नगर प्रमुखकै अस्पतालमा सिलबन्दी

|

उदयपुर : दशैँ, तिहार, छठ जस्ता चाडबाड नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तीव्रता दिएको छ। बजार अनुगमनसँगै यहाँका व्यवसायीहरू आन्दोलनमा उत्रेका छन्। आइतबारदेखि जिल्लाव्यापी अनुगमन हुन थालेपछि कटारी नगरपालिकाको कटारी बजारका व्यवसायीहरूले अनिश्चितकालीन बन्द सुरु गरेका छन्।

आइतबार इलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनील पौडेलको नेतृत्वमा अनुगमन टोलीले कटारी बजार अनुगमन गरेको थियो। ‘हामीले मूल्यसूची नराख्ने पसल, प्यान र भ्याटमा दर्ता नभएका पसललाई दर्ता गर्न निर्देशन दिनुको साथै म्याद गुज्रिएका समाना बरामद गरेका थियौँ,’ इलाका प्रशासन कार्यालय कटारी प्रमुख सुनील पौडेलले भने, ‘आजै हामीले गरेको अनुगमनकै विरुद्धमा व्यवसायीहरू आन्दोलित भएका छन्, बजार अनुगमन बन्द भएको छ।’

पौडेलले प्यान र भ्याटमा समेत दर्ता नगरी ठगी गरेको खुलासा भएपछि आन्दोलन गरेको बताए। ‘कटारी बजारमा उपभोक्ता ठग्ने र सरकार ठग्ने व्यापारीहरू छन्,’ उनले भने, ‘अनुगमन गर्दा पनि रिसाउँछन्।’

छलफल विपरीतको अनुगमन मान्दैनौँ : संघ अध्यक्ष

उदयपुर उद्योग वाणिज्य संघ कटारीको नेतृत्वमा बजार बन्द भएको छ। संघका अध्यक्ष पुष्कर खड्काले उद्योग वाणिज्य संघसँग भएको छलफल विपरीत बजार अनुगमन गरेपछि विरुद्धमा आन्दोलन गर्नुपरेको बताए। ‘प्रशासनलाई प्यान र भ्याट बिल हेर्ने अधिकार छैन,’ उनले भने, ‘बजार अनुगमन गर्ने छलफलमा समेत प्यान र भ्याट बिल नर्हेने सहमति भएको थियो, त्यसैको विरुद्धमा आन्दोलन गर्नुपरेको हो।’

दशैँको मुखैमा बजार बन्द भएपछि उपभोक्ता निराश बनेका छन्। ‘जनतालाई ठग्ने पनि यिनै व्यपारी र प्रशासनले अनुगमन गर्दा पनि बजार बन्द गर्ने व्यापारीलाई सरकारले कारबाही गर्न सकेन,’ कटारीका स्थानीय उपभोक्ता रामधुन चौधरीले भने, ‘बजार बन्द भएपछि केही किनमेल गर्न पाइएन, बजार बन्द गर्नेलाई कानुन लगाउँछ सरकारले भनेको हेर्न बाँकी छ।’

नगरप्रमुखकै अस्पतालमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खेमराज थापाको नेतृत्वमा गएको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिका प्रमुख खगेन्द्र राईको निजी अस्पतालमा सिलबन्दी गरेको छ। सोमबार चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा रहेको चौदण्डीगढी हस्पिटल बन्द गरेको हो।

हस्पटिलको कुनै पनि सरकारी कागजात नभएपछि बन्द गरेको अनुगमन टोलीका प्रशासकीय अधिकृत थापाले जानकारी दिए। ‘कुनै पनि सरकारी मापदण्ड पूरा गरेको भेटिएन,’ उनले भने, ‘कागजात पूरा गरेर नल्याएसम्मको लागि सिलबन्दी गरेका हौँ, मेयर साबले किन बन्द गरेको भन्दै प्रश्न गर्नुभएको छ’

