|

बाजुरा : हिमाली गाउँपालिका २ बिच्छयाकी जुनकला बुढा १३ वर्षकी भइन्। उनीसँगै गाउँका ४५ जना चामल किन्न दुई दिन लगाएर कवाडी डिपोमा पुगे। गाउँलेसँगै कवाडी डिपो पुगेकी उनी चामल नपाएपछि रुँदै घर फर्किएकी समाचार अन्नपूर्ण पोस्टले लेखेको छ। 

जुनकालाको पाँच जनाको परिवार छ। बुवा दमका बिरामी छन् भने आमा अशक्त। चामल नपाएपछि उनले भनिन्, ‘आमा र बुवा आउन सक्नु हुन्न, म आएँ। तर, चामल नपाएर रित्तो हात फर्किनु पर्‍यो।’

उनले चामलका लागि गाउँका आफन्तकाबाट मासिक सय रुपैयाँको पाँच रुपैयाँ ब्याज दिने सर्तमा पैसा ल्याएकी थिइन्। ‘ऋण काढेर ल्याएको रकममा पनि चामल किन्न पाइएन’, उनले दुःख पोखिन्, ‘त्यहाँबाट कोल्टी जान अझै एक दिन लाग्छ।’

स्थानीयलाई सहजहोस् भनेर कवाडीमा संस्थानले डिपो खोलेको हो। तर, त्यहाँ चामल नभएपछि स्थानीय कोल्टी जान बाध्य छन्। कोल्टी पुग्दा चालम पाइन्छ तर त्यो धरै टाढा पर्छ।

जुनकला जस्तै धर्मा बुढा पनि चामल नपाएर घर फर्किइन्। धर्माका श्रीमान कामका लागि भारत पुगेका छन्। ‘बजारको भन्दा सस्तो चामल पाइन्छ कि भनेर डिपोमा आएँ। तर, रित्तो हात घर फर्किनु परेको छ’, उनले भनिन्। डिपोमा चामल नपाएपछि कन्दमुलले छाक टार्ने उनले बताइन्। 

कबाडी डिपोका लागि नेपाल खाद्य संस्थानले तोेकेको अनुदानको चामल ठेकेदारले ढुवानी नगर्दा चामल अभाव भएको हो। चामल ढुवानीमा लापरबाही भएको हिमाली गाउँपालिका ५ का वडाध्यक्ष अम्मलाल कार्कीको भनाइ छ।

साविकको बिच्छँया गाविसमा चार हजार जनसंख्या छ। सबै घरमा खाद्य संकट भएको उनले बताए। स्थानीय उत्पादनले वर्षमा दुई महिना पनि खाद्यान्न पुग्दैन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.