कानैबाट गोली गयो, म बाँचे

|

उदयपुर : एदुमे, सानो हजुरलगायत विभिन्न उपनामले दर्शकमाझ आइरहने कलाकार सुबोध गौतमको नाम नसुन्ने कलाप्रेमी सायदै होलान्। नेपाली हास्य विद्यामा जरो गाड्दै गरेका गौतमको क्यारिकेचर मात्र सुनियो भने ठूलै नेता बोलेको आभास जो कोहीलाई पनि हुन्छ। तर, नेताका स्वरलाई क्यारिकेचर गर्ने एक कलाकार मात्र होइनन् उनी।

टेलिभिजन र युटुब च्यानल, स्टेजमा वा अन्य माध्यमबाट सबैका मन र ध्यान तान्न सफल वर्तमान परिवेशका चर्चित हास्य कलाकार हुन्, गौतम। केही समयअघि चर्चित हास्य टेलिशृंखला ‘भद्रगोल’मा सहरिया हुलियामा ‘एदुम’ थेगो जोडेर बोल्ने गौतम नेपाली दर्शकमाझ थप चर्चाको शिखरमा छन्। कलाप्रेमीरूपको मन मुटुमा अटेका छन्।

युद्धको अनुभवपछि कलाकारिता

देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गर्ने महान् अभियानमा लामबद्ध भएका गौतमको आफ्नै रोचक अनुभव छ। झण्डै १५ वर्षअघि तत्कालीन नेकपा माओवादीले गरेको जनयुद्धका एक हिस्सेदार कहिलिएका गौतमको अहिलेको परिचय हास्य कलाकार हो। परिवर्तनकारी योद्धाको एक अनुभव लिएर कला क्षेत्रमा प्रवेश गरेका गौतमको अनुभव युवा पुस्तालाई पाठ नै हुन्छ। भूमिगत जीवनको यात्रासँगै जनमुक्ति सेनाको फर्मेसनबाट खुला परिवेशको गहिरो स्मरण जीवनका पानामा कोर्दै कला क्षेत्रमा चम्कँदै गरेका गौतमको रोचक जिन्दगानी छ।

जनयुद्ध र कलाकारिता

२०६० सालतिर नेपालमा तत्कालीन नेकपा माओवादीको जनयुद्ध चरम उत्कर्षमा थियो। माओवादीको भाषामा गाउँबाट सहर घेर्ने, ढाडमा टेकेर प्रतिक्रियावादी र साम्राज्यवादीको टाउकोमा प्रहार गर्ने अभियान चलेको थियो। त्यही अभियानलाई साथ दिन कक्षा ८ मा सरस्वती माध्यमिक विद्यालय कुन्तादेवी ओखलढुंगामा अध्ययनरत गौतम लाम्बद्ध भए। ‘०६० मा माओवादीको भातृसंगठन अनेरास्वियु क्रान्तिकारीमा आबद्ध भएँ, अनि ०६१ सालबाट भूमिगत बनेर राजनीतिक गर्न हिडेँ,’ उनले भने, ‘त्यहीँबाट मेरो कलाकारिताको यात्रा पनि सुरु भयो।’

०६२ साल कात्तिक महिनासम्म विद्यार्थीमै रहेर काम गरे उनले। भूमिगत रुपमै विद्यार्थी संगठन विस्तार गर्न क्यम्पस, विद्यालयरूपमा जाने गर्दथ्यो। त्यहाँ म कहिले कुकुर भुक्ने, भाले कराउने, स्वर्गीय गिरिजा बाबुको स्वरमा भाषण गर्ने गर्दथें। उनी भन्छन्, 'म विभिन्न पशु तथा मानिसको क्यारिकेचर गर्न थालेपछि विद्यार्थी जम्मा हुन्थे। अनि संगठन निर्माण गर्ने काम हुन्थ्यो,' त्यहीँबाटै मैले हास्य कला क्षेत्रमा दख्खल बढाउँदै लगेँ।'

