिरहेका छन् उनी। सामाजिक संजालमा भएको कुराकानीमा उनले भने, ‘काम बल्ल ३५ प्रतिशतजति सकियो। यसबीचमा नेपाल आउजाउ भइरहन्छ। यो काम सकेर नेपालमा पनि केही फरक काम गर्ने योजना छ।’
यसरी जुर्यो अवसर
२०६२ सालमा उर्लाबारीमै रहेर राष्ट्रलाई एक हजार मूर्ति समर्पण गर्ने घोषणा गरेका उनलाई जापान जाने कुनै रहर र योजना पनि थिएन। तर जापानको ओसिमा सेकी बुचुयामा नामक संस्थाले संसारलाई जित्नेगरी बुद्धको पहरे मूर्ति बनाउने मूर्तिकार खोजिरहेको थियो। ‘अरू देशका मूर्तिकारहरू हातले खोपेर (मेन्युअल्ली) भन्दा पनि मेसिनबाट मूर्ति बनाउन रुचाउँछन्, त्यसैले त्यो कठिन काममा अरूले रुचि देखाएनछन्’, आफ्नो जापान यात्राको सुरुवातबारे उनले खुलाए, ‘मेरो बारेमा चाहिँ उहाँहरूले इन्टरनेटको माध्यमबाट थाहा पाउनुभएछ। सबै कुरा फोन र नेटमै भयो। त्यसपछि सहयोगीहरूको टिमसहित म जापान जाने निधोमा पुगेँ।’
७०० वर्षअघि नेपाली कलाकार अरनिकोले चीन गएर नेपाली वास्तुकला, मूर्तिकलाको प्रचार प्रसार गरेका थिए।
गौतम बुद्धको जन्मभूमिको विषयमा समेत विश्वव्यापी बहस उठिरहेका बेला मंजुल जापान पुगेर नेपाली प्रतिभा विश्वसामु चिनाइरहेका छन्। तिनै अरनिकोको जीवनी पढेर २०४८ सालदेखि ढुंगा र हथौडासँग खेल्न सिकेका मंजुलले थपे, ‘जापान जाने र पैसा कमाउने लोभले म त्यता लागेको होइन, यो त इतिहास बनाउने कुरा हो। उहिले अरनिकोले पाएको अवसर मलाई जुर्यो। दुई सय वर्षयता अरूले गर्न नपाएको, नसकेको काम गर्न पाउनु मेरा लागि मात्र नभई समग्र नेपालकै लागि गर्वको कुरा हो।’
अझै छ वर्ष लाग्ने उक्त विशाल मूर्तिसँगै उनीहरूले ४५ फिट र ३० फिटका दुई÷दुईवटा मूर्ति बनाउनु छ। यो सबै काम गर्न अझै छ वर्ष लाग्छ। यसलाई जापान सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने लक्ष्य पनि राखेको उनले बताए। ‘विश्व सम्पदामा सूचीकृत हुने मूर्ति नेपाली कलाकारले बनाउन पाउनु चानचुने कुरा होइन नि!’, उनले भने, ‘तर यो काम सकिनेवित्तिकै म कुनै लोभ लालचमा पर्दिनँ, तुरुन्तै नेपाल आउँछु, यहाँ आएर पनि धेरै काम गर्न बाँकी छ।’
धकेलियो हजार मूर्तिको सपना
उनले राष्ट्रलाई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिहरूको मूर्ति सिर्जना गरी समर्पण गर्ने लक्ष्य प्रस्तुत गरेको १२ वर्ष भयो। नेपालमै छँदा पनि व्यावसायिक रूपमा समेत मूर्ति बनाउन भ्याई नभ्याई हुने गरेकाले आफ्नो लक्ष्यलाई पूरा समय दिन सकेका थिएनन्। त्यो लक्ष्यअनुसार १५० मूर्ति मात्र बनेका छन्। ‘जापानको काम सक्नासाथ म यहाँ आएर बाँकी मूर्ति पूरा गर्नतर्फ लाग्छु, मैले राष्ट्रका लागि बोलेको कुरा हो, पूरा गर्नै पर्छ’, आफ्नो लक्ष्यमा अडिग रहेका उनले भने, ‘अहिले श्रीमती कौशिला र साथीहरूले ढुंगा संकलन गरिरहेका छन्। त्यसलाई सम्याउने, मिलाउने काम पनि हुँदै छ। म आएर खुरुखुरु त्यसतर्फ लाग्छु तर लगभग मेरो सपना अबको १२ वर्षका लागि पछि सर्यो।’
