|

भक्तपुर : भक्तपुरको बिस्का जात्रा भन्नेबित्तिकै पहिलो दिन भैरवनाथको रथ तान्ने र चौथोदिन भेलुखेलस्थित ल्योसींखेलमा लिंगो ठड्याउने जात्रामात्र सम्झने बुझ्ने गरिएको पाइन्छ। वास्तवमा बिस्का जात्राको मुख्य आकर्षण नै भैरवनाथको रथ तानातान गर्ने र लिंगो ठड्याउने नै हो।

तर पनि बिस्काजात्राको नौ दिन आठ रातमा भक्तपुरका विभिन्न स्थानमा विभिन्न देवी देवताका जात्राहरु हुने गर्छन्। जसको छुट्टै र विशेषखालको महत्व रहेको संस्कृतिविद्हरु बताउँछन्। भक्तपुरको विभिन्न टोलटोलमा मनाउने विभिन्न देवी देवताहरुको जात्रालाई भैरव र भद्रकालीको सम्मानमा मनाउने गरिएको जात्राको रुपमा लिनुपर्ने इतिहास तथा संस्कृतिविद् प्राडा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। उनले बिस्का जात्राको संस्कृतिलाई उचाईमा पुर्‍याउन र मानिसले मात्र नभई देवी देवताहरुले समेत भैरव र भद्रकालीले सम्मान व्यक्त गरेको अर्थमा भक्तपुरका टोल टोलमा रहेका देवी देवताहरुको जात्रा गर्ने प्रचलन सुरु भएको बताए।

बाराही तिँःप्वा जात्रा

बिस्का जात्राको चौथो दिन अर्थात चैत्र महिनाको मसान्तको दिन अष्टमात्रिकाका शक्तिशाली देवी मध्ये गनिने एक शक्तिशाली देवी बाराहीको बाराही तिँ:प्वा जात्रा हुन्छ। भेलुखेलस्थित ल्योसिङखेलमा लिङगो उभ्याउने जात्रा सम्पन्न भएपछि भक्तपुर नगरपालिका–३ स्थित तेखाचो टोलमा रहेको द्योछे (देवघर)बाट बाराहीको म"र्तिलाई खटमा राखी उक्त तिँःप्वा जात्रा गरिन्छ। प्यागोडा शैलीमा निर्मित बाराहीको खटलाई सिंगारपटार गरी तयार गरि बाराहीलाई विराजमान गराइन्छ। यसबेला बाराही द्यो छें वंशगोपाल देखि बाराही पिठसम्म हर्षोल्लासका साथ यो जात्रा हुने गर्दछ। यस बेला सानोसानो बालबालिकादेखि वृद्धवृद्धा समेत चिराग बालेर जात्रामा सहभागी हुने गर्दछ। जात्रामा हजारौं भक्तालुहरु धुप, बत्ती, सुकुन्दा बाली जात्रामा

सहभागी हुने गर्दछन्। शक्तिकी देवी बाराहीलाई एक रात पिठमा नै राखी भोली पल्ट लिङगो ढालीसके पछि बाराहीको खटलाई पुज्न टोल टोलमा लगी पुजा आरधना गरी चत्तामरी लगायत विभिन्न प्रसादहरु चढाउने गरिन्छ।

इन्द्रायणी देवीको त्वारिवा जात्रा

बिस्का जात्राका क्रममा मनाइने अष्टमात्रिका शक्तिशाली देवीको जात्रामध्ये इन्द्रायणी देवीको त्वारिवा जात्रा पनि महत्वपूर्ण छ। यसवेला इन्द्रायणीको खटलाई विभिन्न प्रकारले शृङगार गरेर रथजात्रा मनाउने चलन रहेको छ। सो रथमा इन्द्रायणी देवीको द्योः छेमा रहेको मूर्तिलाई खटमा विराजमान

गराई पीठमा लगेर आफ्नो इलाकामा जात्रा मनाउने गरिन्छ। यतिवेला सो इलाकाभित्रका बासिन्दाहरुले आ–आफ्नो घरबाट त्वारिवा ल्याई देव बत्ति बालेर इन्दायणी त्वारिवा जात्रामा सहभागी हुने गर्दछ। स्थानिय दाफा, भजनखलको भजन र बाजाहरुको गुन्जायमान जात्रालाई थप रौनक बनाउँदछ।

भैरव र भद्रकाली रथ जुधाउने जात्रा

बिस्का जात्राको अर्को आकर्षण भैरव र भद्रकालीको रथ जुधाउने जात्रा पनि हो। परापुर्वकालदेखि नै संचालित लिङगो जात्राको समापन लगतै बैशाख १ गते स्थानिय गःहिटी टोलमा भैरव र भद्रकालीको रथ संगम जात्रा हुने गर्दछ। यसलाई भैरव र भद्रकालीको विवाहको रुपमा पनि लिने गरिन्छ।