जनवादी कलाकार माइला लामासँग भेट

भूमिगत हुँदै माओवादीका सयौँ कार्यक्रममा दर्शक जम्मा गर्न हास्यव्यंग्य प्रस्तुत गर्दागर्दै कला क्षेत्रमा आएको उनी बताउँछन्। पार्टीको विभिन्न मोर्चा र जिम्मेवारी सम्हाल्दै गर्दा पार्टी शान्ति प्रक्रियामा आयो।  त्यसपछि २०६४ सालमा चर्चित जनवादी कलाकार माइला लामासँग उनको भेट भयो। पार्टीले कला क्षेत्रमा प्रतिभा भएका व्यक्तिहरू खोजी गरेको र त्यसमा आफू पनि परेको उनी बताउँछन्। जनसांस्कृतिक टोलीमै रहँदा उनको जनवादी विवाह पनि भयो।

पार्टीको केन्द्रीय कलाकारका टिममा रहेर काम गर्दै गर्दा राष्ट्रिय प्रज्ञा भवनमा सार्वजनिक कार्यक्रममा प्रतिभा देखाउने अवसर पाए। 'पहिलोपटक मेरो प्रतिभाले दुई हजार दर्शक हासेको देखेर माइला लामा दाईले कला क्षेत्रमा लाग्न उत्साह दिनुभयो,' गौतम भन्छन्, 'म निरन्तर लागिरहेँ भूमिगत जीवनले नै हास्य कलाकार बनायो।'

टेलिसिरियलमा डेब्यु

०६५ सालको अन्तिममा कान्तिपुर टेलिभिजनमा प्रसारण हुने ‘हर्के हवलदार’ कार्यक्रमबाट आफूले   टेलिशृंखलामा प्रवेश गरेको उनी बताउँछन्। विभिन्न स्टेजरूपमा हास्य कलाकारको भूमिका प्रस्तुत गरेपछि हर्के हवलदारका दाई विष्णु सापकोटाले कर गरेर हर्के हवल्दारमा खेलाउनुभएको उनी सुनाउँछन्। उनी भन्छन्, 'मैले सुरुमा तत्कालीन नेकपा एमाका अध्यक्ष झलनाथ खनाललाई चड्कन हानेको अभिनय गरेको थिएँ। संयोगवश पछि उहाँले साच्चिकै चड्कन खानुभएछ,' उनी ठट्यौलो पारामा  थप्‍छन्, 'मैले टेलिसिरियलमा नखेलेको भए, सायदः उहाँले चड्कन खानुपर्ने थिएन होला।'

त्यतिबेला आफूले विष्णु दाइको करले तीन/चार अंकमा हर्के हवल्दार खेलेको उनी बताउँछन्। आफूले कलाकारिता स्टेजमा मात्र हुनुपर्छ भन्ने सोचेको तर क्यामेरासमेत राखेर विष्णु दाइले दिएको प्रेरणाका कारण अहिले निरन्तर क्यामेरा र स्टेजबाट दर्शकसामु पुगिरहेको गौतम बताउँछन्।

पछि उनले कान्तिपुर टिभीमै 'डिठ्डा साव' ७० भागसम्म खेलेको थिए। 'मेरी बास्सै'मा पनि आठ भागसम्म खेलेको उनले सुनाए। 'जिरे खुर्सानी' १५ भाग, भद्रगोल ४ भागमा उनी एदुमेको भूमिकामा थिए। एदुमेको भूमिकामा हुँदा दर्शकले आफूलाई खुबै रूचाएको उनको प्रतिक्रिया छ। उनी सम्झन्छन्, 'धेरै माया गरिदिनुभएको थियो। जिरे खुर्सानीमा सानो हजुरको भूमिकामा खेलेको थिएँ। एदुमे र सानो हजुरको भूमिका दर्शकले धेरै रुचाइदिनुभएको थियो।' त्यसपछि गुलेली नाम टेलिसिरियलमा सहायक निर्देशकको कार्यभार सम्हाल्दै उनले गाउँले केटोको भूमिकामा समेत अभिनय गरेका छन्।

