सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतमा सबैभन्दा धेरै स्थानीय तहसँग सम्बन्धित उजुरी परेका छन्। कर्णाली प्रदेशका दश जिल्ला कार्यक्षेत्र रहेको सुर्खेतस्थित अख्तियारको कार्यालयमा सबैभन्दा बढी उजुरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यक्षेत्रभित्र सम्बन्धित रहेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतका प्रमुख ज्ञानराज सुवेदीका अनुसार एक वर्षभरमा सबैभन्दा बढी संघीय मामिला तथा सामान्य प्रशासनतर्फ १५५ वटा उजुरी परेका छन्। जसमा ३२ वटा उजुरी फर्स्योट भएका छन् भने १२३ वटा उजुरी फर्स्योट हुन बाँकी रहेका छन्। संघीयतापछि शिक्षा विज्ञान तथा प्रविधि मा १४५ वटा उजुरी परेका छन्। तेस्रोमा वन तथा वातावरणका ५१, उर्जा तथा जलस्रोतका ४१ वटा, स्वास्थ्य तथा जनसंख्याका ३३ खानेपानीका १७, भौतिक पूर्वाधारका १७, भूमि व्यवस्था तथा सहकारीका ११, गृहका १० वटा उजुरी परेका छन्।
सबैभन्दा कम उजुरी युवा तथा खेलकुदका १ वटा, सञ्चार तथा प्रविधिका २, संस्कृति तथा पर्यटनका ३, उद्योग वाणिज्यका ३, सहरी विकासका ५ र कृषि तथा पशुपक्षीमा ९ वटा उजुरी परेका छन्।
सुर्खेतका उजुरी धेरै, डोल्पाका कम
यसैगरी, कर्णाली जिल्लागत रूपमा सबैभन्दा बढी उजुरी सुर्खेतमा परेका छन्। कर्णालीका जिल्लामध्ये सबैभन्दा बढी सुर्खेतका १०६ वटा उजुरी अख्तियारमा परेका छन्। त्यस्तै दैलेखका ८५, जाजरकोटका ७३, कालीकोटका ५८, जुम्लाका ४२, हुम्लाका ४०, रुकुममा पश्चिमका ३५, सल्यानका, ३३ मुगुका २१ र डोल्पाका ६ वटा उजुरी परेका छन्।
अघिल्लो आर्थिक वर्षमा फर्स्योट हुन बाँकी रहेका १८० र यो आर्थिक वर्षमा आएका ३२३ वटा उजुरी गरी जम्मा ५०३ वटा उजुरी अख्तियार कार्यालय सुर्खेतले हरिरहेको छ। जसमध्ये ११२ वटा उजुरी फर्स्योट भएका छन् भने ३९१ वटा उजुरी फर्स्योट हुन बाँकी छन्।
४ वर्षमा २ करोड असुली
सहसचिव सुवेदीका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षको अवधिमा २ करोड १४ लाख ५६ हजार ७१५ रुपैयाँ पचास पैसा रकम असुली गरेको छ। कार्यालयले आर्थिक वर्ष ०७१/०७२ मा ५० लाख ४९ हजार ५१२ रुपैयाँ ४६ पैसा, आर्थिक वर्ष ०७२/७३ मा १ करोड १४ लाख ९२ हजार ६४६ रुपैयाँ, आर्थिक वर्ष ०७३/७४ मा ११ लाख ७३ हजार ९९१ रुपैँया असुल गरेको हो। साथै सोही वर्ष कार्यालयले आयोगको निर्णयबाट ५९ हजार ६०० रुपैयाँ असुल गरेको जनाइएको छ। यस्तै आर्थिक वर्ष ०७४/७५ मा ११ लाख ७३ हजार ९९१ रुपैयाँ कार्यालयले असुली गरेको छ।
३६ मुद्दा दायर
सुर्खेतस्थित अख्तियारको कार्यालयले अहिलेसम्म ३६ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ। ती सबै मुद्दामा ९० जनालाई प्रतिवादी बनाइएको छ। चालु आर्थिक वर्षको पहिलो चौमासिकमा मात्रै तीन मुद्दामा ७ जनालाई प्रतिवादी बनाई विशेष अदालतमा मुद्दा दायर गरिएको कार्यालय प्रमुख ज्ञवालीको भनाइ छ ।
सुर्खेतमा शिक्षाका उजुरी बढी
सुर्खेत जिल्लामा मात्रै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका ३७ ओटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका २३ ओटा, वन तथा वातावरण मन्त्रालयका १९ वटा, स्वास्थ्य जनसंख्या मन्त्रालयका १० वटा उजुरी कार्यालयमा दर्ता भएका छन्। त्यस्तै, खानेपानी मन्त्रालयका ४, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ३ वटा, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको २ कृषि तथा पशुपक्षी विकास मन्त्रालयको २, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एक, गृहको १ र युवा तथा खेलकुद मन्त्रालयको एक गरी जम्मा १०६ वटा कार्यालयमा उजुरी आएकोमा ३२ ओटा फर्स्योट भइसकेका छन्।
अहिले अख्तियारमा सोझै कार्यालयमा, इमेलमार्फत, फोन तथा संचारमाध्यमहरुमा आएका भ्रष्टचारका समाचारलाई पनि उजुरीका रूपमा लिने गरेको सुर्खेत कार्यालयका प्रमुख ज्ञानराज सुवेदीले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।