'इन्जोय जोनमा गैरकानुनी गतिविधि हुँदैन'

|

पोखरा  : आइतबार बसेको गण्डकी प्रदेशको संसद बैठक नेपाली कांग्रेसको अवरोध पछि स्थगित भएर सोमबार १ बजे सम्मका लागि सर्‍यो ।

सोमबार १ बजे संसद बैठक बस्यो । पुन नेपाली कांग्रेसका सांसदहरु उठेर संसद अबरुद्ध गरे । आइतबार आफ्नो जिम्मेवारीबाट चिप्लिएका सभामुख सोमबार भने सचेत थिए। । 

उनले संसद अवरुद्ध गर्नुको कारणबारे जानकारी गराउन कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई आग्रह गरे । नेपालीले इन्जोय जोनदेखि आस्थाकै आधारमा कर्मचारीको हेरफेर गरेकोबारे सरकारको जवाफ माग गरे । 

सभामुख नेत्रनाथ अधिकारीले बस्न आग्रह गरे पनि प्रतिपक्ष दलका सांसदहरु उठिरहेपछि २० मिनेटका लागि बैठक स्थगित भयो। 

२० मिनेटपछि सुरु बैठकमा सभामुखले सुरुमै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रतिपक्षको जवाफसहित बैठकलाई सम्बोधन गर्न आग्र गरे । मुख्यमन्त्रीले जवाफ दिने भएपछि प्रतिपक्ष दलले विरोध जनाएन । 

इन्जोय जोनबारे बोले

सबैभन्दा चर्चामा रहेको इन्जोयजोनबारे मुख्यमन्त्रीले अन्तमा आफ्नो धारणा राखे । संसदमा प्रश्न गर्दा मुख्यमन्त्री गुरुङले भने, ‘इन्जोय जोनबारे हामी कहाँ छौँ। इन्जोय जोन भन्नेबित्तिकै नकरात्मक पाटोबाट हेर्छौं । के फनपार्क इन्जोय जोन होइन। आइटी पार्क इन्जोय जोन होइन? के विशेषखालको रेस्टुरेण्ट इन्जोय जोन होइन ?’  

उनले यसलाई इन्जोय जोन वा इन्टरटेनमेन्ट जोन जे भने पनि भन्न आग्रह गरे । विदेशमा छुट्टै व्यवस्था गरिएको बताउँदै उनले गण्डकी सरकार पनि इन्जोय जोन बनाउने पक्षमा रहेको उल्लेख गरे । 

‘सबै ठाउँमा त्यो ब्यवस्था गरेको हुँदोरछ । हामी चाहीँ त्यो ब्यवस्था बनाउने पक्षमा छौँ,’ उनले भने,  उनले भने, ‘यो वर्षदेखि पोखराको कुनै एउटा ठाउँ त्यसलाई बनाउन सकिन्छ।’

इन्जोय जोनका ५ ठाउँ 

एकताका रेडलाइट एरियाबारे सोच्ने बेला भएको बताएर चर्चामा रहेका मुख्यमन्त्री गुरुङले यसपटक इन्जोय जोनका लागि पोखराकै चार ठाउँ उपयुक्त हुने बताए । 

‘हल्लनचोकदेखि पामेसम्म, सरांकोटदेखि कास्कीकोटसम्म, कुबिन्डेदेखि मट्टिखानसम्म, ढिकिडाँडादेखि गर्लामसम्म, रुपादेखि बेगनाससम्मका ठाउँ अध्ययन गरी निजीक्षेत्रका लगानीकर्तालाई पर्यटन पूर्वाधार बनाउने वातावरण बनाउने,’ उनले भने, ‘यसभित्र एउटै रेस्टुरेण्टमा फरक खानाको स्वाद लिने, लाइब्रेरी, म्यूजिक कल्चरल, चिल्डे«नपार्क, जिम हल, जल क्रियाकलाप, एभेन्चर स्पोस्र्ट, मेडिटेसन सेन्टर, मजाज, योगा सेन्टर, फनपार्क, आइटीपार्क, गुफा, पर्यटक सूचना केन्द्र आदी एउटै ठाउँमा पाइने ठाउँ चाहिन्छ भनेका हौँ ।’ 

उनले इन्जोय जोनलाई उपयुक्त अरु नाम भन्न पनि मिल्ने तर्क गरे । ‘टुरिस्टहरुले इन्जोय गर्ने इन्जोय पार्क भन्न पनि मिल्यो, रिफ्रेस सेन्टर भन्न पनि मिल्यो, पर्यटकीय केन्द्र भन्न पनि मिल्यो । के भन्दा उपयुक्त हुन्छ नाम त्यही भन्ने हो,’ उनले भने । 

कानुनले निषेध गरेका गतिविधि हुँदैन

मुख्यमन्त्री गुरुङले इन्जोय जोन भन्नेबित्तिकै यौन व्यवसाय, गाँजा चरेश खाने अखडा नभएको बुझ्न पनि आग्रह गरे । ‘यहाँचाहिँ इन्जोय जोन भन्ने वित्तिकै यौन ब्यवसाय फस्टायो, गाँजा चरेस खाने भो भन्ने छ,’ उनले भने, ‘यी त कानुनले बर्जित छन् । कानुनले बर्जित गर्‍या कुरा सरकारले पार्क बनाएर स्थापना गर्ने प्रयत्न गर्छ र ? किमार्थ गर्दैन ।’ 

कानुनले बर्जित गरेका कुराहरु त्यहाँ नपाइने उनको भनाई छ ।  त्यस्तै उनले त्यहाँ जुवातास खेल्न पनि नपाइने बताए । ‘अरु व्यवसायको कुरा छोड्दिनु, गाँजा चरेस खाएर मात्र इन्जोय हुन्छ भन्ने होइन । पर्यटकले चाहेको कुरा एउटा ठाउँमा पाउँछ त्यो इन्जोय जोन हो ।’ 

गण्डकी सरकारले लगानी सम्मेलन गरी इन्जोय जोनमा पनि लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्ने बताएको छ । यस वर्ष लगानी सम्मेलनको लागि अध्ययन गर्न नौ करोड रुपैँया विनियोजन भएपनि खर्च हुन सकेन ।  

मुख्यमन्त्री गुरुङले प्रमुख प्रतिपक्ष दलका संसदिय दलका नेता कृष्णचन्द्र नेपालीले मागेको जवाफ दिने क्रममा प्रतिपक्ष दल सकरात्मक भएको बताउँदै यस्तै सहयोग, आलोचना र टिप्पणीले नै अघि बढ्न सकिने बताए । उनले कर्मचारी सरुवा, कृषि अनुदान नियम अनुसार नै भएको भन्दै सम्बन्धित मन्त्री र मन्त्रालयको बचाउ गरे ।

उनले कृषिको अनुदान वितरण गर्दा द्वन्द्वपीडितको नाममा पूर्व वाइसियलले मात्र पैसा पाएको जानकारी आएको भन्दै आगामी वर्ष द्वन्द्वपीडित र भूकम्पपीडितको शीर्षकमा अन्य शीर्षकको बजेट विनियोजन नहुने पनि बताए । आगामी वर्षदेखि यी शीर्षकमा छुट्टै बजेट बिनीयोजन गरिने बताए । उनले २७३ होमस्टे छनोट भएर अनुदान दिने काम भएको पनि जानकारी गराए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.