क्यारिकेचरमा अब्बल गौतम

नेपाली राजनीतिको रंगमञ्‍चमा नाच्ने नेतारूपको थरीथरीका स्वरले हाउभाउसहितको भाषण गर्ने गौतमको ठूलो प्रतिभा क्यारिकेचर हो। विद्यार्थी जीवनदेखि नै क्यारिकेचर गर्दै आएका गौतमले ६२ जना नेतादेखि ठूला कलाकारको हाउभाउसहितको क्यारिकेचर गरेका छन्। उनको त्यो क्यारिकेचर कला युटुबमा समेत देख्‍न सकिन्छ।

नेता रामशरण महत, रविन्द्र मिश्र, विजयकुमार गच्छदार, वामदेव गौतम, झलनाथ खनाल, केपी शर्मा ओली, नारायणकाजी श्रेष्ठ, पुष्पकमल दाहाल प्रचण्ड, डाक्टर बाबुराम भट्टराई, स्वर्गीय नेता मदन भण्डारी, गिरिजाप्रसाद कोइराला लगायतका प्रख्यात कलाकार, पशु पंक्षीका आवाज र हाउभाउ दुरस्तै बनाउने प्रतिभा गौतममा छन्।

कार्यक्रममा जान भ्याई नभ्याई

भूमिगत जीवनको तीतो अनुभव संगालेका गौतमले देशदेखि विदेशसम्मका कार्यक्रममा दर्शक हसाएका छन्। पहिलोपटक कार्यक्रम गर्न सन् २०१५ मा उनी अस्‍ट्रेलिया पुगेका थिए। भारतका विभिन्न सहर र नेपालका अधिकांश जिल्लामा पुगिसकेको उनी बताउँछन्। अस्टेलिया जाँदा धेरैले आफूलाई भागेर उतै बस भन्ने सल्लाह दिएका तर, आफूले त्यसो नगरेर नेपाली कलाकार हुँ भन्ने गर्व लागेको उनी सुनाउँछन्। उनी भन्छन्, 'नेपाली कला क्षेत्रमा मैले केही गर्नुछ भन्ने मेरो सोच छ,' 'देशका ६१ जिल्लाका सहरमा पुगेर झण्डै एक हजारभन्दा धेरै प्रस्तुति दिएको छु।'

उत्साजनक हुन सकेको छैन कलाकारिता

गौतमले कला क्षेत्रमा प्रवेश गरेको झण्डै ११ वर्ष भयो। तर, पनि आफ्नो कलाकारिताले जीवनमा सोचेजति उत्साहजनक रूप लिन नसकेको उनको बुझाइ छ।

हाल जीवन गुजाराको आधार यही  कलाकारिता नै बनेको उनी बताउँछन्। 'हास्य कलाकारका रूपमा स्टेज कार्यक्रममा गएबापत १० हजारदेखि ५० हजारसम्म पारिश्रामिक लिने गरेको छु,' कार्यक्रमको प्रकृति हेरेर मूल्‍य घटीबढी हुने उनी सुनाउँछन्।

हिट हुने होइन, फिट हुने कलाकार

पछिल्लो समय छोटो समयमै हिट हुने कलाकारको भिड लागेको छ। मौलिक कला, संस्कृतिमा रहेर समाजमा फिट हुने कला प्रस्तुत गर्ने व्यक्ति मात्र कलाकार हुनसक्ने गौतमको मत छ। उनी भन्छन्, 'अहिले बजारमा हास्य कला होस, वा जुनसुकै कला क्षेत्रमा नांगिएर भए पनि हिट हुने कलाकारप्रति मेरो आपत्ति छ,' उनी थप्छन्, 'समाजमा फिट हुने मात्र कलाकार हो, हिट हुने कलाकार कलाकारै होइन।' हास्य कलाकार मनोज गजुरेलले नेपाली परिवेशलाई दियो बन्ने कलाकार मात्र आवश्यक छ भनेको प्रसंगमा गौतम भन्छन्, ‘हामी स्टार होइन, दियो बन्नुपर्छ।’ स्टार चम्केर निभिहाल्छ, दियो तेल थप्दै गयो भने, निरन्तर बलिरहन्छ।'