बजार अनुगमन टोलीले एक्कासि बजार अनुगमन गरेको भन्दै चौदण्डी नगरपालिकाका प्रमुख राईले दुख व्यक्त गरेका छन्। ‘अस्पतालमा मेरो पनि थोरै शेयर छ, अस्पताल बन्द गरेपछि त्यहाँबाट फोन आएको थियो,’ उनले भने, ‘स्थानीय सरकारले पनि नगर उपप्रमुखको नेतृत्वमा बजार अनुगमन गरिरहेको छ। अस्पतालको कागजात पु¥याउन मैले अस्पताल सञ्चालन गरिरहेका भाइहरूलाई भनेको छु।’ बेल्टार बजारमै रहेको शुभकामना पोलिक्निक एण्ड डाइसोसी सेन्टर र सूर्योदय हस्पिटलमा समेत सिलबन्दी गरेको अनुगमन टोलीले जानकारी दिइएको छ। बेल्टार बजारमा विभिन्न म्याद गुज्रिएका विभिन्न प्रकारका उपभोग्य समानसमेत जफत गरेको जानकारी दिइएको छ।

बजार अनुमगन रोकिँदैन : प्रजिअ कार्की

उदयपुरका प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले बजार अनुगमनमा अवरोध गरेपछि बजार अनुगमन नरोकिने बताएका छन\। ‘अनुगमनलाई तीव्र बनाएका छौँ’ उनले भने, ‘बजार बन्दै गर्दैमा, फोन गर्दैमा बजार अनुगमन रोकिने छैन।’

प्रजिअ कार्कीका अनुसार आइतबार जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रशासकीय अधिकृत खेमराज थापाको नेतृत्वमा त्रियुगा नगरपालिकाको गाईघाट बजारमा विभिन्न किराना पसल, औषधी पसल, होटल, एग्रोभेटमा बजार अनुगमन गरेको छ।

जसबाट म्याद गुज्रेको खान नमिल्ने चामल १० बोरा, मैदा ७ बोरा, जुस, चाउचाउ, बिस्कुट, गरम मसला, मिठाइमा प्रयोग हुने अखाद्य केमिकल रङ तथा कृषि वालिमा प्रयोग हुने म्याद गुज्रिएका विभिन्न विषादी करिव २० हजार मूल्य बराबरको जफत गरेको छ। गाईघाटबाट मात्र जम्मा ७० हजार मूल्य बराबरको सामान जफत गरी नष्ट गरेको कार्कीले जानकारी दिए। प्रशासकीय अधिकृत थापाको नेतृत्वमा स्थानीय तहका जनप्रतिनिधि, जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृतहरू र उद्योग वाणिज्य संघको संयुक्त अनुगमन टोली रहेको कार्कीले जानकारी दिए।

निजी अस्पतालको बेथिति

उदयपुरका विभिन्न बजारमा च्याउसरी खोलिएका निजी स्वास्थ्य संस्थाहरू सरकारी मापदण्डविपरीत रहेका छन्। स्वास्थ्य संस्था संचालन तथा मापदण्ड निर्देशिका २०७० तथा पहिलो संशोधन २०७१ ले तोके अनुसारको मापदण्ड पूरा नगरेका प्रशस्त भेटिने गरेको सरोकारवालको भनाइ छ। निर्देशिकाले तोकेको सामान्य मापदण्डसमेत निजी अस्पतालले पूरा गरेका छैनन्। जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी दुनियाँला यादवले भने, ‘हामीले पटक-पटक ताकेता गरिरहेका छौँ, निजी अस्पताल सञ्चालकहरूले अटेर गर्ने गरेका छन्।’

सूचना अधिकारी यादवका अनुसार निर्देशिकाले न्यूनतम एक जना एम वि वि एस डाक्टर अनिवार्य राख्नु पर्ने, आफ्नै भवनमा अस्पताल सञ्चालन हुनुपर्ने, भाडा लिएको भवन भए पार्किंङ लगायत सुविधा उपलब्ध गराउनु पर्ने, जन स्वास्थ्य कार्यालयमा निजी अस्पतालले मासिक प्रतिवेदन नबुझाउनुपर्ने, सुपरिभिजन फारम, कर्मचारी विवरण, लेखापरिक्षण, लगायतका सेवा शुल्क विवरण प्रष्ट खुलाउने पर्ने प्रवधान तोकेको छ। स्वास्थ्य संस्था संचालन तथा मापदण्ड निर्देशिका २०७० तथा पहिलो संशोधन २०७१ ले तोकेका जिल्लामा कुनै पनि नीजि स्वास्थ्य संस्थाले पूरा नगरेको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.