|

कालीकोट : साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा भलिबलका खेलाडीको नाम लिँदा कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका- १ (साविकको मान्म गाविस)मा वि.सं. २०२५ कार्तिक २० गते जन्मिएका ऐनबहादुर शाहीको नाम आउँछ। कुनै बेला भलिबलका हस्ती खेलाडीका रूपमा चर्चित शाही अहिले नेपाल भलिबल संघका केन्द्रीय उपाध्यक्ष पनि हुन्।

२०६६ सालमा भलिबल संघको केन्द्रीय सदस्यमा निर्वाचित भएका शाही त्यसपछिका दुई कार्यकालमा उपाध्यक्ष पदमा निर्वाचित भएका छन्। भलिबल खेल्नका लागि उचाइले साथ दिएका शाहीको ६ फिट २ इन्च उचाइ रहेको छ। अहिले शाहीले खेल जीवनबाट सन्यास लिइसकेका छन्। खेल जीवनका विभिन्न पाटाका विषयमा शाहीले थाहाखबरकर्मी रमेश रावललाई यसरी सुनाए। 

मोजाको भकुण्डो

साविकको कर्णाली अंचलमा अहिले जस्तो गाडी र सडक अनि अन्य पूर्वाधारको विकास भएको थिएन। पूर्वाधारको विकास नभएको कर्णालीको कालीकोट जिल्लामा बजारको विकास भएको थिएन। भलिबल आर्थिक अवस्था राम्रो भएको विद्यालयमा मात्र हुन्थ्यो। सानै उमेरमा घरमा मोजाको भकुण्डो बनाएर एकआपसमा खेल खेल्ने गरेका थियौँ। मोजाको भकुण्डो खेल्दाखेल्दै स्कुल जीवनमा प्रवेश भयो। स्कुल जीवन सुरु भएपछि मभन्दा सिनियर खेलाडीहरूले भलिबल नै छुन नदिने। खेलभन्दा बाहिर गएको बल समाएर चित्त बुझाउनुपर्थ्यो। 

माध्यमिक तहमा पढ्दा भलिबल खेल्न थालियो। जिल्लास्तरीय भलिबल रनिङ शिल्डमा त्यतिबेला माध्यमिक विद्यालयमा पढ्ने विद्यार्थी भाग लिने गर्थे। मैले त्यहीँ भलिबलमा निखारता ल्याउने कोसिस गरेँ। हामीले सधैँ वीरेन्द्र रनिङ शिल्डमा प्रथम स्थान हासिल गर्न थाल्यौँ। म त्यति बेला राम्रो खेलाडी बनिसकेको थिएँ। म जिल्लाबाट प्रतिनिधित्व गर्ने खेलहरूमा भाग लिन थालेँ। 

त्यतिबेलामा अंचलस्तरीय खेल हुने गरेका थिए। क्षेत्रीयस्तरका भलिबल खेल हुने गर्थे। २०४३ सालमा क्षेत्रीयस्तरको भलिबल खेल सल्यान जिल्लामा भयो। त्यसमा मैले पहिलो पटक जिल्लाको प्रतिनिधित्व गर्दै खेल खेलेको थिएँ। मेरै राम्रो प्रदर्शनका कारण हामीले तेस्रो स्थान हासिल गर्‍यौँ। 

राष्ट्रिय टिममा प्रवेश

राष्ट्रियस्तरका खेलमा पाँच विकास क्षेत्र र अंचलले मात्र खेल्न पाउँथे। त्यही सल्यानमा राम्रो खेलेका कारणले मध्यपश्चिममा क्षेत्रीय टिममा मेरो नाम सेलेक्ट भयो। अंचलबाट खेल्न थालेँ। राष्ट्रिय टिमसँग महेन्द्रनगर, विराटनगरलगायतका विभिन्न ठाउँमा गएर राष्ट्रिय खेल खेलेँ। 

'कहिल्यै पदकविहीन भएनौँ'

