'अपराधीलाई सरकारले लुकाएकाले सास रहुन्जेल न्यायका लागि लड्छौँ'
'अपराधीलाई सरकारले लुकाएकाले सास रहुन्जेल न्यायका लागि लड्छौँ'
कञ्चनपुर : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तका आमा र बुबा न्यायका लागि धर्नामा बसेका छन्। निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्त आइतबार दिउँसोदेखि कञ्चनपुर जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा बसेका हुन्।
धर्नामा बस्नु पहिले निर्मलाकी आमा दुर्गादेवी पन्तले सरकारले नै अपराधीलाई लुकाएर राखेको आरोप लगाएकी छन्। उनले सरकारले नै अपराधीलाई संरक्षण गरेर राखेकाले तत्काल सार्वजनिक गर्न माग गरेकी छन्। उनले भनेकी छन्, 'अपराधीलाई लुकाएर राखिएको छ। सरकारको संरक्षणमा छ। तत्काल सार्वजनिक गर्नुपर्यो।'
त्यस्तै निर्मलाका बुबा यज्ञराज पन्तले सास रहुन्जेल न्यायका लागि लड्ने बताएका छन्। 'सास रहुन्जेल न्यायका लागि लड्छौँ। डीएनए सुरक्षीत छ कि छैन र राखिएको हो कि होइन भन्नेमा आशंका छ। हत्यारालाई तत्काल सार्वजनिक गर्नुपर्छ।' यज्ञराजले निर्मलाको बलात्कार र हत्यापछि कञ्चनपुरमा भएको आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएकालाई राज्यले उपचारको व्यवस्था गर्ने भनेपनि अहिले अलपत्र छोडेको बताएका छन्। उनले घाइतेहरूको उपचारको व्यवस्था गर्न पनि माग गरेका छन्।
धर्नामा निर्मलाकी कान्छी आमा लक्ष्मीदेवी पन्त पनि बसेकी छन्। त्यस्तै धर्नामा ६५ वर्षीया जानकी बम, महिला अधिकारकर्मी सारदा चन्द, माया नेगीलगायत बसेका छन्। २४ घण्टे धर्नालाई निर्मलासँगै पढ्ने विद्यार्थी र नागरिक समाज, कञ्चनपुरले समर्थन गरेको छ।
प्रशासन कार्यालयअगाडि धर्ना बस्नु पहिले महेन्द्रनगर बजारमा र्याली आयोजना गरिएको थियो। अधिकारकर्मी चन्दले निर्मला बलात्कार र हत्याका प्रमाण प्रहरीले योजनाबद्ध रूपमा नष्ट गरेको बताएकी छन्। उनले हत्यारा पत्ता नलागेसम्म आन्दोलन जारी रहने बताइन्।
निर्मला पन्तको बलात्तकार पछि हत्या गरिएको अवस्थामा गत साउन ११ गते शव भेटिएको थियो। साउन १० गते साथीको घरमा गएकी उनी ११ गते मृत भेटिएकी थिइन्। यो प्रकरणमा तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्ट प्रहरी सेवाबाट बर्खास्त गरिएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।