फिचर

यार्साको यात्रा : कसैलाई हर्ष, कसैलाई आँसु

सुत्केरी र लालाबालासहित यार्सा टिप्‍न जानु रहर कि बाध्‍यता?

जेठ १५, २०७६

    डोल्पा : डोल्पालगायत हिमाली जिल्लाहरूमा यार्सागुम्बा संकलन सिजन सुरु भएको छ। आजभोलि डोल्पाका यार्सागुम्बा पाटनहरू मान्छेले भरिभराउ भएका छन्।

    जेठ महिनाको चर्को गर्मीमा हप्तौँ हिँडेर पसिना चुहाउँदै डोल्पाका यार्सागुम्बा पाटनतिर जान लागेको सर्वसाधारणहरूको ताँती पनि देख्न पाइन्छ। डोल्पाली सर्वसाधारणहरूलाई यार्सापापाटन जानु रहर नभई बाध्यता भएकाले उनीहरू मुहारमा वास्तविक खुसीभन्दा बाध्यात्मक खुसीका रङहरू प्रस्ट देख्न सकिन्छ।

    उच्च हिमाली क्षेत्रहरूमा मात्रै पाइने बहुमूल्य जडीबुटी यार्सा खोजीका लागि बिसौँ हजार सर्वसाधारण डोल्पाका यार्सापाटनमै छन्। यार्सागुम्बा टिपेर मनग्ये आम्दानी गर्ने लक्ष्य लिएर एक महिना अघिदेखि तयारी गरेर उनीहरू अहिले यार्सागुम्बा पाटनतिर लागेका हुन्।

    यार्सागुम्बा टिपेर साहुको ऋण तिर्ने, वर्षमा एकपटक आउने चाडपर्वमा राम्रो लाउने,मिठो खाने आसमा र बालबालिकालाई गुणस्तरीय शिक्षा, स्वास्थ दिने लक्ष्यसहित उनीहरू यार्साको यात्रामा पाटनतिर लागेका हुन्। आजभोलि डोल्पाका अधिकांश बस्ती सुनसान छन्।

    बस्तीका सबै मान्छे एकमहिनासम्म पुग्ने बन्दोबस्तीका सामान बोकेर यार्सागुम्बाको खोजीमा पाटनतिर लागेपछि बस्ती नै सुनसान भएका हुन्। आ–आफ्ना कुल देबतालाई भाकल गर्दै यार्सासिजन सुभ रहोस् भनेर कामना गर्दै यार्सापाटन गए यार्सा सिजन सुभ हुने विश्वाससमेत गरिन्छ।

    तल्लो, मध्ये र उपल्लो डोल्पा गरेर तीन भेगमा छुट्टिएको डोल्पाका अधिकांश सर्वसाधारणहरू यार्सागुम्बाको खोजीमा पाटनतिर लागेपछि बस्ती सुनसान भएको त्रिपुरासुन्दरी नगरपालिका १ का दुर्गाप्रसाद देवकोटाले बताए।

    'यस समयमा सबैका घरमा ताल्चा मारिएको छ, घर कुरुवाको रुपमा अशक्त, अपांग र बृद्धहरू मात्रै छन्, घरका सबै मान्छेहरू पाटनतिर लागेपछि घरको अन्नबाली सम्पति र पशुवस्तुको हेरालोको रुपमा वृद्धहरू बसेका छन्' देवकोटाले भने।

    डोल्पा मात्रै नभई रुकुम, जाजरकोटका अधिकांश बस्तीहरू सुनसान भएका छन्। जाजरकोटमा पर्ने झाप्रा, काफ्ला, कोर्ताङ, नायकबाडा, काँडा, खोलाटाकुरा, राँगा, नल्फु, दशेरा, फुम्नालगायत बस्ती सुनसान भएको जाजरकोटका स्थानीय विनोदकुमार घर्तीमगरले बताए।

