|

बिराटनगर : नेपाली राजनीतिका हिरो नै कहलिएका नेता हुन स्व.गिरिजाप्रसाद कोइराला। बिराटनगरमा जन्मेर नेपाली राजनीतिबाटै देश विदेशमा राजनीतिका चतुर खेलाडी बने स्वर्गीय कोइराला। बिपी कोइरालाको पालादेखि नै विराटनगरलाई राजनीतिको केन्द्र भन्ने गरिन्छ। त्यै राजनीतिको केन्द्रको अस्पताल चोकनजिकैको कोइरालानिवास अहिले शून्‍य प्राय: छ।

बाहिरबाट घुम्न विराटनगर पुगेकाहरू आक्कलझुक्कल कोइरालानिवास पुग्छन्। नत्र उक्त घरबाहिर सशस्त्र प्रहरी र भित्र घर रुगेर बस्ने मान्छेबाहेक चरोमुसो कोही देखिँदैन। आफ्नो उमेर १० वर्ष हुँदादेखि कोइरालानिवासमा रहेकी लक्ष्मी सुवेदीका परिवार कोइरालानिवास सम्हालेर बसेका छन्। कोइराला निवासमा पहिलेजस्तो रौनक छैन। निवासमा बिपीका उपदेश, परिवारका तस्वीर, गिरिजाले पाएको उपहारबाहेक अरू केहिले पनि रौनक दिँदैन।

‘गिरिजाको मृत्युपछि सुस्ताएको विराटनगर’

‘गिरिजाप्रसाद कोइराला विराटनगर आउँदा कोइराला निवासमा ठूलै उत्सव भइरहेको झल्को मानिसको भीडले दर्शाउँथ्यो,’ स्थानीय झम्कनाथ न्यौपानेले भने। अहिले कोइराला निवासमा चुनाव र केही राजनीतिक कार्यक्रमका दौरान डा. शेखर कोइरालाभन्दा बाहेक कोही पनि उत्तिसारो निवासमा आउने गरेका छैनन्।

कोइरालानिवास सम्हालेर बसेकी लक्ष्मीका अनुसार आजकाल कोइराला निवासमा पहिलेजस्तो भीडभाड लाग्दैन। आक्कलझुक्कल शेखर कोइराला, सुजाता कोइराला आउँदा केही नेता कार्यकर्ता आए पनि पहिलेजस्तो रौनक कोइराला निवासमा देखिँदैन। 

स्थानीय नेपाली कांग्रेसको नेता समेत रहेका झम्कनाथ न्यौपानेले गिरिजाप्रसाद कोइरालाको निधन पछि बिराटनगर नै सुस्ताएको महसुस भएको बताए। ‘गिरिजाबाबु ढलेको दिनदेखि बिराटनगर खुलेजस्तै लाग्दैना। विकासको जग बस्यो जगमा ढुंगा थप्ने मान्छे पाउन मुस्किल पर्‍यो।’ 

सबैको सानोबुवा ! 

गिरिजाप्रसाद कोइरालालाई नेता कार्यकर्ताले सम्बोधन गर्ने नाम हो गिरिजा बाबु। तर, विराटनगरमा उनको नाम सानोबुवा पनि रहेछ। ‘घरको कान्छो भएर पनि होला घरमा सबैले सानोबुवा भन्ने गरियो,’ कोइराला निवासमा २२ वर्ष बिताएकी लक्ष्मी सुबेदीले भनिन्, ‘घरमा त सानोबुवा भनिहाल्थे वरिपरि बजारमा पनि उहाँलाई सानोबुवा भनेर सम्बोधन गर्थे।’

सबैका सानुबुवा बनेका गिरिजाले विराटनगरलाई आफ्नो घर बताउने गरेको सम्झना सुवेदीले गरिन्। ‘यो विराटनगर मेरो घर हो भन्नुहुन्थ्यो,’ उनले भनिन्, ‘हेर्नुहोस् न सानोबुवाले बाहिर कतै घर बनाउनुभएन नि। मर्ने बेलासम्म पनि मेरो घर विराटनगर नै हो भन्नुहुन्थ्यो।' 

धमाधम जग्गा बिक्री

गिरिजाको निधनपछि कोइराला खानदानको जग्गा जमिन पनि धमाधम बिक्री गरियो। ‘सानोबुवाको निधन पछि त यहाँका जग्गा जमिन पनि अरू भाइहरूले बिक्री गर्नुभयो,’ सुबेदीले भनिन्। स्थानीयले पनि गिरिजाको मृत्युपछि दाजुभाइहरूले जग्गा जमिन बिक्री गरेर विराटनगरलाई आफ्नो राजनीतिको थलोबाट पर सारे। शशांकले आफ्नो नाममा भएको प्राय सबै जग्गा बेचिसेकेका छन्।

पहिले गिरिजा बस्दै आएको पुरानो (जन्मघर) अहिले शेखरको नाममा छ। उनी विराटनगर झर्दा त्यही घरमा बस्छन्। नजिकै सुजाताले आफ्नो नाममा भएको जग्गामा घर बनाएर गिरिजाको नाममा खोलिएको फाउण्डेसनको कार्यालय बनाएकी छन्। आफ्नो नाममा भएको जग्गाकै एक टुक्रा भने उनले गिरिजा कोइराला फाउण्डेसनलाई दिएकी छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.