ट्राफिक व्यवस्थापनका स्वयंसेवी शेखर राईको कथा

|

काठमाडौं : मानिसहरू कार्यालय जाने-आउने चापाचापको समय अर्थात् पिक आवर थियो। ट्राफिक जाम नहुने कुरै थिएन। उसो त राजधानी उपत्यकामा काठमाडौंमा ट्राफिक जाम हुने कुरा नौलो हुन छोडेको धेरै भइसक्यो। बिहान घरबाट कार्यालय जाने समय र बेलुका घर फर्किने समय 'पिक आवर' भएका कारण अरू समयभन्दा अलिक बढी नै ट्राफिक जाम व्यहोर्नुपर्ने उपत्यकाबासीको दैनिक नियति नै हो। सडक साँघुरा मात्र होइन अनावश्यक उछिनपाछिन देख्दा लाग्छ, काठमाडौंमा नियम मानेर होइन नियमकानुन मिचेर भए पनि अघि बढ्न चाहनेहरूको बाहुल्य छ । 

मंगलबार बेलुकाको ५ बजेको ट्राफिक दृश्य पनि त्यही थियो। अझ थापाथली चोक काठमाडौंको प्रमुख व्यस्त रहने चोकमध्येकै एक भएका कारण त्यहाँको ट्राफिक जाम अझ बढी नै थियो।

त्यही ट्राफिक जाम व्यवस्थापन गर्न महिला, पुरुष ट्राफिक प्रहरीलाई हम्मेहम्मे नै थियो। कति ट्राफिक प्रहरी लेन क्रस गर्ने सवारी चालकहरूलाई जरिवाना काट्नमै व्यस्त देखिन्थे।

तिनै ट्राफिक प्रहरीसंँगै एक जना सर्वसाधारण नागरिक पनि थिए। तर उनले पनि ट्राफिक प्रहरीकै पहेँलो रङको ज्याकेट भने पहिरिएका थिए। घांँटीमा सिट्टी पनि झुन्ड्याएकै थिए। नीलो जिन्स पाइन्ट, स्पोर्ट जुत्ता। उनको बाँकी पहिरन थियो।

हरेकलाई कौतूहल जाग्न सक्छ- उनी को हुन्? उसो त उनको अनुहार नौलो पनि थिएन राजधानीबासीका लागि। काठमाडौंका व्यस्त रहने विभिन्न चोकहरूमा यसअघि पनि उनको अनुहार नदेखिएको होइन। उनी यसैगरी ट्राफिक प्रहरीलाई ट्राफिक जाम हटाउन सघाइरहेका देखिन्थे।

मंगलबार साँझ थापाथली चोकमा जस्तै हामी पनि ट्राफिक जाममै थियौंँ। जाम खुलेपछि थापाथली हुंँदै सिधै कुपण्डोल जानुपर्ने थियो। तर हामी कुपण्डोल नगई नर्भिक अस्पतालतिर मोडियौंँ। मोटरसाइकल पार्किङमा राख्यौंँ।

हिंँड्दै थापाथली चोक पुग्यौंँ, जहाँ ट्राफिक व्यवस्थापन गरिरहेका एक जना स्वयंसेवक थिए। एकछिन उनको गतिविधि नियालिरह्यौंँ। उनले ट्राफिक व्यवस्थापन गरी नै रहे उनले। 

मोरङ बयरवन- ७ का ४६ वर्षीय शेखरचन्द्र राईले ट्राफिक व्यवस्थापनमा ट्राफिक प्रहरीसंँग सहकार्य गरेको ११ वर्ष बितिसकेको रहेछ। शुरुशुरु सडकमा विनावर्दी निस्किने उनलाई कतिले जापान चीन सिंगापुर तिरको भन्ने ठान्थे र उनले नेपाली बोलेको सुनेर अनौठो मान्ने गरेको सम्झेर उनी रोमाञ्चित हुन्छन ।

उनी ट्राफिक प्रहरीसंँगै काठमाडौंका बढी जाम हुने क्षेत्रतिर आफैंँ गएर ट्राफिक जाम व्यवस्थापनमा सहयोग गरिरहेका छन्। २०५० सालमा वैदेशिक जीवन सुखमय हुने ठानेर ब्रुनाई पुगेका राई तीन वर्ष त्यहाँ बसेर नेपाल फर्किएका हुन्।

नेपाल फर्किएर सानो व्यवसाय सुरु गरेका राईले २०६४ सालबाट भने ट्राफिक व्यवस्थापनमा प्रहरीहरूलाई सहयोग गर्ने विचार गरे। गौशाला क्षेत्रमा भाडाको घरमा बस्दै आएका राईले गौशाला चोकबाटै स्वयंसेवक काम सुरु गरेका हुन्।

‘पहिला गौशालाको जाम देखेर आफ्नोतर्फबाट ट्राफिक जाम हटाउन केही सहयोग गर्न सकिन्छ कि भनेर स्वयंसेवक काम सुरु गरेंँ, अहिले त यो पेसा जस्तै भएको छ’, उनी भन्छन्, ‘ट्राफिक व्यवस्थापन नगरी डेरा जान मन नै लाग्दैन, नशा जस्तै भयो।’

