|

म्याग्दी : प्रकृतिमा रहेको आकर्षण शक्ति विचित्रको छ। हिमालले हसाउँछ। फूलले रोमाञ्चक बनाउँछ। झरनाले लोभ्याउँछ।

तालले म जस्तै स्थिर नबन है,चलाएमान बन भन्छ। नदीले गन्तव्य नभेटिउन्जेल हिड्दै गर,थाक्दै नथाक भन्छ। पहाडले चढ,चढ उन्नति उचाइमा नै हुन्छ भन्छ। अथवा यसो भनौ प्रकृतिले मानिसलाई जीवन दिन्छ। आनन्द दिन्छ। बाँच्न र संघर्ष गर्न सिकाउछ। यस्तै प्रकृतिका अनुपम छटाहरूले सिंगारिएको छ म्याग्दी जिल्ला।

म्याग्दी जिल्लाको प्राकृतिक सौन्दर्यको वर्णन गर्दा घोडेपानी र पुनहिल पछिका छुटाउनै नहुने स्थान हुन् नागी र महरेडाँडा पनि। पछिल्लो समय पर्यटकीय क्षेत्र नांगी र महरेडाँडा पर्यटक आकर्षणको केन्द्र बन्दै जान थालेका छन्। उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका ८ राम्चेस्थित रहेको नांगी गाउँ र महरेडाँडा जिल्ला भित्रिने पर्यटकको गन्तव्यको रोजइमा पर्न गएका हुन्।

सन् २०१० सालमा नांगी गाउँमा सामुदायिक लज स्थापना गरी सञ्चालनमा आएपछि पर्यटकको आगमनमा वृद्धि भएको हो। तत्कालीन समयमा जिल्ला विकास समितिको कार्यालय म्याग्दीमार्फत मेडेप कार्यक्रमबाट १० लाख ४३ हजार ९५८ सहयोग गरिएको थियो भने स्थानीयले ९ लाख ७० हजार ५९० रुपैयाँ बराबरको श्रमदान गरी सामुदायिक लज बनाएका थिए।

यसैगरी सोही समयमा तत्कालीन राम्चे गाविसले लज आसपासको क्षेत्रलाई लक्षित गरेर इन्टरनेट सञ्चालनका लागि ५ प्रतिशत बजेटको व्यवस्थापन गरेको थियो। 

 

नांगी सामुदायिक लज क्षेत्र र महरेडाँडामा पर्यटकलाई फ्रि वाइफाइको व्यवस्था गरिएको छ। खान र बस्नका लागि उचित व्यवस्था, इन्टरनेट तथा बिजुलीको उपलब्धता, रमणीय दृश्यावलोकन र एसियाका म्यागासेसे पुरस्कार विजेता नांगीवासी सामाजिक कार्यकर्ता महाविर पुनको गाउँका रुपमा चिनिएपछि अहिले नांगी र महरेडाँडा पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ।

पर्यटनको सिजन अनुसार नांगी र महरेडाँडामा पर्यटकको चहलपहल र आकर्षण बढ्दै गएको स्थानीयले बताएका छन्। अहिले सामुदायिक लजमा नेपालको विभिन्न जिल्लाका साथै भारतसहित तेस्रो मुलुकहरू युके, मलेसिया, सिङ्गापुर,अस्टेलिया, इटाली, जापान, स्पेनबाट दैनिक जसो पर्यटक आउने गरेको सामुदायिक लज व्यवस्थापन समितिका सदस्य गेममाया पुनले बताइन्। उनका अनुसार लजमा पर्यटकको रोजाई अनुसार नेपाली खानाका विभिन्न परिकार र आइटमका साथै इन्डियन, चाईनीज, कन्टिनेन्टल खाना पाइन्छ।

नेपालको पूर्वी जिल्लाबाट भरिया र गाइडहरूले पर्यटकलाई लिएर आउने गरेका छन्। सामुदायिक लज व्यवस्थापन समितिका उपाध्यक्ष डमबहादुर फगामी पुनले अहिलेसम्म प्राप्त आम्दानीले लजको क्षमता विस्तार गरिएको बताउँदै ३० जना विदेशी र ३० जना नेपाली पर्यटकको क्षमता रहेको जानकारी दिए।

लजमार्फत पर्यटकलाई आवश्यक सेवा सुविधाहरू उपलब्ध गराइएको भन्दै उनले पर्यटनको विकासमा जोड दिएको बताएका छन्। सामुदायिक लजमा पुग्ने पर्यटकहरु आफ्नो इच्छा अनुसार टेन्ट टाँगेर बस्ने सक्ने व्यवस्था पनि रहेको उनको भनाइ छ। नांगी र महरेडाँडामा सञ्चालित लजमा स्थानीय ८ जनाले रोजगारी पाएका छन्।

नांगी र महरेडाँडामा खासगरी असोज–मंसिर र फागुन–जेठ महिनासम्म पर्यटकको आगमन बढ्ने गरेको छ। चालु आर्थिक वर्षको अहिलेको यो सिजनसम्म नांगीको सामुदायिक लजमा १ हजार २ सयजना र महरेडाँडामा १ हजार ५ सयजना विदेशी पर्यटक आइसकेको व्यवस्थापन समितिका उपाध्यक्ष पुनले बताए।

समुन्द्री सतहदेखि ३ हजार ३१३ मिटरको उचाइमा अवस्थित महरेडाँडा नांगी गाउँदेखि करिब ४ घण्टाको पैदल दूरीमा रहेको छ। संसारकै चर्चित पर्यटकीयस्थल घोरेपानी र पुनहिलको रुटमा पर्ने महरेडाँडा हुँदै पर्यटक पुनहिल–घोरेपानी र नांगी–महरेडाँडा पदयात्रामा रमाउने गर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.