मैले भलिबल खेल्न कालीकोट जिल्लाको प्रतिनिधित्व गर्न थालेपछि हामी कहिल्यै पदकविहीन भएर फर्केनौँ। अंचलस्तरीय भएका खेलमा दुई पटक प्रथम, दुई पटक दोस्रो र एक पटक तेस्रो स्थान हासिल गरेका थियौँ। दाङमा भएको क्षेत्रीय खेलमा हामीले पहिलो स्थान हासिल गर्‍यौँ। त्यो बेलासम्म बर्दियाले पहिलो स्थान हासिल गर्ने गरेको थियो। त्यो रेकर्ड हामी तोड्यौँ। दाङमा भएको खेलले नै मलाई राष्ट्रिय टिममा राख्न बाध्य भएको थियो।

अधुरो सपना

८औँ सार्कमा म भलिबलको राष्ट्रिय टिममा परेको थिएँ। त्यतिबेला राष्ट्रिय टिमका कोच हुकुमबहादुर गिरी थिए। उनी दाङका हुन्। राष्ट्रिय टिममा उनले राम्रा खेलाडीभन्दा पनि हाम्रा खेलाडीलाई राखे। मैले त्यो कुरामा असहमति जनाएँ। राष्ट्रिय टोलीमा रहेर नखेल्ने निर्णय गरेँ। त्यतिबेलाको खेलकुद परिषद्लाई जानकारी गराए। त्यतिबेलाका खेलकुदमन्त्री पूर्णबहादुर खड्का थिए। हामीले त्यो कुरा मन्त्रीसँग राख्यौँ। मन्त्रीले भलिबलका राष्ट्रिय कोचबाट गिरीलाई हटाए। तर सार्क खेल त्यो बेलासम्म ढिला भइसकेको थियो। मेरो सार्क खेल खेल्ने योजना त्यहीँ तुहियो। मेरो सार्कमा नेपालका लागि पदक लिने योजना थियो। त्यो सफल हुन पाएन। मलाई त्यसैमा दुःख छ। 

आर्मी र पुलिस क्लवको अफर

अहिले खेल खेलेर बाँच्ने आधार नभएको बेला त्यतिबेला राम्रा खेलाडीलाई त्रिभुवन आर्मी क्लव र पुलिस क्लवले लैजाने गरेको थियो। मेरो भलिबलमा राम्रो खेल भएका कारण त्रिभुवन आर्मी क्लव र पुलिस क्लवमा रहेर खेल्न अफर आएको थियो। मैले घरपरिवारलगाएतका विभिन्न कारणले दुवै क्लवबाट आएका अफर स्वीकार गरिनँ। 

'चारवटा भँगेरा मरे'

त्यतिबेला कालीकोट जस्तो दुर्गम क्षेत्रमा खेल्नका लागि फिल्ड थिएन। अभ्यास खेल हामी जिल्लामा जिल्ला प्रहरी कार्यालयमा जान्थ्यौँ। नेपाल प्रहरीका जवानसँग अभ्यास खेल खेल्ने गरेका थियौँ। जिल्ला प्रहरी कार्यालय कालीकोटमा अभ्यास खेल खेलिरहेका थियौँ। अभ्यास खेलका क्रममा मैले सर्ट हानेँ। सर्ट हानेको बल भुइँमा जोडले बजारियो र आकाशमा गयो। आकाशमा भँगेराको बथान उडिरहेको रहेछ। जोडले हानिएको बल भुइँमा हुँदै आकाशमा बत्तिएपछि आकाशमा उडिरहेका भँगेरामा लागेछ। बलसँगै चार भँगेरा पनि जमिनमा मरेर खसे। 