श्रीमती र तीन छोरासहितको घर परिवार व्यवस्थापनभन्दा ट्राफिक जाम व्यवस्थापन गर्न पाउंँदा आनन्दले निद्रा लाग्ने राई बताउंँछन्। ‘कहिले डेरा पुग्दा श्रीमतीसंँग किचकिच नै पर्छ।आफ्नो काम गर्न छाडेर फोकटमा सिट्टी फुकेर आउने भनेर श्रीमती कराउंँछिन्। तर एक दिन पनि ट्राफिक जाम व्यवस्थापन नगरी घर जान मनै मान्दैन’, उनले भने।

राई ०६४ सालबाट स्वयंसेवकको रूपमा काम गरे वापत सरकारबाट अहिलेसम्म एक सुको नलिएको बताउंँछन्। सरकारले स्वयंसेवक गर्नलाई एक ‘पी’ क्याप र ट्राफिक ज्याकेट भने दिएको उनको भनाइ छ। 

‘११ वर्ष भयो, सरकारको एक रुपैयांँ लिएको छैन। अब एक रुपैयांँ नलिई सामान्य प्रहरी कर्मचारीको पेन्सन हुने समयसम्म सरकारको पैसा नखाई स्वयंसेवकै रुपमा पेन्सन लिने योजना छ’, राईले सुनाए।

ट्राफिक स्वयंसेवक हुनलाई उनले ट्राफिक महाशाखाबाट कार्ड र अन्य कागजात पनि लिइसकेका छन्। ट्राफिक व्यवस्थापन गर्दै गर्दा २०६४/०६५ तिरको उनको अनुभव रोचक छ।

‘सडकमा जथाभावी सवारी चलाउने लेनको मतलब नै नगर्ने ट्राफिक प्रहरीले जरिवाना काट्यो कि गाडी नै सडकमा छाडेर चालक भाग्थे अनि ट्राफिक व्यवस्थापन गर्न अझ गाह्रो हुन्थ्यो’, राईले थपे, ‘त्यतिखेर विभिन्न प्रकारको राजनीतिक आन्दोलन भइरहेको हुन्थ्यो।'

'चालकहरूमा पनि आन्दोलन गर्दा जे पनि हुन्छ भन्ने भ्रम रहेको हुनुपर्छ। मूलत सार्वजनिक सवारी साधनका चालकमा’, उनले भने। यो समयमा काठमाडौंमा ट्राफिक व्यवस्थापन गर्न धेरै असहज भएको उनको भनाइ छ।

उपत्यकामा सवारी जामको समस्या दिनानुदिन बढ्दो छ। सडक फराकिलो भयो तर समस्या भने जहाँको त्यहीँ देखिन्छ। तत्काल ट्राफिक व्यवस्थापन गर्ने कुनै समाधान देखिन्न, न अर्को विकल्प नै। यसका कारण काठमाडौंबासीका लागि ट्राफिक जाम नै प्रमुख समस्या बन्दै गएको  छ।

उपत्यकाको जामबाट सवारी प्रयोगकर्ताहरू आजित नै भएका छन्। अर्कोतिर सवारी साधनको चाप अझै बढ्दो क्रममा छ। उपत्यकामा लाखौं सवारी साधन  छन्भ मोटर साइकल मात्रै दशलाख भन्दा बढी भएको ट्राफिक महाशाखाको भनाइ छ। यात्रु बोकेर सेवा दिने भन्दा पैसा कमाउने होडमा रहेका सवारी साधनको कुरै छोडौं मोटरसाइकल चलाउनेहरुले ज्यान जोखिममा राखेर उछिन्ने जमर्को गरेको देखेर शेखर चकित मात्र होइन चिन्तित पनि हुन्छन् । यहाँ दमकल र एम्बुलेन्स त बिचरा हुँदै गएको उनको अनुभव छ । आफ्नैं ज्यानको परवाह नगरी सडकमा निस्किनेले एम्बुलेन्सका बिरामीका बारेमा के सोचोस् उनी चुकचुकाउँछन् । 

काठमाडौँ उपत्यकामा धेरै सवारी साधन, साँघुरो सडक, निर्माणाधीन सडकहरूका कारण तथा जथाभावी सवारी साधन रोक्दा धेरै जाम हुने गरेको राईको अनुभव छ। अर्कोतिर काठमाडौंमा उपयुक्त पार्किङको अभावका कारण सडकमै पार्किङ गर्दा सवारी जाम हुने गरेको राई बताउँछन्।

ट्रफिक महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त पन्तले राई जस्ता स्वयंसेवकले ट्राफिक व्यवस्थापन गर्ने धेरै सजिलो हुने गरेको बताए। 'आफैँ केही सहयोग गरौँ भन्ने भावना बोकेका मानिस ट्राफिक व्यवस्थापनमा अरू पनि दुई-चार जना छन्, जनशक्ति अभाव भएको ठाँउमा उनीहरूको सहयोग प्रशंसा गर्नलायकको छ', पन्तले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.