|

काठमाडौं : सुनिलकुमार रंजितले कोरेको मगर समुदायको पुर्ख्यौली नाचसम्बन्धी चित्रकला प्रदर्शनी गरिएको छ। मगर जातिको मौलिक नाच ‘पुर्ख्यौली नाच’को चित्रकला बिहीबार सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शनी गरिएको हो।

अमूर्त संस्कृतिअन्तर्गत पर्ने मौलिक परम्परामा आधारित पुर्ख्यौली नाचको चित्रकला प्रदर्शनी गरिएको हो। लोक वार्ता परिषद् नेपालको आयोजना तथा पुर्ख्यौली संरक्षण समूह म्यादी मगर समाज काठमाडौंको सहआयोजनामा कार्यक्रम गरिएको हो।

नेपालका आदिवासी जनजाति समुदायमध्ये मगर सबैभन्दा बढी जनसंख्या भएको जाति हो। भाषिक हिसाबले काइके, खाम/पाङ र ढुट गरी तीनखाले भाषिक विशेषता बोकेको यस जातिभित्र विभिन्न संस्कृतिहरू रहेका छन्।

त्यसमध्ये धौलागिरी क्षेत्रको म्याग्दी र पर्वत क्षेत्रका मगर जातिको मौलिक नाच हो- पुर्ख्यौली। यसलाई पुरानो नाच, बुढापाकाको नाच, सोरसोती उतार्ने नाच, हाइ हाल्ने नाच र सोरठी जस्ता विभिन्न नाचले चिनिन्छ। आख्यानसहित तथा आख्यानरहितका यी नाचका बारेमा अध्येता प्रतिभा पुनले अध्ययन गरेकी हुन्। जातीय नृत्यशैलीमा, जातीय वेशभूषा तथा मौलिक क्षेत्रीय भाषिकामा यो नाच प्रस्तुत गर्ने गरिन्छ।

अमूर्त संस्कृतिको संवाहक बनेको पुर्ख्यौली नाचलाई कलाकार रंजितले अमूर्त चित्रमा उतारेका हुन्। पुर्ख्यौली नाच हेर्ने क्रममा त्यसको प्रदर्शनका क्रममा देखिएका घटनाक्रमबाट प्रभावित भएर अमूर्त मौलिक नाचको संरक्षण गर्नुपर्छ भनेर चित्र कोर्ने निर्णय गरेको चित्रकार रंजितले बताए। ‘गज्जबको संस्कृति लागेर यसको संरक्षण गर्नुपर्छ भन्ने सोचेर चित्र कोर्ने निर्णय गरेँ’, चित्रकार रंजितले भने, ‘अनुसन्धान गरेर राम्रो कला सिर्जना गर्न पाएँ भने मगर जातिका लागि र सबैका लागि अमूर्त संस्कृतिको जगेर्ना हुन्छ भनेर लागेँ।’

कार्यक्रममा चित्रबारे बोल्दै नवीन्द्रमान राजभण्डारीले चित्र कोर्दा फर्म, कन्टेन्ट र स्टाइल हेरिने भन्दै समय परिस्थितिअनुसार कन्टेन्ट र फर्म परिवर्तन हुन सक्ने भए पनि समयअनुसार चित्रकारको स्टाइल भने एउटै हुने बताए। उनले पुर्ख्यौली नाचले मगर समुदायको मात्र नभएर समग्र अमूर्त संस्कृति संरक्षणमै मद्दत पुग्ने पनि उल्लेख गरे। 

त्यस अवसरमा पुर्ख्यौली नाचसमेत प्रस्तुत गरिएको थियो। चित्रकला प्रदर्शनी आगामी असोज २२ गतेसम्म चल्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.