|

भद्रपुर, (झापा) : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहुमतको आधारमा कचनकवल गाउँपालिकामा स्थानीय सरकार बनेको छ। बहुमतकै आधारमा राप्रपाले गाउँपालिकाभित्र मनमरी तन्त्र सुरु गरेपछि राप्रपाका कार्यकर्ता नै विरोधमा उत्रिन थालिसकेका छन्। 

गाउँपालिकामा राप्रपाले अध्यक्ष, उपाध्यक्षसहित तीनवटा वडामा जीत हासिल गरेको छ। सात वटा वडामध्ये साबिक एमालेले वडा नम्बर २ र ६, कांग्रेसले वडा नम्बर ४ र ७ मा जीत हासिल गरेको देखिन्छ। वडा नम्बर १, ३ र ५ राप्रपाले जितेको हो। साबिक पाठामारी गाविस रहेको कचनकवल गाउँपालिका अन्तरगतको वडा नम्बर ५ मा राप्रपाबाटै अध्यक्षसहित पाँच जना निर्वाचित भएको हो।

राप्रपाकै वडा अध्यक्षबाट गाउँपालिका वा वडा कार्यालयबाट विनियोजित बजेटका काम तथता योजनाहरूमा मनपरी तन्त्र मच्चाएको भन्दै आफ्नै पार्टीका कार्यकर्ता अहिले विरोधमा उत्रिएका छन्। आफ्नै कार्यकर्ता विरोधमा उत्रिएको घटनाले राप्रपा भित्रै हलचल मच्चिएको बुझिएको छ। अहिलेसम्म झापाका अन्य स्थानीय तहमा आफ्नै पार्टीका जनप्रतिनिधिविरुद्ध आफ्नै पार्टीका कार्यकर्ता खुलेर विरोधमा उत्रिएका छैनन्। ५ नम्बर वडा कार्यालयका वडा अध्यक्ष महेशलाल गणेशविरुद्ध आफ्नै पार्टीका असन्तुष्ट कार्यकर्तासँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ता पनि विरोधमा उत्रिएका हुन्।

वडा अध्यक्ष गणेशले आफ्ना मान्छे र पार्टीका मान्छे भन्दै हरेक विकास निर्माणका काम राख्ने गरेको, योजनाको कामहरूमा मनपरी तन्त्र मच्चाएको भन्दै राप्रपासहित नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताहरूले वडा अध्यक्ष गणेशलाई ध्यानाकर्षण गराउँदै ९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। नेकपाका वडा अध्यक्ष नुर मोहम्मद, नेपाली कांग्रेसका मो. नुर आलम र राप्रपाका मो. शेर आलम लगायत ३१ जनाले ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

यस्तो छ राजनीतिक दलको ९ बुँदे माग

ज्ञापनपत्रमा गाउँपालिका वा वडा कार्यालयबाट सञ्चालित योजनाहरू सार्वजनिक गर्नु पर्ने, योजना सञ्चालन भएको उपभोक्ता तथा टोल विकास समितिको नामावली सार्वजनिक गर्नु पर्ने, खुला दिसामुक्त अभियानमा भएको खर्चको हिसाब सार्वजनिक गर्नुपर्ने, काम सम्पन्न भएका योजनाहरूको लेखापरिक्षण हुनुपर्ने, जनताका लागी वितरण गर्नुपर्ने सामाग्री जनप्रतिनिधिका नातेदारले मात्र पाउने गरेको, उपभोक्ता समिति गठन गर्दा आफ्ना मान्छे कसैलाई थाहै नदिई गठन गर्ने गरेको, एक व्यक्ति एउटा समितिमा बसेपछि अन्य समितिमा राख्न नपाउने लगायतका मागहरू अघि सारेका छन्। यी मागहरू तत्काल सच्याउन दलका प्रतिनिधिहरूले वडा अध्यक्षलाई चेतावनी दिएको छ।

वडा अध्यक्षप्रति सत्ता र प्रतिपक्ष कार्यकर्ताको आक्रोश

राप्रपा क्रियाशील सदस्य नुर आलम कचनकवल गाउँपालिकाका अध्यक्ष अञ्जार आलमका आफ्नै भाइ हुन्। ‘हाम्रै पार्टीका वडा अध्यक्ष ज्युलाई हामीले पटक पटक वडामा भइरहेको विकास निर्माण सम्बन्धीका कामको विषयमा ध्यानाकर्षण गराएका थियौँ’, आलमले भने, ‘पाटीकै कार्यकर्ताको कुरा वडा अध्यक्षले सुन्न छाडेपछि बाध्य भएर वडा कार्यालय ज्ञापनपत्र बुझाएका हौँ।’

एउटा व्यक्तिलाई एउटा समिति राख्नु पर्नेमा वडा अध्यक्षले आफ्नो मान्छे भन्दै अरू समितिमा पनि राख्न थालिसकेको आरोप लगाउँदै आलमले भने, ‘नाम समेत लेख्न नजान्ने मान्छेलाई समितिमा राखिएको छ, यस्ता मान्छेलाई राखेर वडा कार्यालय के गर्न खोजेको त्यो आफैमा प्रस्ट हुन्छ।’

‘जनप्रतिनिधि कुनै पार्टीका कार्यकर्ता होइन, सबै दललाई मिलाएर विकासको काम गर्नुपर्छ, उनले थपे। कांग्रेस क्रियाशील सदस्य नुर आलमले वडा कार्यालयबाट हुने गरेका हरेक कामहरूमा भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन्।

कृषकलाई आउने अनुदानका सामग्री समेत वडा अध्यक्षले पारर्दिश रूपमा वितरण नगरी आफ्नै मान्छेलाई वितरण गरेको आरोप लगाउँदै कांग्रेसका आलमले भने, ‘मनपरी तन्त्र वडा कार्यालय नरोकिए, तालाबन्दीसहितको आन्दोलनमा उत्रिने छौ ।’ त्यसैगरी, नेकपा वडा अध्यक्ष नुर मोहम्मदले वडाको योजनाको बारेमा दलका प्रतिनिधिलाई जानकारी नगराउनु र घर अगाडी सञ्चालित योजनाहरू स्वयम् उपभोक्तासमेत थाहा नदिनु परिपाटीले विकास भन्दा पनि भ्रष्टाचार गर्नु खेलमा जनप्रतिनिधि लागेको आरोप लगाए।

यता राजनीतिक दलले ज्ञापत्रपत्र बुझाएपछि वडा अध्यक्ष गणेशले काम गर्दै जाँदा कमीकमजोरी भएकाले आगामी दिनमा यसलाई सच्याएर लैजाने प्रतिबद्धता जाहेर गरेका छन्। उनले उपभोक्ता समितिको नामावली र योजनासहितको बजेटको विवरण तत्काल वडा कार्यालयमा टाँस गर्न वडा सचिव बिमल पोखरेललाई मौखिक आदेश दिइसकेको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.