|

बोस्टन  : अमेरिकाको भर्जिनियामा मृत फेला परेका ४९ वर्षीय दानबहादुर तामाङ्ग लामाको अन्तिम बिदाइ आइतबार गरिएको छ।

उनको अन्तिम बिदाइ बौद्ध संस्कारअनुसार भर्जिनियाको मनाससस्थित एक फ़्युनरल होममा गरिएको हो। दोलखाको लामिडाँडा घर भएका तामाङ्ग दुई महिनाअघि हराएका थिए। उनको शव बेबारिसे अवस्थामा भेटिएको थियो। भर्जिनियाको सार्वजनिक पार्कमा एक पुरुषको शव फेला परेको र मृतकको खल्तीमा भएको परिचयका आधारमा नेपालीको शव भन्ने पत्तालगाइएको थियो।

प्रहरीले वासिङ्टन डिसीस्थित नेपाली दूतावासलाई खबर गरेको थियो। तर दूतावासले नेपाली समुदायलाई समयमा खबर नगरेको समुदाय बताउँछ।  यसले नेपाली दूतावास र नेपाली मूलका अमेरिकीबीच असमन्जस्य स्थिति ल्याएको थियो। 

सन् १९७० अक्टोबर २६ मा जन्मेका तामाङ्गकी श्रीमती मैना, छोरीहरू, अस्मिता र अमृता छन्। नेपाली सेनामा काम गरिसकेका, शान्ति सेनामा खटिएका र नेपाली दूतावासका एक सहचरीको स्टाफ बनेर करिब दुई दशकअघि अमेरिका आएका तामाङले अमेरिकी सरकारसँग शरण मागेर ग्रिनकार्ड पाएका थिए।

उनी वासिङ्गटन डिसीको एउटा एसियन रेष्टुरामा खाना बनाउने काम गर्थे। कार दुर्घटनामा परेपछि स्वास्थ्य–बिमा नहुँदा उनी बेघरबार बन्न पुगेका थिए । समुदायले सक्दो सहयोग गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.