    उनीहरूको आम्दानीको मुख्य स्रोत नै यार्सागुम्बा भएकाले केटाकेटी महिलाहरू सबै यार्सागुम्बा पाटनतिर लागेकाले गाउँमा अशक्त वृद्धवृद्धाबाहेक अरू कोही नभएको उनले जानकारी दिए।

    जाजरकोट मात्रै नभई रुकुम जिल्लामा पर्ने गोताम,  खदी, आठबिसकोट, मग्मा, झुलालगायत बस्तीहरू समेत सुनसान भएका छन्। प्रत्येक वर्ष जेठदेखि असारसम्मको एकमहिने अवधिकालागि यार्सापाटन खुला गरिन्छ। एक महिनाको अस्थायी बसाइका लागि उनीहरू पाटनटिर लागेका हुन्।

    यार्सागुम्बा टिपेर मनग्य आम्दानी गर्ने र जीवनका इच्छा र आकांक्षा पूरा गर्ने आशामा दूधे बालक च्यापेर परिवानै सुनरूपी किराको खोजीमा जुटेका हुन्।

    एउटा यार्सागुम्बाको पाँच सयदेखि एक हजारसम्म पर्ने भएकाले पनि सर्वसाधारणको आकर्षण बडेको बताइन्छ। यार्सा संकलनबाट राम्रो कमाइ गर्ने परिवारले एक महिनामा चारदेखि पाँचलाखसम्म पनि कमाइगर्ने गर्दछन्।

    कसैलाई हर्ष कसैलाई आँसु

    यार्सागुम्बा सिजन कतिपयका लागि हर्ष उल्लासको सिजन हुने गर्दछ भने कतिपयका लागि आँसुको सिजनसमेत बन्दै आएको छ।

    यार्सागुम्बा खोज्न पाटनतिर जानु अत्यन्तै जोखिमपूर्ण मानिन्छ। अग्ला हिमाल चढेर शून्य तापक्रममा यार्सागुम्बा खोज्नुपर्ने यार्सा संकलकहरू बताउँछन्। अघिल्लो वर्षको यार्सागुम्बा सिजनमा पनि यार्सागुम्बा संकलन गर्न आएका ६ जनाभन्दा  धेरैले अकालमै ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ।

    यार्सागुम्बालाई नै जिउने आधार बनाउँदै आएका सर्वसाधारणहरू ज्यानको प्रवाह नै नगरी हिमाल चढ्ने गरेकाले लेक लागेर, चिसोले बिरामी परेर बर्सेनि आधा दर्जन धेरै मान्छेले ज्यान गुमाउने गरेको स्थानीय ओम मगरले बताए।

    वर्षमा एकपटक मात्रै आउने सिजनमा ज्यान हत्केलामा राखेर यार्सा संकलन नगरे वर्षभरी आइपर्ने आर्थिक समस्या टार्न मुस्किल पर्ने भएकाले लालाबाला र सुत्केरी महिलासमेत नभनी यार्सापाटनतिर जाने गरेको उनको भनाइ छ। यार्सामा निर्भर परिवारले आफूसँगै गएका आफन्त वा परिवार गुमाउनुपर्दा यार्सागुम्बा सिजन कतिपयका लागि आँसुको सिजनसमेत बन्ने गर्दछ।

    वैशाख अन्तिम साता मात्रै यार्सागुम्बा संकलन गर्न डोल्पा आएका जुम्ला पातारासी गाउँपालिका-६ का २२ वर्षिय गोपाल विष्टले अकालमै ज्यान गुमाइसकेका छन्।यसबर्ष पुस माघमा धेरै हिमपात भएका कारण यार्सागुम्बा पाटनहरूमा बाक्‍लो हिँउ जमेकाले हिँउपहिरो जानसक्ने खतरा उत्तिकै रहेको स्थानीय बताउँछन्।