गौतमको पारिवारिक परिवेश

०४६ साल साउन २ गते ओखलढुंगाको तत्कालीन कुन्तादेवी गाविस-२ (हाल मोलुङ गाउँपालिका-१) कुन्तादेवीमा बाबु शिवप्रसाद र आमा गोमा गौतमबाट चौथो सन्तानका रूपमा जन्मेका हुन् सुबोध गौतम। सामान्य किसान परिवारमा जन्मेका गौतमले कक्षा १० सम्मको पढाइ गाउँकै सरस्वती कुन्तादेवी माविमा गरेका हुन्। नयाँ किताब किन्न बुबासँग पैसा नहुनाले कसैको मागेर ल्याएको च्यातिएको, गाता गएको, पाना नभएको किताब पढ्थे उनी।

कक्षा ८ मा अध्ययन गर्दै गर्दा तत्कालीन भूमिगत रहेको नेपाल कम्युनिस्‍ट पार्टी (माओवादी) को अनेरास्ववियुमा आबद्ध भए। त्यसपछि ०६१ साल असारमा १५ गते बेलुका भूमिगत भए उनी। 'भूमिगत भएपछि पढाइ छाडियो। बन्द विश्व विद्यालयभन्दा पनि खुला विश्व विद्यालयमा औपचारिकभन्दा पनि अनौपचारिक अध्ययन बढी गरेँ' उनी भन्छन्।

०६३ तिर पार्टी शान्ति प्रक्रियामा आएपछि उनी जनमुक्ति सेनाको विभिन्न क्यन्टेनमेन्टमा बसे। अनि २०६४ सालमा गाउँकै सरस्वती कुन्तादेवी माविबाट प्रथम श्रेणीमा प्रवेशिका परीक्षा उत्तीर्ण गरे। हाल उनले रत्न राज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्‍नातक गरेका छन्।

युद्धको अविस्मरणीय क्षण: कानैबाट गोली गयो, म बाँचे

म, ०६१ सालदेखि माओवादीको होलटाइमर कार्यकर्ता बनेका गौतम ०६१ सालदेखि २०६२ सालसम्म विद्यार्थी संगठनमा आबद्ध भए। ०६२ सालबाट जनमुक्ति सेनामा प्रवेश गरे। जनमुक्ति सेनामा प्रवेश गरेपछि धेरै युद्ध लडेको उनी बताउँछन्। जसमध्ये तत्कालीन शाही सेनासँग भएका प्रमुख युद्धमा भोजपुरको गोडेटार, सलार्हीको मलंगवा लगायतका रहेको गौतम बताउँछन्। सानातिना युद्ध भनेर र गनेर साध्य नभएको उनको अनुभव छ।

'एकपटक सिरहाको गोलबजारमा पार्टीकै कामले जाँदा सेनाले थाहा पाएर पिछा गरेछ। हामीले थाहा पाएनौँ, हामीले थाहा पाउँदा दुस्मन नजिकै आइसकेको रहेछ। भाग्ने क्रममा सेनाले गोली चलायो। भाग्दा कानैबाट गोली गयो। तर, मलाई केही भएन।' उनले सम्झँदै भने, 'अहिले पनि कानैबाट गोली गएको सम्झिँदा मनमा चिसो हुन्छ।'

कैयौँ युद्ध लडे पनि आफूले मान्छे मार्नुपर्ने दिन भने नआएको गौतम बताउँछन्। भन्छन्, 'भोजपुरको घोडेटारमा हामी २२ जनाले एकजना घाइते बोकेका थियौँ। त्यो माओवादी हो कि शाही सेना हो थाहा भएन।' उनी थप्छन्, 'रातभरी घाइते बोकेर हिँड्दा धेरै साथीहरू भाग्नुभएछ। बाँकी हामी चार पाँचजना मात्र थियौँ। बिहान उज्यालो भएर हेर्दा रातभरी घाइते बोकेको बाटोको दूरी १५ मिनेटको रहेछ।'