महाकाली र महालक्ष्मीको जात्रा

बिस्का जात्राको अवसरमा टोलटोलमा हुने जात्राहरु मध्ये महत्वपूर्ण जात्राको रुपमा लिइने अर्को जात्रा हो महाकाली र महालक्ष्मीको संङगम जात्रा। यो जात्रा बैशाख २ गते भक्तपुरको लाछी टोलमा बडो धुमधामका साथ मनाइन्छ। यो जात्राका क्रममा महाकाली द्यो छे बाट मुर्तिलाई विमान आकारको खटमा राखी भोलाछेंबाट जात्रा सुरु गरिन्छ। अर्कोतर्फ महालक्ष्मीको मुर्तिलाई पनि विमान आकारकै खटमा विराजमान गराई जात्रा सुरु गरिन्छ। यस जात्राको अवसरमा जात्रालुहरुले एकातर्फ पहेँलो टोपी र

अर्कोतर्फ रातो टोपी लगाउने परम्परा छ। जात्राका क्रममा मध्यभागमा महाकाली र महालक्ष्मी भेट भएपछि दुवै खटलाई जुधाइ संङगम गराउने प्रचलन छ।

ब्रम्हायणी र महेश्वरीको जात्रा

आष्टमातृका मध्ये प्रमुख शक्तिशाली देवीका रुपमा पुजिने देवीका रुपमा लिइने ब्रम्हायणी र महेश्वरीको जात्रा वैशाख ३ गते मनाइन्छ। सुर्यमढीस्थित द्यो छेमा रहेको ब्रम्हायणीको मुर्तिलाई खतमा राखी जात्राको प्रारम्भ गरिन्छ। स्थानिय टोलका बालबच्चा देखि लिएर वृद्धाहरुले समेत चिराग र मुस्याख्व

बत्ती बाली खटको अगाडि लाग्छन्। स्थानिय इनाचो टोलमा रहेका महेश्वरी द्यो छें को मुर्तिलाई खटमा राखी शृङगारपटारका साथ जात्रा सुरु गरिन्छ। यी दुवै देवीहरुको आ–आफ्नो इलाकामा जात्रा सुरु गरेपछि स्थानिय दत्तात्रय चोकको बिच भागमा आइपुग्दा भेट गराई दुवैको रथ जुधाइन्छ। यसबेला दुवै खटको प्रसाद साटासाट गरिन्छ भने दुवैले आ–आफ्नो चिरागबत्ती समेत साटासाट गर्ने प्रचलन छ।

बटुकभैरव र ज्याठा गणेशजात्रा

बिस्का जात्राको अवसरमा अष्टमातृका देवदेवीहरुको मात्र जात्रा नभई भैरव र गणेश जात्रा समेत हुने गर्दछ। स्थानिय बुलुचा टोलको बटुक भैरव र कुम्हाले टोलको ज्याठा गणेशको जात्रा पनि गरिन्छ। जात्राका क्रममा खटलाई शृङगारेर देवताका मुर्तिहरु स्थापित गरी खटलाई आ–आफ्नो टोलमा परिक्रमा गराई पुजा थाप्ने परम्परा छ। त्यसपछि कुमाले टोलमा बटुक भैरवको खट ल्याई र ज्याठा गणेशको रथसँग जुधाउने गरिन्छ। सो अवसरमा एकले अर्कालाई सिन्दूर छर्छन्।

छुमा गणेश जात्रा

विस्का जात्राको आठौं दिन अर्थात वैशाख ४ गतेका दिन छुमा गणेशको जात्रा गरिन्छ। यसबेला शक्तिका देवता छुमा गणेशको मुर्तिलाई खटमा राखी स्थानिय चोछें टोलमा परिक्रमा गराई जात्रा मनाइन्छ। स्थानिय टोलबासीले जात्राका क्रममा घरघरबाट बली सहितको पुजाचढाउने गरिन्छ।

द्यो स्वगं पूजा (सगुन जात्रा)

बैशाख ४ गते मनाईने अर्को जात्रा हो द्यो स्वगं पुजा।  यो पुजा बिस्का जात्राको एक महत्वपुर्ण पुजाको रुपमा रहेको लिइन्छ। जसलाई स्थानिय भाषामा द्यो स्वगं पुजाको नाममा चिनिन्छ। यो पुजा प्राचिन कालदेखि नै संचलन हुँदै आएको इतिहासमा उल्लेख छ। बिस्का जात्रालाई विस्तृत पारी शक्तिशाली देवदेवीहरुका पुजालाई सगुन पुजाको नामले उल्लेख भएको भाषा वंशावलीमा समेत उल्लेख छ। यस दिनमा भक्तपुरका शक्तिशाली देवदेवीहरुलाई आ–आफ्नो द्यो छेंबाट निकाली प्राङगण, सतल र पाटीहरुमा राखिएर पुजा आजा गरी विभिन्न प्रसादहरु चढाउने गर्दछ। यसै परम्परालाई नै सगुन पुजा भन्ने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.