मूर्ति व्यवस्थापमै चुनौती
एक हजार मूर्ति राष्ट्रलाई समर्पण गर्ने घोषणा त गरेका छन् उनले तर बनाएका मूर्ति कहाँ राख्ने भन्ने सबैभन्दा ठूलो चुनौती पनि छ। बनाइसकेका मूर्तिहरूले पनि अझै उपयुक्त बास भेटेका छैनन्। ‘केही वर्ष त एउटा घरमा कोठा भाडा लिएर बनाइसकेका मूर्ति राखेँ तर घरधनीले सबै घर खाली गराउने भन्नुभयो। त्यसपछि यी मूर्ति ल्याएर यहाँ बिजोगले राख्नुपरेको छ’, डेरा नजिकै जस्ताले बेरेर खुला ठाउँमा राखिएका मूर्ति सुम्सुम्याउँदै उनले भने, ‘आजसम्म मैले कमाएकै यिनै मूर्ति हुन् तर मेरालागि होइन, राष्ट्रका लागि हुन् यी सबै।’ कसैले यी मूर्ति राख्ने उपयुक्त स्थानको बन्दोबस्त मिलाइदिए धेरै सजिलो हुने उनको भनाइ थियो।
भक्कानिए बाबु
छोरालाई जापानका लागि बिदा गर्न छेउमा बसेका बाबु अघिदेखि मंजुलसँगको भलाकुसारी सुनिरहेका थिए। ‘बुबा कस्तो लाग्छ छोराको प्रगति देख्दा?’ प्रश्न गर्नेबित्तिकै उनको आवाज फुटेन। ‘जापानमा पुगेर आफ्नो कला देखाउने भए छोराले, कस्तो लागिरहेको छ अहिले?’ दोस्रो प्रश्न गरेपछि मात्र उनको वाक्य फुट्यो। ‘एउटा बाबुका लागि योभन्दा खुसीको कुरा के हुन सक्छ र!’ यति भनी नसक्दै उनको गला अवरुद्ध भयो। छोराका अगाडि बाबुले बर्बरी आँसु खसाले र आफ्नै ओठ बेस्सरी टोके।
बुबासँगै भक्कानिएका मंजुलले बाबुतर्फ फर्किएर भने, ‘बुबा, आँसु पुछ्नु, फेरि फोटोमा देखिएला नि!’ त्यसपछि हत्तपत्त गोजीको रुमाल निकाले र आँसु पुछ्दै भने, ‘देखिए देखियोस्, यो त हर्षको आँसु हो नि!’ सिकर्मीको काम गर्ने उनले छोराले ११–१२ वर्षको हुँदादेखि नै बगरको ढुंगा ल्याएर ह्याम्मरले हिर्काउने गरेको सुनाए। ‘म त मूर्ति बनाउन जान्दिनँथेँ तर उसले गर्न खोजेको कुरा बुझ्थेँ’, मूर्ति थुपारेको स्थानतिर जाँदै गर्दा उनले भने, ‘मैले सक्ने भनेको त्यही ह्याम्मर र ढुंगा दिने काम थियो, त्यही गरिदिएँ सानामा, अहिले कस्तो भयो देखिहाल्नुभयो नि!’
मेटिँदै छ बुद्धबारेको भ्रम
जापानमा पनि बुद्धको जन्मभूमि भारतमा पर्छ भनेर भ्रम छरिएको रहेछ। ‘जापानीहरू लुम्बिनीलाई रुम्बिनी भन्दारहेछन्’, उनले भने, ‘अघिल्लो पुस्तासम्म लुम्बिनी भारतमा पर्छ भनिएको रहेछ तर अहिले यो भ्रम क्रमशः तोडिँदै गएको छ।’ जापान सरकारले पनि विशाल बुद्धमूर्ति बनाउन अरू देशका मूर्तिकार मगाउनुको सट्टा नेपालबाटै झिकाएकाले पनि यो कुरा बुझिन्छ।
‘जापान सरकार प्रस्ट छ कि बुद्धको जन्मभूमि नेपाल हो’, मंजुलले भने, ‘त्यसैले बुद्ध जन्मभूमिकै मूर्तिकारबाट बुद्धको मूर्ति बनाउन चाहेकाले हामीलाई यो अवसर आयो।’ बिदाको आखिरी दिनको बिहान हतारिएका उनी भन्दै थिए, ‘अबको छ वर्षपछि नेपाल नचिनेको बाँकी विश्वले पनि नेपाल चिन्नेछ, नेपाली कलाको विश्वव्यापीकरण हुनेछ। त्यसपछि बुद्ध जन्मभूमि नेपाल हो भनेर कहीँ कतै भ्रम रहन्छ जस्तो मलाई लाग्दैन।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।