    डोल्पाली मात्रै नभई रुकुम, जाजरकोटका सर्वसाधारणको समेत आर्थिक उपार्जनको मुख्यस्रोत यार्सागुम्बा भएकाले जोखिमको महसुस गर्दागर्दै पनि यार्सापाटन कोयात्रा तय गर्ने गरेको पाइन्छ। मनभरी आशाका पोका बोकेर चार दिन पैदल हिँडेर सपरिवार यार्सागुम्बा टिप्न डोल्पा आएको जाजरकोट छेडागाड नगरपालिका १० काफ्ला बस्ने भीमबहादुर पुनले बताए।

    'मान्छेहरूले सोचेजस्तै यार्सागुम्बा टिपेर एक महिनामा दुई/तिन लाख कमाउने कुरा सजिलो छैन्, भाग्य हुनेले राम्रो आम्दानी पनि गर्छन्, दशा लाग्यो भने लगेको खर्चपर्च पनि नउठेर उल्टै ऋणलाग्ने गर्दछ' उनले भने। यार्सागुम्बा टिपेर अघिल्लो वर्ष राम्रै आम्दानी गरेरकाले यसवर्ष के हुन्छ थाहा नभएको बताउँदै यार्सागुम्बा टिपेर राम्रो आम्दानी गर्छु भन्ने कुरा पूर्वअनुमान गर्न नसकिने उनको भनाइ छ।

    त्यसैगरी, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका १ बस्ने जमानसिंह कठायत पनि यार्सागुम्बाको खोजीमा नजिकैको भाङ्का यार्सागुम्बा पाटनतिर पुगेका छन्।

    कुनै रोजगारी नभएका उनको आम्दानीको मुख्य आधार यार्सागुम्बा नै हो। यार्सागुम्बा टिपेर गत वर्ष एकलाख भन्दा धेरै रकम कमाएकाले यसवर्ष कमाइ कस्तो हुन्छ भन्न नसकिने उनले बताए।

    कतिपयका लागि यार्सापाटन पुग्नु नै चुनौतीको विषय हुने भएकाले गएका जति यार्सापाटनमा पुग्न नसक्ने र पुगेका जति दैनिकजसो हुने हिमपातका कारण धेरै दिन टिक्न नसक्ने उनले बताए। जसले जोखिम मोल्छ त्यसैले कमाइगर्ने उनको दाबी छ। यार्सासिजन कसैका लागि आँसुको सिजन बन्ने भए पनि कसैका लागि उज्यालो भविष्‍य निर्माणको आधारसमेत बन्ने गरेको छ।

    यार्सा नै आधार

    कतिपयले यार्सागुम्बमा टिपेरै तराईका जिल्लाहरूमा घर घडेरीसमेत जोड्ने गर्दछन्। डोल्पा, रुकमु, जाजरकोटका विद्यार्थीहरूले यार्सागुम्बा टिपेरै शैक्षिक सामाग्री खरिद गरेर पढ्ने गर्दछन् भने यार्साबाट कमाएको पैसोले नै जिल्ला बाहिर गएर अध्ययनसमेत गर्दै आएका छन्।

    विद्यार्थीहरू नै पठाइ छोडेर यार्सागुम्बा पाटनतिर लाग्ने भएकाले डोल्पाका अधिकांश विद्यालय बन्द हुने गर्दछन्। रुकुम र जाजरकोटका विद्यालयमा समेत पठनपाठन प्रभावित हुने गर्दछ। यार्सागुम्बा सिजन शान्तिपूर्ण, सुरक्षित र प्रभावकारी बनाउन सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ।

    डोल्पाका पाटनहरूमा वर्षौं अघिदेखि नै यार्सागुम्बा पाइने भएता पनि व्‍यावसायिकरूपमा २०५६ सालदेखि यार्सागुम्बाको खोजी हुन थालेको बताइन्छ। डोल्पामा पर्ने दुई सयभन्दा धेरै यार्सापाटनहरूमा बर्सेनि १० हजारभन्दा धेरै सर्वसाधारणहरू यार्सागुम्बाको खोजीमा जाने गर्दछन्