आधा दशक माओवादीमा जीवन गयो, राहत पाइनँ

तत्कालीन भूमिगत माओवादीको विद्यार्थी संगठन हुँदै प्रपोकाण्ड विभाग, प्रचारप्रसारलगायत विभिन्न विभाग र जनमुक्ति सेनाको जिम्मेवार सम्हाल्दै शान्ति प्रक्रियासम्म आइपुगेर। सेना समायोजन हुने बेलामा आफूले बिना राहत सेनाको सिविर छाड्नुपरेको दुखेसो उनको छ। 'विभिन्न ठाउँमा जनमुक्ति सेनाको क्यान्टोनमेन्ट थियो, म अधिकांश क्यान्टोनमेन्टमा बसेको छु।' उनले थपे, 'सेना समायोजन हुने वेला संयुक्त राष्ट्र संघ (युएन)को पहिलो प्रमाणीकरणमा म सिन्धुलीको दुधौली लडाकु सिविरमा थिएँ।'

दोस्रो र तेस्रो प्रमाणीकरणका बेला पार्टीले खटाएका काममा आफू बाहिर परेको उनको गुनासो छ। उनी भन्छन्, 'न मैले अयोग्य लडाकुको राहत पाएँ, न पार्टीले  दिएको योङ कम्युनिस्‍ट लिगको सहयोग, पाएँ,' दुखी हुँदै उनले थपे, 'काम लगाए, जेलको भात खुवाए, कुनै प्रकारको पनि राहत दिएनन्।'

माओवादीप्रति कुनै गुनासो छैन

कलाकार गौतम तत्कालीन माओवादीप्रति आफ्नो कुनै गुनासो नरहेको बताउँछन्। २०५२ देखिको नेकपा माओवादी २०६३ सालसम्म आउँदा धेरै भिन्नता आइसकेको थियो। त्यो देश र जनताले मागेको परिवर्तनशील हुँदै गएर त्यस्तो भएको उनको बुझाइ थियो। २०६३ सालदेखि २०७५ सालसम्म आउँदा माओवादीलाई कसले कुन नजरले हेरेका होलान्, त्यो आफू भन्न नसक्ने गौतमको मत छ।

तर, अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालसम्म आउँदा माओवादी आन्दोलन समयसापेक्ष परिवर्तन भएको जस्तो लागेको उनी बताउँछन्। उनी भन्छन्, 'अहिलेको परिवर्तन माओवादीको बलमा आएको हो। त्यसका लागि माओवादीप्रति मेरो कुनै गुनासो छैन,' उनी थप्छन्, 'माओवादी भएकै कारण मैले पाउनुपर्ने पैसा नपाए पनि मलाई कुनै चिन्ता  छैन।'

कलाकारितासँगै साहित्य र पत्रकारिता

हास्यव्यंग्य कलाकारको साहित्यमा पनि रुचि हुन स्वाभाविकै हो। गौतम पनि विभिन्न विषयलाई समेटेर फुटकर कविता, गजल, चुट्किला लेख्ने गर्दछन्। उनको ‘हाँसी हेर आज’ कविता संग्रह प्रकाशित छ। अन्य हास्यव्यंग्य र चुटकिला संग्रह पनि प्रकासनमा ल्याउने तयारीमा रहेको उनी बताउँछन्। भन्छन्, 'म धेरै समय परिवेशलाई ध्यान दिएर कविता कोर्ने गर्दछु। तर, साहित्यकार भने होइन।'

यता, माओवादी आन्दोलनसँगै पत्रपत्रिकामा समाचार र लेख लेख्दै पनि आएका छन् उनी। अहिले पनि  उनी ‘जनजीब्रो’ साप्ताहिकमा आबद्ध छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.