कञ्चनपुर : दशैंको अवसरमा थारु युवतीले सामूहिक रुपमा प्रस्तुत गर्ने सखिया नृत्यको कञ्चनपुरका थारु गाउँमा रौनकता थपिएको छ। दशैंअघि र पछि गरी एक महिनासम्म आयोजना गरिने सखिया नृत्य हेर्नुको मज्जानै बेग्लै छ।
मादलको तालसँग परम्परागत पहिरनमा सजिएका थारु युवतीले सखिया नृत्य गर्दा मन्त्रमुग्ध नहुने सायदै कमै होलान्। थारु समुदायको दशैंका अवसरमा नाचिने मुख्य नृत्यनै सखिया हो। सखि अर्थात साथीहरूले सामुहिक रुपमा पंक्तिवद्ध भई नृत्यमा सहभागिता जनाउदछन्। विगतका रिस राग, झैंझगडा र मनमुटाव बिर्सदै नृत्यमा सहभागी हुने र नृत्य हेर्नका लागि गाउँका बासिन्दा आइपुग्ने गर्दछन्।
थारु समुदायले सखिया नृत्यको आनन्द लिँदै सुगुरको मासुसँग चामलको पिठोबाट बनाइएको ढिक्री निकै चापसँग खाने गर्दछन्। ढिक्री विशेष गरी दशैं तिहार र माघी लगायतका थारु समुदायका महत्वपूर्ण चाडपर्वमा बनाइने गरिन्छ। अरु बेला राति देखाइने सखिया नृत्य अष्टमीदेखि कोजाग्रत पूर्णिमासम्म दिउँसो परम्परागत परिधानमा सजिएर देखाउनु पर्ने चलन रहेको छ। सखिया नृत्य गाउँका भद्र भलादमीका घरमा अवश्य देखाउनुपर्ने चलन छ। सखिया नृत्यको आयोजना गरे गाउँमा अनिकाल नपर्ने र महामारी नलाग्ने जनविश्वास रहिआएको पिपलाडीका विश्राम चौधरीले बताए।
थारु गाउँका भलादमी, बडघर, गुरुवा, केसौका आदिको बैठक बसी सखिया नृत्यको आयोजना गर्नका लागि छलफल गरे पछि नृत्यको व्यवस्थापनको चाजोपाँजो मिलाउने गरिन्छ। गुरुवा (झाँक्री) ले तान्त्रिक विधिद्वारा नृत्यमा सहभागिता जनाउने युवा युवतीलाई दुष्टात्माको भवितव्यबाट बचाउनका लागि पूजा र अनुष्ठान गरेपछि यस नाचको प्रारम्भ गरिन्छ।
सखिया नृत्यमा भगवान कृष्णको जन्म लीलादेखि मृत्यु सम्मको वर्णन गरिएको हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।