    डोल्पाका पाटनमा ८ हजार मान्छे प्रवेश

    हिमाली जिल्ला डोल्पाका विभिन्न यार्सागुम्बा पाटनमा ७ हजार ९ सय ९९ जना मान्छे प्रवेश गरेका छन्। लगातार चारदिनसम्म संकलन पुर्जी वितरण गर्दा यतिको संख्‍यामा पुर्जी लिएर सर्वसाधारणहरू निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटनमा प्रवेश गरेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जनाएको छ।

    निकुञ्ज क्षेत्रभित्र सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायत १४ वटा नाकाबाट यतिको सङ्ख्यामा मान्छे प्रवेश भएको बताउँदै मुगुमा पर्ने डोल्फु र किम्री नाकामा फोन सम्पर्कमा नरहेकाले कति मान्छे प्रवेश गरे संख्‍या आउन बाँकी रहेको निकुञ्जका रेन्जर छत्र खड्काले जानकारी दिए।

    यार्सापाटन डोल्पामुगुका दुईवटा नाका एकसाताभित्रै सम्पर्कमा आउने बताउँदै यी नाकासहित यसवर्ष निकुञ्जका क्षेत्रमा पर्ने यार्सागुम्बा पाटनमा साढे नौ हजारको हाराहारीमा मान्छेहरू प्रवेश गर्ने अनुमान गरिएको खड्काको भनाइ छ।

    मान्छे आउनेक्रम जारी रहेकाले मान्छेहरूको संख्‍या र राजस्‍व अझै बढ्ने अनुमान गरिएको छ। निकुञ्ज क्षेत्रभित्र मात्रै यार्सागुम्बा पाइने ठूला र साना यार्सागुम्बा पाटन गरेर एकसयको हाराहारीमा रहेको निकुञ्जले जनाएको छ। निकुञ्जबाहेक अन्य सामुदायिक वनभित्र रुपपानी, पोखेपानी, साइक्वारीलगायत यार्सागुम्बा पाटनमा प्रवेश गर्नेहरूको रेकर्ड निकुञ्जले नराख्ने बताएको छ।

    प्रत्येक वर्ष निकुञ्ज र सामुदायिक वनका यार्सागुम्बा पाटनहरू गरेर २० हजारको हाराहारीमा सर्वसाधारणहरूले यार्सागुम्बा संकलन गर्ने बताइएको छ। गत शुक्रबारदेखि सुरु भएको यार्सागुम्बाको संकलन पुर्जी वितरण एक महिनासम्म जारी रहने निकुञ्जले जनाएको छ।

    १ करोड ९१ लाख ३१ हजार राजस्‍व

    डोल्पामा यार्सागुम्बाको संकलन पुर्जी वितरणबाट १ करोड ९१ लाख ३१ हजार ५ सय राजस्‍व उठेको छ। निकुञ्ज क्षेत्रमा पर्ने १४ वटा नाकाबाट लगातार चार दिनसम्म संकलन पुर्जी बितरणगर्दा यति राजस्‍व रकम उठेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ।

    मुगु जिल्लामा पर्ने डोल्फु र किम्री नाकाबाट राजश्व रकम आउन बाँकी रहेकाले सबै गरेर दुई करोड ५० लाखको हाराहारीमा राजस्‍व रकम  उठ्ने अनुमान गरिएको निकुञ्जका निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए।

    गत वर्ष यार्सागुम्बा संकलन पुर्जी वितरणबाट मात्रै १ करोड ४१ लाख राजश्व उठेको थियो। गत वर्षभन्दा यसवर्ष २६ प्रतिशतले राजस्‍वमा वृद्धि भएको निकुञ्जले जानकारी दिएको छ।

रामचन्द्र न्यौपाने

न्यौपाने थाहा खबरका डोल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]