|

बुटवल : दुर्घटनामा धेरै यात्रुको मृत्युका कारण स्थानीयबासीबाट ‘ज्यानमारा सडक’ नाम पाएको बुटवल–तानसेन सडक खण्डको सिद्धबाबाको पहिरो रोक्न ‘रक नेट, रक सेड’ प्रविधि प्रयोग गरिने भएको छ।

नेपालमै पहिलो सुरुङ मार्ग बन्ने चर्चा चलेको सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रमा रक नेट (चट्टान रोक्ने जाली) र रक सेड (चट्टान थेग्ने जाली) प्रविधिबाट पहिरो रोक्ने काम सुरु गर्न लागिएको हो।

‘अस्ट्रियाको ट्रमर सेहुत्जवौटेन कम्पनीसँग आवश्यक सामग्री ल्याउन भन्सार छुट लगायतका प्रक्रिया अघि बढेको छ,’ डिभिजन सडक कार्यालय नम्बर ३ का प्रमुख इन्जिनियर सुजन अधिकारीले भने, ‘अस्ट्रियाबाट सामान पठाएको एक महिनामै काम सुरु हुन्छ।’ 

मानवीय तथा भौतिक क्षति कम गर्न रक नेट (चट्टान रोक्ने जाली) र रक सेड (चट्टान थेग्ने जाली) महत्वपूर्ण हुने प्रमुख इन्जिनियर अधिकारी बताउँछन्। उनका अनुसार विदेशमा अपनाइएको प्रविधिलाई यहाँ नमूनाको रुपमा काम गर्ने योजना अघि बढेको हो। दुबै प्रविधि सबै भन्दा बढी खतरा भएका स्थान विशेषलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। ‘नमूनाको रुपमा बढीमा सय मिटर अष्ट्रियाको कम्पनीले काम गर्नेछ,’ उनले भने।

यस खण्डमा धेरै माथिको पहाडबाट ढुंगा खस्ने भएकाले अडाएर राख्ने र सडक माथिबाटै तिनाउ खोलामा झर्ने प्रविधि अपनाइने छ। ‘रकनेट प्रविधिबाट चट्टाने भिरलाई नै जालीले ढाकेर झर्न थालेको पहिरोलाई अड्याइन्छ,’ उनले भने –‘रक सेड प्रविधिमा भने ढुंगा र माटोलाई पछि जाली काटेर निकालेर फालिन्छ। त्यसैमा अर्को जाली लगाइन्छ।’

यस्तो प्रविधि प्रयोग गर्दा पहिरो र ढुंगा सिधै सडकमा नझर्ने भएकाले मानवीय र भौतिक क्षति हुनबाट जोगाउन सकिने विश्वास सडक डिभिजनले लिएको छ। सडक सुरक्षाका विषयमा मुलुकका विभिन्न स्थानमा अनुसन्धान गर्दै आएका भूगर्भविद् रञ्जन दाहालले अस्ट्रियाको टर्मर कम्पनीले निःशुल्क रकसेड र रकनेट नमुनाका रूपमा परीक्षण गर्ने बताए।

उनले सिद्धबाबा क्षेत्रको सबैभन्दा बढी दुर्घटना हुने स्थान कुहिरेभिरमा परीक्षण गर्ने योजना भएको बताए। ‘जोखिमबाट बच्ने धेरै उपायमध्ये रक नेट छिटो र कम लागतमा बनाउन सकिने प्रविधि हो,’ उनले भने। गत वर्ष अस्ट्रियन माउन्टेन रिस्क इन्जिनियर मारकस हेडन पहिरो विज्ञ मनिता तिमिल्सेना, भूःगर्भविद् रञ्जन दाहाल लगायतले स्थान छनोट गरेका हुन्।

पहाडको उचाई, सम्भावित खस्ने चट्टानको ब्लक, त्यसको आकार, जमिनमा खसिसकेपछि कुन ठाउँमा पर्छ र कहाँसम्म गुडेर जान सक्छ भन्ने सबै अध्ययन गरिएको छ। ‘त्यसैलाई बुझेर ढुगा छेकने र रोक्ने जाली तयार गरिन्छ,’ उनले भने।

१५ वर्षमा ३ सयको मृत्यु

पछिल्लो १५ वर्षको तथ्यांक हेर्ने हो भने सिद्दार्थ राजमार्ग अन्तर्गत तानसेन–बुटवल सडक खण्डको झुम्सादेखि चिडियाखोलाको ९ किलोमिटर सडकमा ३ सयको ज्यान गएको छ। प्रहरीका अनुसार ७ सय भन्दा बढी घाइते र अंगभंग भएका छन्। ‘राजमार्ग बनेदेखि नै सिद्धार्थ राजमार्गको सिद्धबाबा क्षेत्र दुर्घटनाग्रस्त क्षेत्र देखिन्छ,’–पाल्पा ट्राफिकका प्रमुख प्रविण आचार्यले भने। 

यो खण्डमा पहिरो खसेर, ढुंगा झरेर र गाडी खसेर हुने दुर्घटनामा वर्षेनी सरदर २० जनाको मृत्यु भएको तथ्यांक प्रहरीसंग छ । राजमार्गको चिडियाखोला–राम्दी ६४ र बर्तुङ्ग–तम्घास गुल्मी ७९ किमी खण्डमा मर्मत सुधारमा ७ वर्ष यता २२ करोड बढी खर्च भइसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.