एसपीले भने- लाठी हान्‍ने प्रहरीलाई कारबाही गर्छु

|

 भद्रपुर : उपचारको क्रममा युवतीको मृत्यु भएपछि झापाको बिर्तामोडस्थित कनकाई अस्पतालमा बल्झिएको विवाद साम्य बनेको छ। पीडित पक्षले अस्पताल तोडफोड र प्रहरीले आश्रु ग्यास प्रहारसँगै लाठी चार्ज गर्दा घटनाले उग्ररुप लिएको थियो। घटना अग्ररुप लिएपछि अस्पताल प्रशासन र पीडित पक्ष भएको वार्तामा दुई बुँदे सहमति भएपछि बल्झिएको विवाद साम्य बनेको हो।

बिर्तामोड नगरपालिकामा सोमबार बिहान दुई बजेसम्म दुवै पक्षबीच भएको वार्तामा उपचारका क्रममा मृत्यु भएका युवतीका  परिवारलाई समवेदना स्वरूप ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उपचारमा संलग्न चिकित्सकको लापरबाही भएको वा नभएको बारेमा छानबिन गर्ने सहमति भएको छ।

बिर्तामोड नगरपालिका वडा नम्बर ५ का अध्यक्ष राजेन्द्र कुमार लिङदेनको संयोजकत्वमा बनेको नौ सदस्य छानबिन समितिले १० दिन भित्रमा बिर्तामोड नगरपालिकामा प्रतिवेदन बुझाउने गरी सहमति भएको छ। छानबिन समितिमा स्वास्थ्यकर्मी, जनप्रतिनिधि र अस्पतालका प्रतिनिधि र पीडित पक्षका प्रतिनिधि समेत रहेका छन्। 

सहमतिपत्रमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रबकुमार सिवाकोटी र अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाको रोहवरमा हस्ताक्षर भएको छ। बिर्तामोड नगरपालिकाको कार्यालयमा भएको वार्तामा प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ९एसपी० दिनेशराज मैनाली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायव उपरीक्षक मोहनकुमार थापाको उपस्थिति रहेको थियो।

प्रहरीमाथि कारबाही हुन्छ : एसपी

इलामको सूर्योदय नगरपालिका ९ फिक्कल निवासी २१ वर्षीया देवीका तामाङको गत बुधवार कनकाई अस्पतालमा एपिन्डीसको शल्यक्रियाका गरिएको थियो।

शनिवारसम्म स्वस्थ रहेको युवती तामाङको आइतबार मृत्यु भएको थियो। युतवीको मृत्यु पश्चात् उनका आफन्तजनहरूले उपचारमा संग्लन चिकित्सक सन्तोषकुमार मिश्रलाई कारबाहीको माग गर्दै अस्पताल परिसरमै शव राखेर विरोध प्रदर्शन उत्रिएका थिए।

प्रदर्शनमा उत्रिएका पीडितपक्षले अस्पतालमा तोडफोड गरेपछि प्रहरीले तीन राउन्ड आश्रु ग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेका थिए। प्रहरीले गरेको लाठी चार्जबाट पीडित पक्षसहित जनप्रतिनिधि समेत घाइते भएका थिए।

यता झापाका एसपी दिनेशराज मैनालीले बिना कसुर जनप्रतिनिधि माथि लाठी प्रहार गर्ने प्रहरीको पहिचान गरी तीन दिन भित्र कारबाही गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। वार्ताको क्रममा बोल्दै एसपी मैनालीले भने, ‘पत्रकारले खिचेको भिडियो र अस्पतालको सिसी क्यामेराको फुटेज हेरेर दोषी प्रहरीलाई तीन दिनभित्र कारबाही गर्छौ।’

वार्तामा बसिरहेका सूर्योदय वडा नम्बर १० का वडा अध्यक्ष पेमा उगेन लामालाई प्रहरीले टाउको र ढाडमा लाठी प्रहार गरेका थिए। इलाका प्रहरी कार्यालय धुलाबारी प्रहरी निरीक्षक टीका कार्कीले लामालाई गोली ठोक्छु भन्दै लछारपछार गरेको स्वयम् वडा अध्यक्ष लामाले बताएका छन्।

सम्बन्धित समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.