सार्कमा म्यानेजरतर्फ कास्य पदक

सार्क खेल खेल्ने इच्छा मेरो अधुरो नै थियो। सार्क खेल खेलेर नेपाललाई पदक दिने इच्छा अधुरै रहेका बेला सन् २०१३ मा नेपालमा नै प्रथम भलिबल साउथ एसियन च्याम्पसीप खेल भयो। त्यसमा मैले राष्ट्रिय टिमको म्यानेजरका रूपमा काम गर्ने मौका पाएँ। नेपालले त्यो खेलमा तेस्रो स्थान हासिल गर्‍यो। मलाई राम्रो म्यानेजिङ गरेको आधारमा मैले पनि म्यानेजिङ कास्य पदक पाएँ। अन्य सबै खेलमा पाएका उपाधिभन्दा मलाई त्यतिबेला ठूलो गर्वको महसुस भयो। 

अहिले खेलाडी भएर बाँच्न सकिँदैन। खेलाडी भएर बाँच्नका लागि व्यावसायिक खेलाडी बनाउन राज्यले ध्यान दिन जरुरी छ। व्यावसायिक खेलाडी उत्पादन नगरी खेलकुद क्षेत्रको विकास पनि हुँदैन।

 

खेदकुदमा अतिराजनीतीकरण

नेपालको हरेक ठाउँमा राजनीतीकरण गर्नाले सबै क्षेत्र बिग्रिएको छ। राजनीतीकरणकै कारणले नेपालले अहिले खेलकुद क्षेत्रका विकासको फड्को मार्न सकेको छैन। खेदकुद क्षेत्रलाई राजनीतीकरण गरिनाका कारणले अहिले हामी खेलकुदमा पछाडि परेका छौँ। म त भन्छु, खेलकुदलाई राजनीतीकरणभन्दा पनि व्यावसायीकरणको आवश्यकता छ। विद्यालयस्तरदेखि नै खेलकुदलाई पनि अनिवार्य गरिनु आवश्यक छ। विद्यालयस्तरबाट नै खेलकुद क्षेत्रलाई विकास गरियो भने मात्र देशमा खेलको विकास संभव छ। 

अहिले खेलाडी भएर बाँच्न सकिँदैन। खेलाडी भएर बाँच्नका लागि व्यावसायिक खेलाडी बनाउन राज्यले ध्यान दिन जरुरी छ। व्यावसायिक खेलाडी उत्पादन नगरी खेलकुद क्षेत्रको विकास पनि हुँदैन।

'अहिलेका खेलाडीमा मिहिनेत छैन'

मैले भलिबल खेल सुरु गर्दा निकै कठिन अवस्था थियो। दुर्गम कालीकोटमा फिल्ड पाउन, भलिबलको अभ्यास खेल खेल्न पनि कठिन थियो। त्यस्तो अवस्थामा मैले भलिबल खेल जीवन अगाडि बढाएको हुँ। घरको काम सकेर अभ्यास खेल खेल्न जिल्ला प्रहरी कार्यालय कालीकोटको फिल्डमा बेलुका जहिले पनि हाजिर हुन्थेँ। घरमा खेती किसानको काम अरूभन्दा चाँडै सकेर भलिबलका लागि गरिने अभ्यास बाटोमा नै गर्थें। बिहानै ४ बजे उठेर भलिबलको अभ्यास गरेर ५ बजे घरको काम गर्न निस्कन्थेँ। अहिले कुनै पनि खेलाडी त्यसरी अभ्यास नै गर्दैनन्। कुनै पनि मानिसमा खेल्ने इच्छा पनि छैन। खेलाडीले कडा मिहिनेत नगरी खेलमा निखारता ल्याउनै सक्दैन। खेल भनेको मिहिनेत पनि हो। मिहिनेत नगरी कसरी खेल हुन्छ?  

सन्यास

मैले २०६४ सालदेखि भलिबल खेल जीवनबाट सन्यास लिएको हुँ। खेल जीवनबाट सन्यास लिए पनि अहिले म खेलकुदका हरेक क्षेत्रमा जोडिएर काम गरिरहेको छु। नेपाल भलिबल संघको केन्द्रीय उपाध्यक्ष भएर काम गरिरहेका छु। भलिबल क्षेत्रको विकासमा अझै पनि लाग्ने इच्छा छ। म बाँचुन्जेल यस क्षेत्रको विकासमा नै ध्यान दिने अठोट लिएको छु। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.